छाडा बन्न प्रहरीलाई दिइएन छुट, टिकटक र सामाजिक सञ्जाल प्रयोगमा कडाई

छाडा बन्न प्रहरीलाई दिइएन छुट, टिकटक र सामाजिक सञ्जाल प्रयोगमा कडाई

नेपाल प्रहरीले आफ्ना कर्मचारीलाई पोशाकमा टिकटक नबनाउन, असम्बन्धित र अनावश्यक ढंगले सामाजिक सञ्जाल प्रयोग नगर्न उर्दी जारी गरेको छ । प्रहरी र ट्राफिक प्रहरीका पनि महिला कर्मचारीले प्रहरी पोशाकमा कार्यालयभित्र टिकटक बनाएर नाचेको तथा गाएको दृश्य सामाजिक सञ्जालमा भाइरल हुन थालेपछि कडाइ गर्न खोजिएको हो ।

प्रहरी प्रधान कार्यालयले हिजो जारी गरेको आन्तरिक सर्कुलरमा फेसबुक,ट्विटर,टिकटकलगायत सामाजिक सञ्जाल सञ्चालन गर्दा असम्बन्धित विषयमा लाइक,सेयर, कमेण्ट,ट्याग तथा कपी लिङ्क गर्ने र प्रहरी पोशाकमा टिकटक बनाउनेलाई कडा कारबाही गर्न निर्देशन दिइएको हो ।चालु आर्थिक वर्ष २०७७/०७८ मा त्यस्ता कार्य गर्ने ५६ जना प्रहरी कर्मचारीलाई कारबाही गरिएको जानकारी गराउँदै प्रधान कार्यालयले सबैको ध्यानाकर्षण गराएको छ । सामाजिक सञ्जाल प्रयोग सम्बन्धमा पटक पटक निर्देशन गराउँदै आइए पनि कर्मचारीद्वारा सोको उल्लंघन हुँदै आएको पनि सर्कुलरमा उल्लेख छ ।

परिपत्रमा भनिएको छ,‘विगतमा संप्रेषण तथा सेयर गरेका विषयवस्तु समेत हटाउनु । मातहतका कर्मचारीले सामाजिक सञ्जालको आचारसंहिता पालना गरे नगरेको विषयमा कार्यालय प्रमुख स्वयमले चासो दिनु ।’

सामाजिक सञ्जालसम्बन्धी परिपत्रमा उल्लेख भएका विषयको पालना नभएमा प्रहरी कर्मचारी नियमावली २०७१ अनुसार कडाभन्दा कडा कारबाही हुने चेतावनी पुनः दिइएको छ ।

टिप्पणीहरू