मतदान छाडेर वामदेव पत्नी टोक्यो ओलम्पिकमा,विश्वासको मत छापामार शैलीमा

मतदान छाडेर वामदेव पत्नी टोक्यो ओलम्पिकमा,विश्वासको मत छापामार शैलीमा

हिजो प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने प्रस्तावमा काँग्रेसको ६१ बाहेक अरु दलका १ सय ४ मत परेको छ । उता,१ सय २१ सिट भएको एमालेको आफ्नो पक्षमा अर्थात् देउवाको विपक्षमा ८३ भोट खसेको छ । यो हिसाबले हेर्दा एमालेको ३८ भोट आफ्नो पक्षमा देखिएन ।

त्यसमध्ये पनि २३ जना माननीयले पार्टीको ह्वीप लत्याउँदै प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन् भने अविश्वासमा भोट हाल्ने निर्देशन पालना नगरी वीचैमा १० जना उठेर हिंडेका छन् । हाल नयाँ दिल्लीमा उपचाररत वरिष्ठ नेता झलनाथ खनालले पनि विश्वासको मतको पक्षमा मतदान गर्न अनुरोध गर्नुभएकाले उहाँले समेत देउवालाई मतदान गरेसरह छ । त्यसैगरी उपाध्यक्ष भीम रावलले अध्यक्ष ओलीको ह्वीप मान्नुभएको देखिएन बरु पदबाटै राजीनामा दिनुभयो । त्यो हिसाबले ओलीको निर्देशन ३५ जनाले अवज्ञा गर्नुभयो ।

“एमालेका तर्फबाट प्रवक्ता प्रदीप ज्ञवालीले धारणा राख्नुभयो । यो काममा पनि अध्यक्ष ओलीले सुवास नेम्वाङ्ग,इश्वर पोख्रेल,बिष्णु पौडेल कसैलाई पत्याउनु भएन ।”

यता,विगतमा नेपालनिकट भनेर चिनिएका तीन दर्जनभन्दा बढी सांसदमध्ये पाँच जनाले ओलीको पक्षमा अर्थात् देउवाको विपक्षमा मतदान गर्नुभयो । उहाँहरूमा शेरबहादुर तामाङ,लालबाबु पण्डित,कृष्णभक्त पोखरेल,गणेश ठगुन्ना, गणेश पहाडी हुनुहुन्छ ।

हिजोको मतदानमा उपाध्यक्ष वामदेव गौतमकी श्रीमती तुलसा गौतम भने अनुपस्थित हुनुुहुन्थ्यो । जापानको राजधानी टोकियोमा आयोजना हुन लागेको ओलम्पिक खेलकूदमा नेपाली अफिसियलको रुपमा भाग लिँदै उहाँ अस्ति त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।

“विगतमा नेपालनिकट भनेर चिनिएका तीन दर्जनभन्दा बढी सांसदमध्ये पाँच जनाले ओलीको पक्षमा अर्थात् देउवाको विपक्षमा मतदान गर्नुभयो । उहाँहरूमा शेरबहादुर तामाङ,लालबाबु पण्डित,कृष्णभक्त पोखरेल,गणेश ठगुन्ना, गणेश पहाडी हुनुहुन्छ ।”

विश्वासको मत लिने निर्णय प्रधानमन्त्रीले आइतबार बिहान एक्कासी गर्नुभएको थियो । त्यसैकारण कसैले पनि पूर्वयोजनाका कार्यक्रम रध्द गर्न नसकेको देखियो । गौतम पत्नी पनि प्रधानमन्त्रीले तीस दिनभित्र विश्वासको मत लिने भएकाले टोकियोबाट फर्केपछि विपक्षमा मतदान गर्न मिल्ने भन्दै उता जानुभएको हो ।

देउवाले काँग्रेसका कसैसँग सल्लाह नगरी आइतबार बिहान माधवकुमार नेपाल र प्रचण्डसँग सुटुक्क सल्लाह गरेर विश्वासको मत लिने निर्णय गर्नुभएको काँग्रेसीहरूले समेत पछि मात्र थाहा पाएका थिए । त्यसको गतिलो प्रमाण पार्टी काममा पोखरा गएका सांसद गगन थापा सडक मार्ग हुँदै काठमाडौं आइरहँदा पहिरोले दमौली नजिकै रोकिएपछि हेलिकोप्टरमा काठमाडौं आएकोले समेत पुष्टि हुन्छ ।

“ओलीको निर्देशन ३५ जनाले अवज्ञा गर्नुभयो ।”

हिजोको संसद बैठकमा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली अबेर मात्र प्रवेश गर्नुभयो । मतदानअघि भएका सम्बोधनमा सत्ता गठबन्धनका नेताले पटकपटकको सँसद विघटननिम्ति चर्को आलोचना गर्ने सुईंको पहिल्यै पाएपछि उहाँ सम्बोधनको अवधिभर घर र बाहिरै बस्नुभएको थियो । एमालेका तर्फबाट प्रवक्ता प्रदीप ज्ञवालीले धारणा राख्नुभयो । यो काममा पनि अध्यक्ष ओलीले सुवास नेम्वाङ्ग,इश्वर पोख्रेल,बिष्णु पौडेल कसैलाई पत्याउनु भएन ।

देउवा सरकारले दलीय ह्वीप उल्लंघन गरेका सांसदसहितको मत प्राप्त गरेपछि अब संविधानको धारा ७६ (५) बमोजिम गठित सरकारका आगामी नीति तथा कार्यक्रम,बजेट र विधेयकहरू पारित गराउने क्रममा समेत ह्वीप नलाग्ने अवस्था सिर्जना भएको सांसदहरूले नै बताएका छन् । विश्वासको मत दिएर सरकार र प्रतिनिधिसभालाई जोगाउने तर लगत्तै अन्य विषयमा निर्णयार्थ प्रस्तुत हुँदा उनै सांसदले विपक्षमा मतदान गर्ने भन्ने अदालतको फैसलाको भावनासमेत नरहेको उनीहरूको तर्क छ ।

टिप्पणीहरू