‘ओलीले धोका दिए,अब माधव नेपाललाई साथ दिन्छौँ’

‘ओलीले धोका दिए,अब माधव नेपाललाई साथ दिन्छौँ’

पार्टी निर्णय विपरित प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका केपी ओली पक्षका सांसदहरु माधव नेपाल समूहमा लाग्ने भएका छन् । अध्यक्ष केपी ओलीले पटक-पटक संसद विघटन गरेर संविधान र लोकतन्त्र विरोधी कदम चालेकाले ओली समूह छोडेको उनीहरुको भनाइ छ ।

प्रतिनिधिसभाको हिजोको वैठकमा अप्रत्यासित रुपमा ओली पक्षका ८ जना सांसद विश्वासको मतको प्रस्तावको पक्षमा उभिएका थिए । ओली क्याबिनेटमा मन्त्री भएकादेखि नेपाल खेमा छोडेर संस्थापनतिर लागेकासम्मले देउवालाई विश्वासको मत दिए । ओलीको कट्टर समर्थक भनेर चिनिएकाहरु लाइन लागेर देउवाको पक्षमा उभिएपछि धेरैले अचम्म पनि माने ।

लामो समय नेपाल समूहमै रहेर केही समयअघि ओलीतिर लागेकी सुदूरपश्चिमकी सांसद बिनादेवी बुढाथोकीले विश्वासको मत दिने आफूहरुको निर्णय स्वभाविक भएकाले अचम्म मान्न नपर्ने बताइन् । केपी ओलीले पटक-पटक विघटन गर्न खोजेको संसद फेरि विघटनमा जान दिनु हुँदैन भन्ने सचेतताले विश्वासको मतको पक्षमा उभिएको उनले तर्क गरिन् ।

‘दुई पटकसम्म संसद विघटन गरेर ओलीले संविधान र लोकतन्त्रलाई धोका दिने काम गर्नुभयो । पार्टीगत रुपमा हामी फरक ठाउँमा उभिएको भए पनि संविधान र लोकतन्त्रको प्रश्नमा सबै एकै ठाउँमा उभिनुपर्छ भन्ने लागेर त्यो निर्णय गरेका हौँ’,उनले भनिन् ।

अघिल्लो पटक आफूले संसद बचोस् भनेरै केपी ओलीलाई विश्वासको मत दिएको उनले बताइन् । प्रतिनिधिसभालाई विघटनमा जानबाट रोक्न सक्ने धेरै विकल्प हुँदाहुँदै पनि ओलीले विघटनको बाटो रोजेको उनको आरोप छ ।

भनिन्, ‘यसअघि म माधव नेपाल समूहमा भए पनि संसद जोगिन्छ भने पार्टीको नेतालाई मत दिऊँ भनेर विश्वासको मत दिएको हो । तर उहाँले हाम्रो भोटको सम्मान गर्नुभएन । बरु जबर्जस्ती संसद विघटन गर्नुभयो । त्यसकारण हामी देउवालाई विश्वासको मत दिएर भने पनि संसद जोगाउनुपर्छ भन्ने ठाउँमा पुग्यौँ ।’

सांसद बुढाथोकीले संविधान र लोकतन्त्रको पक्षमा उभिँदा पार्टीले कारवाही गरेपनि आफूलाई फरक नपर्ने टिप्पणी पनि गरिन् । ओली पक्षले कारवाही गरे आफूहरु नेपाल समूहमा जाने उनको भनाइ छ । यद्यपि देउवालाई विश्वासको मत दिने ओली समूहका आठ जना सांसदबीच अहिलेसम्म सामूहिक छलफल भने नभएको उनले बताइन् ।

‘कारवाहीको डर छैन । परिस्थिति अनुसार अघि बढ्छौँ । वरिष्ठ नेता स्वयंले विश्वासको मत दिनुभएको छ । हामी उहाँसँगै रहेर आफ्नो राजनीति अघि बढाउन पनि सक्छौं’,सांसद बुढाथोकीले भनिन् ।

फ्लोर क्रस गर्ने ओली समूहका अर्का एक सांसदले पनि वरिष्ठ नेता नेपाललाई साथ दिने बताएका छन् । नेता नेपालको भूमिकाकै कारण संविधान र लोकतन्त्र ट्रयाकमा आएको उनले दाबीसमेत गरे ।

‘संविधान,लोकतन्त्र,विधिको शासन र सिंगो एमाले पार्टीको हितका लागि माधव कमरेडलाई साथ दिनुपर्ने अवस्था बनेको छ । उहाँकै भूमिकाले संसद र संविधानको रक्षा भएको हो । त्यसैले अब हामी उहाँसँगै हुन्छौँ’, ती सांसद किसान श्रेष्ठले भने ।

ओली समूहका नेताहरु सर्वोच्च अदालतको फैसलाको समेत विरुध्दमा उत्रन थालेपछि आफूहरु उक्त समूह छोड्ने निष्कर्षमा पुगेको उनले सुनाए ।

टिप्पणीहरू