माओलाई किन मान्ने, कसरी मान्ने ?

  • सुदर्शन मंगोल

१२४ वर्षअघि २६ डिसेम्बर सन् १८९३ मा हुनान प्रान्तको शाओसान गाउँमा जन्मिएका माओलाई चीनमा कम्युनिष्ट पार्टी स्थापना (सन् १९२१) हुँदा संस्थापक सदस्य भए पनि मुख्य नेतृत्वमा पुग्न १४ वर्ष लाग्यो । सन् १९३५ देखि आजन्म सन् १९७६ सम्म आइपुग्दा ४१ वर्ष लामो समय मुख्य नेतृत्वमा रहनु चानचुने कुरा थिएन ।

४१ वर्षमा माओले तीनवटा महान् क्रान्तिको नेतृत्व गर्नुभयो । पहिलो सन् १९४९ मा सम्पन्न नयाँ (पुँजीवादी) जनवादी क्रान्ति । दोस्रो सन् १९५६ को आठौं महाधिवेशनबाट प्रस्तुत समाजवादी क्रान्तिको कार्यक्रम ।

तेस्रो, सन् १९६६ देखि थालिएको सर्वहारा सांस्कृतिक क्रान्ति । सांस्कृतिक क्रान्तिको पूरा काम नसकिँदै माओको निधनले विश्व सर्वहारा क्रान्तिमा ठूलोे धक्का आइलाग्यो ।

सन् १९६६ देखि १९७६ सम्म सञ्चालित सांस्कृतिक क्रान्ति चीनमा २० वर्ष लामो बन्दुकको लडाइँभन्दा संसारलाई थर्काउने ठूलो उथलपुथलकारी क्रान्ति थियो । यसैले माओवादको विकासमा ठूलो भूमिका खेल्यो ।

विश्व सर्वहारा क्रान्तिका तीन कोसेढुंगामध्ये पहिलो पेरिस कम्युन थियो । सन् १८७१ मा पहिलोपटक बलप्रयोगद्वारा गरिएको क्रान्ति । यसले माक्र्सवादको विकासमा ठूलोे योगदान दियो । दोस्रो कोसेढुंगा, रुसमा लेनिनको नेतृत्वमा सम्पन्न सन् १९१७ को अक्टोबर क्रान्ति । तीन कोसेढुंगाबाहेक माओपछि कसैले पनि क्रान्तिको थप विकास गर्न सकिरहेको छैन ।

सन् १९४९ को नयाँ जनवादी क्रान्ति माओले चीनजस्तो अर्धऔपनिवेशिक तथा अर्धसामन्ती मुलुकमा रुसभन्दा मौलिक ढंगले सञ्चालन गर्दा सफल हुन सकेको हो । पेरिस कम्युनभन्दा अक्टोबर क्रान्ति नितान्त नयाँ र मौलिक थियो । रुस औद्योगिक पुँजीवादी मुलुक थियो भने चीन पिछडिएको कृषिप्रधान मुलुक । अर्कोतिर चीन थप जापानी साम्राज्यवादी मुलुकद्वारा उपनिवेशमा परेको बेला थियो त्यो । यस्तो मुलुकमा सर्वहारा क्रान्ति कसरी गर्ने भनेर माओको रुसी कम्युनिष्ट पार्टीका नेता र मस्कोबाट प्रशिक्षित चिनियाँ कम्युनिस्टसँग लामो अन्तरसंघर्ष चल्यो । रुसभन्दा चीनको क्रान्ति नयाँ र मौलिक हुन्छ भन्ने माओ र रुसी मोडेलबाटै चीनमा पनि क्रान्ति हुन्छ भन्ने लिलिसान,  वाङमिङ र छुछुपाईहरूसँगको लडाइँमा माओ आफ्नो मौलिक लाइनमा अडिग रहनु भयो । जसका कारण चीनमा क्रान्ति सम्पन्न हुन पुग्यो ।
माओबाट के सिक्ने ?

माओबाट धेरै कुरा सिक्नुपर्छ नेपाल र विश्वभरका कम्युनिष्टले । खासगरी माओवादीले । माओको निधनपछि कतै पनि सर्वहारा क्रान्ति सफल हुन सकेका छैनन् ।

आजका माओवादीले सिक्ने कुरा त्यही मौलिक क्रान्ति नै हो । किनभने माओको निधनपछि बर्मा,  मलाया,  फिलिपिन्स र पेरुमा सञ्चालित जनयुद्ध कतै पनि सफल नहुनु बरु धक्का खान पुग्नुले बदलिएको विश्वमा फेरिएको परिस्थितिअनुरूप नयाँ राजनीतिक तथा फौजी रणनीतिको विकासको खाँचो देखिएको छ ।

नेपालमा १० वर्षे जनयुद्ध शान्तिप्रक्रियामा आएपछि व्यहोरेको धक्काबाट पाठ सिक्दै क्रान्तिकारी माओवादीले नेत्रविक्रम चन्द ‘विप्लव’को नेतृत्वमा नयाँ क्रान्ति गर्न गइरहेका छन् ।

हरेक क्रान्तिको पुनरावृत्ति हँुदैन,  विकास हुन्छ भनेजस्तै अबको नेपाली क्रान्तिको मोडल पनि मौलिक र नयाँ हुनै पर्छ ।
विश्वका धेरै नेताले एकै खालको क्रान्तिको नेतृत्व गरेका छन् । तर, माओले तीनवटा क्रान्तिको नेतृत्व गर्नु चानचुने कुरा होइन । आज नेपालमा पहिलो क्रान्तिको नेतृत्व गरेका प्रचण्ड,  बाबुराम र किरणहरू बीच बाटोबाट पछि हट्न पुगे । प्रचण्ड र बाबुरामले त झन् नयाँ ढंगले क्रान्ति गर्ने नाममा जनयुद्धका सबै उपलब्धिलाई योजनाबद्ध रूपमा समाप्त पारेरै छाडे । जनयुद्धका मुख्य पुँजी जनसत्ता, आधारइलाका र विशाल जनमुक्ति सेना सबै ती दुई नेतृत्वको एकल ठाडो निर्देशनमा विघटन गरियो ।

माओजस्ता महान् नेताको नामबाट माओवादी साइनबोर्ड झुन्डाइरहेका प्रचण्डहरू इतिहासमा खलनायक बन्न पुगेका छन् । बाबुराम त झन् माओवादको कित्ताबाट धेरै टाढा भागेका छन् । यो भनेको माओको क्रान्तिकारी सिद्धान्तलाई परित्याग गर्दाको परिणाम हो । खासमा माओवादलाई दह्रो गरी समात्न नसक्नु र आत्मसात् गर्न नसक्नुको परिणाम हो ।

सांस्कृतिक क्रान्तिको मूल मर्म भनेको निरन्तर क्रान्ति हो । माओले माक्र्सवादका तीन संघटक अंग दर्शन,  राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको क्षेत्रमा एकैचोटि विकास गरेर माक्र्सवाद–लेनिनवादलाई समृद्ध र विकास गर्नुभयो ।

आफ्नो राजनीतिक जीवनकालमा माओले धेरै सिद्धान्तको विकास गर्नु भयो । त्यसमा मुख्यगरी सन् १९३८ मा प्रतिपादित दीर्घकालीन जनयुद्धको सिद्धान्त थियो । यीलगायत दर्शन क्षेत्रमा अन्तरविरोधबारे । राजनीतिक अर्थशास्त्रमा अर्धऔपनिवेशिक तथा अर्धसामन्ती समाजको आर्थिक विश्लेषण । अनि सबैभन्दा धेरै र सार्वभौम विचारको विकास माओले वैज्ञानिक समाजवादको क्षेत्रमा गर्नु भयो ।

आजको दुनियाँमा माओ र माओवादलाई आत्मसात् नगरी कोही पनि सच्चा कम्युनिष्ट हुन सक्दैन । माओवादी त झन् बन्नै सक्दैन । माक्र्स,  लेनिन र माओ विश्व सर्वहारा क्रान्तिको विज्ञानमा सर्वाधिक योगदान गर्ने मुख्य कर्ताहरू हुनुहुन्छ । त्यसबाहेक माक्र्सका सहयोद्धा एंगेल्स,  लेनिनका सहकर्मी स्टालिन र माओका सहकर्मी चौ एनलाइहरू पनि विश्व सर्वहारा क्रान्तिको विज्ञानमा कोसेढुंगा थप्ने हकदार हुनुहुन्छ ।

माओ र माओवादबिना आजको पुँजीवाद र संशोधनवादसँग लड्न सकिँदैन । माओवादबिना सर्वहारा क्रान्ति गर्छु भन्नु एउटा निशस्त्र मान्छेले आधुनिक हतियारबद्ध मान्छेसँग लड्छु भनेजस्तै हो ।

९० को दशकमा सोभियत कम्युनिष्ट सत्ताको विघटनसँगै विश्वबाट साम्यवाद असफल भयो भनेर हौसिएका पुँजीवादीहरू पेरुमा ८० को दशकको मध्यतिरबाट सञ्चालित क्रान्तिबाट त्रसित बन्न पुगे । त्यो क्रान्तिले पनि ९० को दशकको मध्यतिर धक्का खान पुग्दा पुँजीवादी पुनः रमाए । तर त्यही दशकको अन्त्यतिर सन् १९९६ (वि.सं २०५२) मा नेपालबाट शुरु भएको सर्वहारा क्रान्तिले विश्वभरिका श्रमजीवीलाई नयाँ उत्साह पैदा गरिदियो । नेपालको क्रान्ति आफ्नो मौलिकतासहित जीतको संघारमा पुगेको थियो । तर, त्यो क्रान्तिलाई प्रचण्ड र बाबुरामले नै हत्या गर्दाको परिणाम आज आन्दोलनले सेटब्याक खान पुगेको छ ।

प्रायः सबै माओवादी संसद्वादमा फर्किसके या फर्किंदै छन् । नेपालको सन्दर्भमा नेकपा माओवादीद्वारा विकास गरिएको एकीकृत जनक्रान्ति माओले प्रतिपादन गरेको दीर्घकालीन जनयुद्धकै विकसित विचार हो । यो एकीकृत जनक्रान्ति लेनिनको शहरी विद्रोह र माओको दीर्घकालीन जनयुद्धमा टेकेर विकास गर्न खोजिएको नितान्त मौलिक र नयाँ मोडेल हो । यो मोडल विकासको प्रक्रियामा छ । माओ र माओवादलाई स्मरण गर्नुको अर्थ माओका क्रान्तिकारी सिद्धान्तलाई आफ्नो मौलिकता र व्यवहारमा प्रयोग गर्नु हो ।

टिप्पणीहरू