ओलीको एस्कर्टिङ्गमा दुई युवा नेताको प्रतिष्पर्धा

ओलीको एस्कर्टिङ्गमा दुई युवा नेताको प्रतिष्पर्धा

राजनीतिमा अपवादबाहेक एउतै पार्टी र विचार समूहमा पनि गुट उपगुट हुन्छ । त्यस्ता गुट उपगुटभित्र वैचारिक,राजनीतिक दृष्टिकोणका आधारमा मतभेद हुनुलाई स्वभाविकै मानिन्छ । तर, नेताको खातिरमा युवा नेताहरु नै प्रतिष्पर्धामा उत्रनु चैं बिडम्बनापूर्ण अवस्था हो । आन्तरिक संगठनमा नेतालाई खुशी बनाएर राजनीतिको टुप्पोमा पुग्ने अभिलाषा बोक्नेहरु सबै राजनीतिक दलमा हुन्छन् होला । तर,खुलमखुला नेताको मुहार हँसिलो पार्नका लागि कम्पिटिसन गर्नु साँस्कृतिक स्खलनको भद्दा नमूना हो ।

अदालतको परमादेशले अल्पकालमै सत्ताबाट बाहिरिनु भएका एमाले अध्यक्ष केपी शर्मा ओलीको बिदाइका नाममा गरिएको तामझाम र उहाँ निकट दुई युवा नेताको प्रतिस्पर्धा बुधावार सडकमै देखियो । पदमुक्त भएसँगै बालुवाटारको सरकारी निवास छाडेर बालकोटस्थित निजी निवास फर्किनुभएका निवर्तमान प्रधानमन्त्री ओलीको विदाई र स्वागतका लागि महेश बस्नेत नेतृत्वको युवासंघले बुधवार मोटरसाइकल र्याली निकाल्यो । युवासंघका कार्यकर्ताले बालुवाटारदेखि बालकोटसम्म एस्कर्टिङ्ग गर्दै ओलीलाई भव्य स्वागत गर्ने कार्यक्रम बस्नेतले मंगलबार नै तय गरेका थिए । पदमुक्त भएर निवर्तमान प्रधानमन्त्री निजी निवास फर्किँदा जुलुस निकाल्ने अनौठो प्रचलन शुरु गरेका बस्नेतले युवासंघका कार्यकर्तालाई ११ बजे बालुवाटारमा भेला हुन उर्दी जारी गरेका थिए ।

‘सुपारी,केराउ,मरिचको आयात अनुमति लिने बेलामा सहसचिवलाई तर्साउन,जिल्लामा ठेक्का हात पार्न डीआईजीहरुलाई तर्साउन र यस्तै अनैतिक कार्य गर्न कर्मचारीहरुलाई तर्साउन देखाइने सबै खाले प्रर्दशनको खुलेर विरोध गरौँ ।’

तर,युवासंघको र्यालीमा एमालेको ओली खेमानिकट नेपाल खेलकुद महासंघ पनि छुट्टै ब्यानरसहित स्वाट्ट मिसिएको थियो । बुधवारको जुलुसमा हालै युवासंघको नेतृत्वबाट बाहिरिएर महासंघमा पुगेका रमेश पौडेल छुट्टै ब्यानरमा देखिए । महासंघको इञ्चार्ज पूर्वमन्त्री तथा ओलीका निकट पात्र गोकुल बाँस्कोटा हुन् । ओली सत्तामा रहँदा र बाहिर हुँदा पनि निकट देखिन चाहने दुई समूहको प्रतिस्पर्धा बुधवार सडकमै छरपष्ट भएको हो ।

दुई पक्षबीचको प्रतिउस्पर्धा बुधबार एकैचोटी प्रकट भएको भने होइन । पार्टीको आन्तरिक शक्ति संघर्षमा एउटै गुटमा भए पनि यी दुई समूह प्रतिष्पर्धीका रुपमा देखिंदै आएका छन् । केही महिनाअघि एमालेको ओलीपक्षीय बालुवाटार बैठकले नेताहरुको जिम्मेवारी तोकेको थियो । शुरुमा युवासंघ र खेलकुद दुबैको ईञ्चार्ज बस्नेतलाई दिइएको थियो । पछि बस्नेतबाट खोसेर खेलकुदको ईन्चार्ज बाँस्कोटालाई बनाइयो । बस्नेतले दोहोरो जिम्मेवारी पाएको भन्दै बाँस्कोटा असन्तुष्ट बनेपछि खेलकुदको जिम्मेवारी दिइएको उतिबेलै चर्चा थियो । प्रतिनिधिसभा विघटनपछिको मन्त्रिपरिषद हेरफेरमा बस्नेत गृहमन्त्री बन्न लाग्दा बाँस्कोटाले राष्ट्रपतिलाई भनेर रोकेको आफैंले गुनासो गरेका थिए । बाँस्कोटाको नाम नलिई बस्नेतले आफ्ना प्रतिष्पर्धीहरुले बन्न नदिएको बताएकै हुन् ।

त्यसो त यी दुई ओली गुटका भरपर्दा मात्र हैनन्,भक्तपुरका बासिन्दा पनि हुन् । बाँस्कोटा त ओलीको घरमै बसेका थिए । ओली क्याबिनेटमा सञ्चार मन्त्री बनेका बाँस्कोटाले ७० करोडको अडियो काण्डमा मुछिएपछि पद छोडेका थिए । ७० करोड काण्ड नलागेको भए सायद बुधबार ओलीसँगै बाँस्कोटाले पनि बालकोटको स्वागत पाइरहेका हुन्थे ।

यता,बुधवारको र्यालीलाई लिएर युवासंघकै केही नेताका असन्तुष्टि सार्वजनिक भएका छन् । युवासंघका सचिवालय सदस्य विपिन ढकालले बस्नेतकै कारण ओली अलोकप्रिय हुँदै गएको दाबी गरेका छन् । बस्नेतको नाम उल्लेख नगरी उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जनताको बहुदलीय जनवाद मान्ने भन्ने अझ जबजको भक्तिभाव गर्नेहरु सर्वोच्चको फैसला मान्दिन भन्छन् !’ सर्वोच्चको फैसलालगत्तै माइतीघरमा उभिएर अदालतलाई चुनौती दिने बस्नेतमाथि कटाक्ष गर्दै ढकालको यस्तो टिप्पणी आएको हो ।

‘महामारीको समयमा दुई तीन हजार गाडी, पाँच/छ हजार मोटरसाइकल,हुन त जसले एस्कर्टिङ्ग गरेर लैजाने हो त्यो संख्यामा सवारीसाधन त पुर्याउन सक्दैनन् । तर सांसद कोटामा दुई पटक खोप लगाइसकेका यिनलाई त केही नहुँदो हो तर कार्यकर्तालाई यस्तो उर्दी जारी गर्नेहरु गैरजिम्मेवार हुन्’

उनले भारतका तत्कालीन राष्ट्रपति एपीजे अब्दुल कलाम राष्ट्रपति कार्यालयबाट बाहिरिँदाको सन्दर्भ उठाउँदै थप अगाडि लेखेका छन्,अब्दुल कलाम राष्ट्रपति कार्यालयबाट बाहिरिंदा कति मोटरसाइकलको लाइन हुनसक्थ्यो होला,तर टिनको बाकस र त्यसभित्र केही किताब लिएर निस्किए ।हजारौँ किलोमिटर परसम्म उनी आज सम्मानित छन् ।’

आफूले सांसद कोटाको खोप लगाएर बस्नेतले कार्यकर्तालाई चैं महामारीका बेला सडकमा उतारेको भन्दै ढकालले आफ्नै संगठनका इन्चार्जमाथि आक्रोश पोखेका छन् । ‘महामारीको समयमा दुई तीन हजार गाडी, पाँच/छ हजार मोटरसाइकल,हुन त जसले एस्कर्टिङ्ग गरेर लैजाने हो त्यो संख्यामा सवारीसाधन त पुर्याउन सक्दैनन् । तर सांसद कोटामा दुई पटक खोप लगाइसकेका यिनलाई त केही नहुँदो हो तर कार्यकर्तालाई यस्तो उर्दी जारी गर्नेहरु गैरजिम्मेवार हुन्’बस्नेतमाथि उनले कटाक्ष गरेका छन् ।

‘जनताको बहुदलीय जनवाद मान्ने भन्ने अझ जबजको भक्तिभाव गर्नेहरु सर्वोच्चको फैसला मान्दिन भन्छन् !’

उनले केपी ओलीलाई माया गरेर मोटरसाइकल र्याली हुन लागेको भए लाखौँले साथ दिने पनि बताएका छन् । उनले बस्नेतले आयोजना गरेका कार्यक्रमको खुलेर विरोध गर्न पनि आव्हान गरेका छन् । बस्नेतको नाम नलेखी उनले गम्भीर आरोप लगाएका छन्, ‘सुपारी,केराउ,मरिचको आयात अनुमति लिने बेलामा सहसचिवलाई तर्साउन,जिल्लामा ठेक्का हात पार्न डीआईजीहरुलाई तर्साउन र यस्तै अनैतिक कार्य गर्न कर्मचारीहरुलाई तर्साउन देखाइने सबै खाले प्रर्दशनको खुलेर विरोध गरौँ ।’

बिपिनले भनेका छन्-“हिजो पार्टी अदालतले फुटाइदियो,क्या मजा आयो । आज प्रम अदालतले खोस्दियो,क्या नमजा आयो । आफ्नोहरु एकताबद्ध नहुँदा अझै के के ब्यहोर्नु पर्छ । केही समय प्रतिपक्षी हुँदा आकाश खस्दैन बरु हिजो अलि अलि बिगारेको भा” जनताले माफ गरिदिन्छन् त्यसैले पार्टी एक एक बनाउन आ-आफ्नो ठाउँबाट सहयोग गरौं ।

उनी अझै अगाडि भन्छन्-“सबै फैसला चित्तबुझ्दो हुँदैन र हुनुपर्छ भन्ने सोच लोकतान्त्रिक हुन सक्दैन । फैसलाको अनर्थ नलगाऊँ,अब पार्टी एकताबद्द बनाऊँ,केही समय प्रमुख प्रतिपक्षी भएर निभाऊँ । अब देश चुनावमा जान्छ नै त्यसैले सडकमा आएर जनतामा नाङ्गिने काम नगरौँ ।

आन्दोलन न्यायालयका विरुध्द हैन आफ्नो पार्टीलाई लोकतान्त्रिक विधिसम्मत चल्ने र पहिलो पुस्ताले बिदा लिनुपर्छ भनेर गरौँ ।”

टिप्पणीहरू