चीनमा एकैदिन दुई ठूला भ्रष्टाचारी च्याप्पै

चीनमा एकैदिन दुई ठूला भ्रष्टाचारी च्याप्पै

चीनमा एकै दिन दुई ठूला भ्रष्टाचारीको कानुनी प्रक्रिया अघि बढेको छ । उच्च अदालतको न्यायिक समितिका सदस्य तथा कार्यकारी ब्यूरोका निर्देशक मङ सियाङ र छिङघाई प्रान्तका पूर्वभाइस गभर्नर वेन गुओतोङमाथि करोडौं युआन भ्रष्टाचारको आरोपमा दुई दिनअघि आवश्यक अनुसन्धान र न्यायिक प्रक्रिया अघि बढेको हो ।

मङलाई चिनियाँ कम्युनिष्ट पार्टीको राज्य पर्यवेक्षण आयोगले अनुसन्धान गरिरहेको छ भने वेनलाई आवश्यक छिमेकी प्रान्त चोङ्ग्छिङ्गको एक अदालतमा लगिएको हो । मङ्गमाथि अनुशासन र कानुनको गम्भीर उल्लंघन गरेर लाभप्राप्त गरेको आरोपमा अनुसन्धान थालिएको बताइएको छ । उनीमाथि पार्टी अनुशासन उल्लंघनको जाँच र निरीक्षणका लागि केन्द्रीय आयोगको राज्य पर्यवेक्षण आयोगले आवश्यक जाँचपड्ताल गरिरहेको बताइएको छ ।छिङघाइ प्रान्तका पूर्वगभर्नर वेनलाई करिब दुई करोड युआन भ्रष्टाचार गरेको आरोपमा अदालतमा सुनुवाई सकिएको छ । उनलाई पार्टी र सरकारी ओहोदाको दुरुपयोग गर्दै सन् २००९ देखि २०२० को बीचमा इन्टरप्राइजेज अपरेसन र परियोजना स्वीकृतिको नाममा अकुत रकम कुम्लाएको आरोप लाग्दै आएको थियो ।

हालसम्म उनले १ करोड ९९ लाख १८ हजार ७ सय ३२ युयान अर्थात झण्डै ३२ करोड नेपाली रुपैयाँ बद्नियतपूर्वक संकलन गरेको प्रमाण फेला परेको छ । अदालतमा सरकारी वकिलहरूले उनीविरुद्ध प्रशस्त प्रमाण पेश गरेका थिए ।

उनीविरुध्दको बहस सुन्न चिनियाँ कम्युनिष्ट पार्टीका प्रतिनिधिहरू, चिनियाँ जनराजनीतिक परामर्श सम्मेलनका सदस्यहरू, सञ्चारकर्मी गरी ३० जनाभन्दा बढी उपस्थित थिए । वेनमाथिको सजाय र अपराध निर्णयको घोषणा केही दिनभित्र हुने बताइएको छ ।

टिप्पणीहरू