मन्त्री छान्न उपेन्द्र यादव खेमाको बैठक

मन्त्री छान्न उपेन्द्र यादव खेमाको बैठक

सर्वोच्च अदालतको हिजोको फैसलापछि उत्पन्न राजनीतिक परिस्थिति र पार्टीको आधिकारिकता सम्बन्धी विवादमा छलफल गर्न जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र-बाबुराम खेमाले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । बालकुमारीस्थित केन्द्रीय कार्यालयमा बोलाइएको बैठकमा पछिल्लो राजनीतिक अवस्था र पार्टी विवादबारे छलफल हुने नेताहरुले बताएका छन् ।

कार्यकारिणी समिति सदस्य रेणु यादवका अनुसार आजको बैठकमा निर्वाचन आयोगमा रहेको पार्टीको आधिकारिकता विवाद र हिजोको फैसलापछिको अवस्थाबारे धारणा बनाउन बैठक बसेको हो ।

उनले जसपा तत्काल सरकारमा नजाने पनि बताइन् । निर्वाचन आयोगमा रहेको पार्टीको आधिकारिकतासम्बन्धी विवाद किनारा लागेपछि सरकारमा सहभागिताबारे टुंगो लाग्ने उनको भनाइ छ ।

सत्ता समीकरणको विषयमा शुरु भएको बिबाद बढ्दै जाँदा जसपा अहिले विभाजनको संघारमा पुगेको छ । विवादकै कारण अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई खेमा कांग्रेस नेतृत्वको गठवन्धनमा सहभागी छ भने अर्का अध्यक्ष महन्थ ठाकुर समूह प्रधानमन्त्री ओलीसंग निकट छ । यसअघि दुवै पक्षले एकले अर्कालाई कारवाही गरेर निर्वाचन आयोगलाई जानकारी गराएका थिए ।

तर, आयोगले दुबैले गरेको कारवाही बदर गरिदिएपछि उपेन्द्र-बाबुराम पक्षले आधिकारिकता दावी गर्दै अर्को निवेदन दिएको हो । उपेन्द्र-बाबुराम खेमाको दाबीलाई कानुनी प्रक्रिया अनुसार अघि बढाएको आयोगले साउन ३ गते दुवै पक्षलाई बोलाएको छ ।

टिप्पणीहरू