हिजो ओलीले विघटन गरेको कार्यदल आजै सक्रिय

हिजो ओलीले विघटन गरेको कार्यदल आजै सक्रिय

नेकपा एमालेको संस्थापन पक्षले एकतर्फी रुपमा विघटन गरेको पार्टी एकता कार्यदल फेरि सक्रिय भएको छ । हिजो बसेको संस्थापन पक्षको स्थायी कमिटी बैठकले औपचारिक रुपमा विघटन गरेको कार्यदलका नेताहरु आज अनौपचारिक छलफलमा जुटेका हुन् ।

हिजो ललितपुरको च्यासलमा बसेको अध्यक्ष केपी शर्मा ओली पक्षको स्थायी कमिटी बैठकले कार्यदलले तयार गरेको १० बुँदे प्रस्ताव अनुमोदन गर्दै कार्यदल विघटनको निर्णय गरेको थियो । अध्यक्ष ओलीले एकतर्फी रुपमा कार्यदल भंग गरेपछि पार्टी एकता जोगाउन भन्दै कार्यदलका सदस्यसहित दुवैतिरका दोस्रो तहका नेताहरु अनौपचारिक वार्तामा जुटेका हुन् । नेताहरुबीच अहिले सिंहदरवारमा छलफल चलिरहेको छ ।

अध्यक्ष ओली र वरिष्ठ नेता माधव नेपालको टकरावका कारण कार्यदलको सहमति कार्यान्वयनमा समस्या भएको नेताहरुको भनाइ छ । दुवैले कार्यदलको प्रस्ताव स्वीकार गर्नुभएको छैन । कार्यदलले अदालतको फैसला जस्तो आए पनि स्वीकार गरेर संस्थागत धारणा बनाउने प्रस्ताव गरेको थियो । तर, अदालतको फैसलाको ओलीले विरोध गर्नुभएको छ भने नेपालले स्वागत गर्नुभएको छ ।

ओली पक्षले देउवालाई विश्वासको मत नदिने औपचारिक निर्णय नै गरिसकेको छ । नेपाल पक्षले भने प्रतिनिधिसभा विघटनबाट जोगाउन विश्वासको मत दिनुपर्ने बताउँदै आएको छ ।

अध्यक्ष ओली वारपारको निर्णयमा पुगेपछि पार्टी मिलाउन भन्दै नेपाल खेमाका केही नेताहरु सक्रिय भएका हुन् । ओलीपक्ष भने अब नेपाल खेमालाई कुरेर नबस्ने निर्णयमा पुगेको छ । अस्ति बालकोटमा ओलीको अभिव्यक्तिले पनि उहाँ अब माधव नेपाल पक्षलाई कुरेर नबस्ने निर्णयमा पुगेको संकेत गरेको छ ।

त्यसो त, हिजोको बैठकमा कार्यदलका नेपाल पक्षीय नेताहरु उपस्थित भएर माधव नेपालसहितको बैठक बोलाउन अध्यक्ष केपी शर्मा अ‍ोलीसमक्ष माग गरेका थिए । तर, उनीहरुको माग ओलीले अस्वीकार गरेपछि एमाले एकता तत्कालका लागि टरेको अनुमान गरिएको छ ।

टिप्पणीहरू