जब विप्लवले प्रचण्ड पत्नीलाई भन्नुभयो,‘भाउजू,म के म’

जब विप्लवले प्रचण्ड पत्नीलाई भन्नुभयो,‘भाउजू,म के म’

-राजु लामिछाने

लामो समयदेखि रोगले थलिएर बिस्तरामा परेकी नेकपा माओवादी केन्द्र अध्यक्ष प्रचण्डकी पत्नी सीता दाहालको अवस्था नाजुक छ । पार्किन्सन्सकी बिरामी सीताले आँखाले देख्न छोडिसक्नुभएको छ । तर स्मरणशक्ति गुमिसकेको छैन । निकटस्थलाई आवाजले नै चिन्ने उहाँलाई भेट्न हिजो जनयुध्दका सहयात्री नेपाल कम्युनिष्ट पार्टी नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लव घरैमा पुग्नुभयो । बिस्तरामा लम्पसार परेकी सीताले विप्लवलाई देखेर ठम्याउने सम्भावना थिएन ।

एकैछिन सीतालाई हेरिरहेका विप्लव बोल्नुभयो, ‘भाउजू,म के म’ । देखेर ठम्याउन नसक्ने,बोलेर व्यक्त गर्न नसक्ने बिरामी अवस्थाकी सीतालाई भाउजू शब्द चिरपरिचित थियो । बोली सुनेपछि सहयोगीको आड लागेर बसेकी सीताले विप्लवको दुवै हात स्पर्श गर्दै अनुहार हेरिरहनुभयो । सीताको विप्लवप्रतिको मातृत्व र ममता तथा विप्लवको सीताप्रतिको आदरभाव तस्बिरले पनि प्रष्ट पार्छ ।

आमा सीता र विप्लववीचको भेटको यो सुन्दर तस्बिर छोरी गंगा दाहालले फेसबुकमा पुनर्मिलनको एउटा तस्बिर भन्दै राख्नुभयो । पारिवारिक विछोडमा रहेको विप्लव र प्रचण्ड परिवारवीचको यो मिलनको तस्बिरले प्रचण्ड परिवारमा खुशी छाएको अभिव्यक्ति हो गंगाको स्टाटस ।

नेता धर्मेन्द्र बास्तोलालाई लिएर प्रचण्डलाई भेट्न खुमलटार जानुभएका विप्लवले प्रचण्डसँगको भेटवार्तालगत्तै सीता दाहाललाई भेट गर्नुभएको हो । विप्लव भेटका लागि साँझ साढे ५ बजे खुमलटार पुग्नुभएको थियो ।

लामो समयदेखि बिस्तरामा थलिएकी प्रचण्ड पत्नी सीता दाहाललाई खुमलटार पुगेर भेटेका विप्लवले सीता दाहालको यो अवस्थाको कल्पनासम्म पनि गर्नुभएको थिएन । विप्लवले प्रचण्डनिवासमा सीतासँग करिब १५ मीनेट बिताउनुभयो । सीता र विप्लवको त्यो भेटले एउटा परिवारको राजनीतिक सम्बन्ध मात्र नभई वर्गीय सम्बन्ध र आत्मियतालाई बलियो बनाएको बुझिन्छ ।

शुरुमा बोलाउँदा एकोहोरो भएकी सीताले विप्लवको बोली चिनेपछि बनेको दृश्यले साथमै रहेका प्रचण्ड र नेता बास्तोलासमेत भावुक बन्नुभयो । सहयोगीले अडेस लगाएर बसाएपछि दुवै हात समातेर सीताले विप्लवको अनुहार हेरिरहनुभयो । आँखाले ठम्याउन सक्नुभएन,तर आवाजले चिन्नुभयो । सीताले आँखाले नठम्याएपनि निकटस्थहरुलाई आवाजले ठम्याउनुहुन्छ । विप्लवको गला अवरुद्ध भयो, बोली फुटेन ।

जति मतभेद होऊन्,विचारमा बेमेल होस्,सम्बन्धमा दरार आउन्, दुश्मनीका अनेक बान्की होऊन् । तर आमाको स्नेही ममता सन्तानप्रति उत्तिकै गाढा रहन्छ । रगतले बनेका नाताभन्दा भावनाले जोडिएका नाता झनै बलिया बन्दा रहेछन् । बुधबार साँझको भेटले यो कुरालाई प्रष्ट पारेको छ ।

सशस्त्र जनयुध्दताका प्रचण्ड र विप्लव परिवार रोल्पामा एकै घरमा बस्थे । एकै भान्सा गर्थे । प्रचण्ड परिवारले विप्लव परिवारलाई सबैभन्दा नजिकको मान्थ्यो र सबैभन्दा बढी माया गर्थ्यो । जनयुद्धदेखि शान्ति प्रक्रियासम्म प्रचण्ड र विप्लवको सम्बन्ध पारिवारिकसरह नै थियो । २०६९ सालमा पार्टी विभाजनपछि विप्लव मोहन बैद्यतिर लाग्नुभयो । वैद्यसँग पनि विप्लवको विमति भएपछि विप्लव नेकपाको नेतृत्व गर्दै भूमिगत राजनीतिमा होमिनुभयो ।

दुई वर्षअघि ओली सरकारले राजनीतिक गतिविधिमा प्रतिबन्धित गरेपछि विप्लवलाई गत फागुन २१ मा ओली सरकारले नै तीन बुँदे सहमति गरी शान्तिपूर्ण राजनीतिमा फर्काएको हो । तर प्रतिबन्ध लाग्नुअघिदेखि प्रचण्डसँग चिसिएको राजनीतिक सम्बन्धले पारिवारिक भेटसमेत पाएको थिएन । युध्दकालमा लामो समय सीताको रेखदेखमा रहेका विप्लवले सीताको स्वास्थ्य अवस्था नाजुक बन्दै जाँदासमेत भेट्नुभएको थिएन । बुधबार वर्षौपछि खुमलटार पुगेका विप्लवको बोली सीताले ठम्याइहाल्नुभयो ।

यसवीचमा पार्टी प्रतिबन्ध लागेकै बखत विप्लवका छोरा प्रकाश चन्दले गत वर्ष बिरामी सीतालाई खुमलटार नै पुगेर भेटेका थिए । प्रकाशले सीतालाई ममी भनेर बोलाउँछन् । प्रकाश भेट्न गएको बखत् पनि सीताको अनुहारमा उस्तै मातृत्व झल्किएको थियो ।

बिरामी सीता उपचारका लागि भारतको नयाँदिल्ली जानुअघि प्रकाश र सीतावीच भेटको तस्बिरले पनि चर्चा पाएको थियो ।हिजो को प्रचण्ड–विप्लव भेटमा अहिलेको राजनीतिक परिस्थिति, अघिल्लो सरकारसँग आफूहरूले गरेको सहमति लगायतका विषयमा कुराकानी भएको बताइएको छ ।

अहिले देशको उथलपुथल भइरहेको राजनीतिबारे विप्लव समूहले चासो राखेको र प्रचण्डले ब्रिफिङ गरेको बुझिएको छ । यस भेटबाट पूर्वमाओवादीहरुवीच अब भेटघाट र छलफललाई निरन्तरता दिनुपर्छ भन्ने सन्देश प्रवाह भएको बताइन्छ ।

टिप्पणीहरू