को कता पुग्यो कलाकार !

चैते कलाकार कहिले कुन दलको मादल बन्छन्, कहिले कुन दलको । शेरधन राई सञ्चारमन्त्री हुँदा ‘खाँटी एमाले हुँ’ भन्दै सरिता लामिछानेले युवासंघका अध्यक्ष राजीव पहारी, गोविन्द थापाहरूलाई गुमराहमा पारिन् ।

उनी सो समय एमाले हुँ भन्दै चलचित्र विकास बोर्डको बोर्ड सदस्य बन्न लागिपरेकी थिइन् । सदस्य नपाएपछि आक्रोशित सरिता राजकुमार राईलाई अगाडि लगाएर बूढानीलकण्ठस्थित कांग्रेस सभापति देउवानिवास धाउन थालिन् । गत बुधबार उनीसहित कृष्ण मल्ल, रामकेशर बोगटी, चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा चारतारे झण्डामुनि गएका छन् । यसअघि माओवादी भएका नीर शाह पनि कांग्रेस बन्न पुगेका छन् । चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राई यसअगाडि पञ्च पार्टीमा थिए । उनी पनि सो परित्याग गरी कांग्रेस बनेका हुन् ।

केही दिनअघि मात्रै गायिका कोमल वली, रेखा थापा राप्रपा पार्टीको झण्डामुनि पुगेका छन् । उद्धव पौडेल, प्रदीपकुमार उदयहरू यसअगाडि नै गाई पार्टीमा लागेका छन् । यता नायिका करिष्मा मानन्धर, सरोज खनाल, अशोक शर्मालगायत बाबुराम भट्टराईको नयाँ शक्तिमा छन् । मधु गुरुङ, भुवन केसी, दिनेश डिसी, मनोज गजुरेल, बद्री पंगेनीलगायत कलाकार पार्टीमा कुनै जिम्मेवारी नपाए पनि एमालेप्रति आस्था राख्ने कलाकारमा पर्छन् । राजेश हमाललाई कांग्रेस निकटको रूपमा चिनिन्छ । जेवी टुहुरे, नवल खड्का, चेतन सापकोटा माओवादीमा छन् ।

टिप्पणीहरू