उनले किन त्यसो भने होलान् ?

भन्न त कांग्रेस सभापति शेरबहादुर देउवाले संशोधन प्रस्ताव टेबल हुन्छ, पास पनि हुन्छ, चिन्ता नगर्नुस्, हेर्दै जानुस्, म फत्ते गराउँछु यो काम, एमालेले पनि साथ दिन्छ, ओली नै भोट हाल्न आउँछन्, म प्रधानमन्त्री भएको भए उहिल्यै पास गराइसक्थें भने तर मधेसी मोर्चालाई के लागेको छ भने यो उनको मनमा लुकेको छिटो प्रधानमन्त्री बन्ने इच्छाको अभिव्यक्ति हो ।

जति यो प्रकरण अल्मलियो उति नै माओवादी र एमाले नजिकिने खतराको आंकलन पनि हो । एमालेलाई कडा शब्दले जति हान्न सकियो, उति ऊ उत्तेजित बन्दै जान्छ र मधेसविरोधीको रुपमा डाम्न सकिन्छ । यसको प्रत्यक्ष फाइदा आसन्न चुनावमा देउवालाई हुने प्रष्टै छ ।

नेपाली कांग्रेसको पुरानो आफ्नो प्रभाव पहाडतिर छँदैछ । मधेसीहरु धेरै समूहमा बाँडिनाले तराईमै कमजोर छन् । प्रमुख प्रतिपक्षी एमालेलाई खुइल्याउन सकियो भने पहाडको क्षतिपूर्ति चुनावमार्फत मधेसबाट उठाउन सकिन्छ भन्ने कांग्रेसको भित्री हिसाब–किताब छ । ०६४ पछि कांग्रेस मधेसी मोर्चासँग नजिक हुनै पाएन । धेरैजसो सहकार्य माओवादी र मधेसीबीच नै रहँदै आयो । संविधान संशोधन प्रक्रियामार्फत देउवालाई आफू नै मधेसी मोर्चाको असल मित्र भएको देखाउनु छ ।

त्यसो त चुनाव हुने परिस्थितिमा अनेक धु्रवीकरणको सम्भावना पनि उत्तिकै देखिन्छ । राष्ट्रिय सहमतिको सरकार बन्नलाई तीन ठूला पार्टी ०६३ पछि सत्ता सहयात्रामा रहेको रेकर्ड छैन र कांग्रेसले प्रमुख प्रतिद्वन्द्वीसँग सहयात्रा नगर्ने भनेकै कारण संविधान जारी भएपछि दुई ठूला दल नदीको दुई किनार बनेका हुन् ।

कांग्रेसको पहिलो रोजाइ माओवादी नै हुनेमा कुनै शंका रहेन किनकि फलामले फलाम नै काट्ने सिद्धान्तबारे ऊ राम्रोसँग जानकार छ । सांगठानिक हिसाबमा कमजोर रहेको माओवादी एमालेलाई काट्ने करौंती बन्नसक्ने कांग्रेसको ठहर छ । त्यसो त वैशाखको मुखमा सत्ता छाड्ने अवस्था आइलाग्दा प्रचण्डकै नेतृत्वलाई समर्थन जनाएर एमालेले प्रमुख प्रतिद्वन्द्वी कांग्रेसलाई टक्कर दिने अर्को सम्भावना पनि ज्युँदै छ । संशोधन प्रस्ताव पास हुनासाथ मधेसी दलहरु सिट बाँडेर या दुई मोर्चामा धु्रवीकृत भएर चुनावी दौडाहामा लाग्ने सम्भावना पनि टड्कारो देखिन्छ ।

टिप्पणीहरू