सुखद सपना, दुःखद विपना « Jana Aastha News Online
Logo
३१ श्रावण २०७९, मंगलवार
|  Tue Aug 16 2022
Logo
३१ श्रावण २०७९, मंगलवार
|  Tue Aug 16 2022

सुखद सपना, दुःखद विपना

प्रकाशित मिति :  ८ पुष २०७३, शुक्रबार ०९:१८


  • संकेत कोइराला

युद्धको समय । सम्राट् नेपोलियन मस्त सुतिरहेका थिए । मध्यरात शत्रुले अचानक धावा बोल्यो । सूचना पाएपछि अंगरक्षकले उठाउँदै भन्यो, ‘परिस्थिति प्रतिकूल बनेको खबर छ । सेनापति अहिल्यै भेट गर्न चाहन्छन् ।’ नेपोलियनले कोल्टे फेर्दै भने, ‘सोध भेट्न आउनुको उद्देश्य के हो ?’

अंगरक्षकले सविस्तार भन्यो– ‘दक्षिणतिरबाट शत्रु सेनाको फौजले हमला ग¥यो । प्रतिरक्षाका लागि सेनापति तपाईंको आदेश खोज्दैछन् ।’ यति संवेदनशील खबरबाट पनि नेपोलियन किञ्चित विचलित भएनन् । सेनापतिलाई नबोलाई अंगरक्षकको ध्यानाकर्षण गर्दै भने, ‘कुनाको बाकसमा ३४ नम्बरको एउटा नक्सा छ । त्यो सेनापतिलाई दिएर भन्नू, ‘भोलि बिहानै विजयको सुखद समाचार लिएर मकहाँ उपस्थित हुनू ।’ त्यो नक्सामा दक्षिणतिरका सेनाले आक्रमण गरे भने त्यसको प्रतिकार कसरी गर्ने भन्ने सूत्र उल्लेख थियो । नेपोलियनको योजनाअनुसार लडेको सेनाले विजय हात पा¥यो । भोलिपल्ट विजयको खबर लिएर आएका सेनापतिले जिज्ञासा राखे, ‘यति छिट्टै कसरी योजना बनाउनुभयो ? के कुनै देवताले तपाईंको मद्दत गर्छन् ?’ नेपोलियनले जवाफ दिए, ‘हो, विचार र दूरदर्शिता नामका दुई देवता हरदम मेरो साथ रहन्छन् । उनैले भविष्यको सम्भावनाप्रति मानिसले पहिलादेखि नै जागृत र सावधान हुनुपर्छ भन्ने सिकाए ।’

झन्डै ३ करोड जनसंख्या, एउटा रात्रिबसले एकरातमा पुरै छिचोल्ने भूगोल भएको देशमा एउटा दल चलाउन ४ हजार संख्याको केन्द्रीय कमिटी, अढाई लाख सरकारी फौज, सत्तरी हजार कर्मचारी, सिंहदरबारदेखि ब्रह्मनालसम्म झण्डे अखडामा लाखौं मानिसको संलग्नता छ । जंगलका जनावर र घरपालुवा पशुपक्षी अपवाद छाडेर बाँकी सबैलाई राजनीतिक दलको दास बनाइएको छ । यदि हावा किनेर बाँच्नुपर्ने भएको भए यो देशमा झण्डा र जीवन एउटा रोज्नुपर्ने हुन्थ्यो । देशको हरेक तह र तप्काका मानिसमा व्यस्तता छ । प्रधानमन्त्री हेर्नुस भालेको डाँकदेखि नै साइरन गाडी अघि पछि लगाएर कुदेको कुद्यै छन् । मन्त्री चारैतिर दौडाहामा छन् । ६०१ सभासदलाई संघीय गणतान्त्रिक संविधानको भारीले किचेको किच्यै छ । मन्त्रालयका सचिवहरू बिहानदेखि बेलुकासम्म विभागीय प्रमुखको भेला गरेर गाँठो फुकाउन व्यस्त छन् । हिमालमा यति भेटिएला तर तिनलाई मन्त्रालयमा भेट्नु भयो भने त्यसदिन आफ्नो भाग्यलाई सलाम ठोके हुन्छ ।

फौजका प्रमुख जर्नेलहरू बैठकमा रातदिन शान्ति–सुरक्षा पेचिलो बनाउन लागेकै छन् । दलका माथिदेखि गाउँ एकाइसम्मका नेतालाई नयाँ नेपालको सपनाबाट व्यूँझिने एकछिन फुर्सद छैन । केन्द्रमा यसखाले पानी परेपछि क्षेत्र, जिल्लाले सक्कलबम्मोजिम नक्कलअनुसारको छाता ओढ्न परिहाल्यो । सञ्चारक्षेत्रमा सूचनाको भल बाढी त कुरै गर्नु परेन, युधिष्ठिरलाई जस्तै इच्छा मरणको उपहार समाचार शिल्पीहरूबाट प्राप्त हुनेछ । कुर्सीमा बसेका त व्यस्त भए नै, भूतपूर्वहरूमा पनि माटोसँगको उभार यसरी आयो कि भूमिका खोज्न तल्लीन छन् । दर्जनौं पूर्व भिभिआइपी, हजारमाथि पूर्वमन्त्री, निजामती, जंगी, न्यायका पूर्व बर्दीधारीसमेत जुँगाअनुसारको भाग खोज्न लालायित देखिन्छन् । यायाति ऋषि यति विलासी थिए, छोरा पुरुको जवानी पैंचो लिएर भोगविलासमा आपूmलाई रित्याए । यायातिलाई टक्कर दिने पुस्ता अझ उम्दा भएर उपस्थित छ । मस्त सुतेका नेपोलियनले युद्धको त्यत्रो जहाज हाँक्न सक्छन् भने चौवीसै घण्टा जाँगरिला देखिने लाखौं नेपालीले यति सानो भूगोल र एक गाउँ अटाउने परिवार भएको देश किन व्यवस्थापन गर्न नसकेका हौंला ?

सडकमा हेर्नुस् एम्बुलेन्स जत्तिक्कै शववाहनलाई हतारो छ । राजनीतिका नाममा जन्ती र मलामी हिँड्न अलग अलग बाटो खोज्ने प्रतिस्पर्धा छ । कसैलाई झुन्ड्याउन ठीक पार्नुस, छिचोली नसक्नु मानिसको भीड लाग्छ । पूmलमाला, खादा, अभिनन्दनको कुरै छाडौं, आधा क्वीन्टलको माला धारण नगर्ने कुन ठूलो मान्छे होला ? कुर्सी पाएका मानिसको आधा कार्यकाल खादा, माला र अविर लगाएरै सकिन्छ । नेपालमा पहिला पहिला मानिसहरू पशुपक्षी चराएर दूध, अन्न, फलपूmल उब्जाउँथे । बाउबाट छोराले सुनसरी फल्ने नासोस्वरूप सुन्तलाको बगैंचा र टारीखेत उपहार पाउँथ्यो । अहिले मान्छेले भैंसी हैन, मान्छे चराउँछ । मान्छे जब मान्छे चराउन पल्किन्छ, अरू भाव हराउँछ । एम्बुस थापेर मान्छे ढाल्नमा जस्तो आनन्द र आम्दानीको रस उसले केहीमा भेट्दैन । यही प्रतापले नै त अमेरिकामा बसेको नेपाली अमेरिकीसँग हैन आफ्नै बंशसँग डराउँछ । अरवी मालिकको जासुस भएर नेपालीले नेपालीकै घर खरानी बनाउँछ । भलिभाँती नेपाली नारीको संस्कार र अनुशासन बुझेकी केटी डिपेन्डेन्ट भिसामा लगिएको केटालाई विदेशी भूमिमा अलपत्र पार्छे ।

शास्त्रले व्यापार उत्तम, खेती मध्यम र नोकरीलाई अधम परिभाषित गरेपनि कलियुगमा भने पेसा जुनसुकै होस् न, ठगी किस्मतको सूचिमा बढुवा भएको छ । सम्भवतः यही प्रवृत्ति सलहभैंm बढेका कारण कुअन्न मानिने कोदो, फापर, दाँत कोट्याउने बाँसको सिन्कोसमेत बाहिरबाट भिœयाउनुपर्ने अवस्था आइपरेको हुनुपर्छ । महात्मा गान्धी, नेल्सन मण्डेला, देड सियाओ पिङ, महाथिर मुहम्मद, बिल गेट्स, मार्क जुकरवर्ग, डोनाल्ड ट्रम्प प्रकृतिले दिएको त्यही चौबीस घण्टा उपयोग गरेर पूज्य हँुदा हामी समयको कुन ‘सुपर मुन’ कुर्दैछौं ? जसका घरमा अन्न छैन, उसैलाई बढी भोक लाग्छ रे ! समयले देश बनाउने होइन । मानिसले सुकर्मको रंग छ¥यो भने समय आपैंm इन्द्रेणी बनेर उपस्थित हुने हो । हलेदो रोपेर, उखुको अपेक्षा गरियो भने त्यो आपूmमाथिको अन्तरघात हो । ईश्वरको संरचनामा कतै खोट छैन । मन्दिर, चर्च, मस्जिदलाई रोमनमा उल्था गरेर हेर्नुस्, सबै ६ वटा अंग्रेजी अक्षरले बनेका छन् । गीता, बाइबल, चर्च अनुवाद गर्नुस्, अक्षरका पाँच गेडा पाउनुहुनेछ ।

डाक्टरहरू कलपुर्जा सफा गरेजस्तै गरी मानव शरीरको शल्यक्रिया गर्छन् । विभिन्न रोगको नाममा उब्जिएका ट्युमर काटेर मिल्काउँछन् । मस्तिष्क, मुटु, फोक्सो, मृगौलाका जटिल उपचार गर्छन् । खै, तिनीहरूले मानिसभित्रको लोभ, इष्र्या, रिस, प्रतिशोधचाहिँ किन मिल्काउन नसकेका होलान् ? ती वस्तु हुन्छन् चाहिँ कहाँ ? यी वस्तु मिल्कायो भने डाक्टरको व्यापार ओइलाउने भएर पो हो कि त्यसको निदान नभएको ? अब बेथितिको उपचार शल्यक्रियाबाट खोज्नुपर्ने अवस्था आएको छ । मलेसियाको कायापलट गर्ने मुहम्मद महाथिर, सिंगापुर बनाउने लिक्वान यु, बिहारलाई दोहोरो अंकको आर्थिक विकासमा पु¥याउने नितिशकुमार आएर हाम्रा मुखियाहरूलाई प्रवचन दिए पनि केही फरक पर्दैन । यस्ता व्यक्तित्वसँग बसी एकाधवटा कुम जोडेर फोटो खिच्नेभन्दा दोस्रो कर्म उनीहरूले जानेकै छैनन् ।

हामी पछि परेको नजानेर, नबुझेर, नदेखेर नभई नियत नै खोटो भएर हो । नेपालमा मानिसको भिजन हैन, पोर्नस्टार सन्नी लियोनको अद्र्धनग्न जवानी बिक्छ । बब मार्लिनको लट्टे कपाल विक्छ । राखी सावन्तको छिल्लिएको मादक नखरा विक्छ । अझ विश्वबाट काम नलाग्ने भनी मिल्काइएको माओ डक्ट्रिन भित्तामा पु¥याइँदा पनि अभैm टालाटुली बटुलीका शैलीमा तानतुन पारेर राजनीतिक भोटो सिउने प्रयास गरिन्छ । विकास बादले नभई इच्छाशक्तिले हुन्छ भन्ने नर्सरी बालकले बुझेको सत्य तिनका हजुरबा पुस्ताको मथिंगलमा पसेको छैन । जीवनको पूर्वार्धलाई उपेक्षा गरियो भने उत्तराद्र्धमा पुगेर बुझेको सत्य काम लाग्दैन । भूपि शेरचनको कविताले अरूलाई मिठास दियो । तर जीवनको उत्तराद्र्धमा उनले निष्कर्ष निकाले( आपूmलाई दुईवटा क ले बिगारे । जसको अर्थ थियो, कविता र कम्युनिस्ट । जीवनभर नास्तिकवादमा कलम चलाउने लक्ष्मीप्रसाद देवकोटाले ब्रह्मनालमा पुगेपछि भने, ‘आखिर श्रीकृष्ण रहेछ एक ।’ विश्व राजनीतिमा निरंकुशताको सजीव पात्र सम्झिइने हिटलर कालिदासको साकुन्तल महाकाव्यका प्रशंसक मात्र भएनन्, आर्य संस्कृतिको प्रतिरक्षा गरे । त्यसैले राजनीतिका नाममा मनमा एकथोक, बोलाई अर्को र गराई तेस्रो खाले संस्कृति नत्यागेसम्म हाम्रा लागि राजनीति सेवा हैन, धोकाको अर्को नाम हुने निश्चित छ ।

चिताएको सबै पाउने लोभमा कुटो, कोदालो र हलो मिल्काएर वर्षौंसम्म प्रचण्डले रोपेको धतुरोको माली बनेका कार्यकर्ताहरूका लागि आफ्नै नेताको कार्यशैली निल्नु न ओकल्नु भएको छ । सर्वहारा हैन, सर्वआहारा अनि दाँती मिलेका घर भएका धनाढ्यहरू यो पार्टीको चुल्हो चौकोमा पुगेपछि रगत र पानीको भेद अन्त्य भएको छ । धनयुद्धको राप र तापमा टिक्न नसकेर जनयुद्धका महिषीहरूको हातमा पश्चात्तापसिवाय अरू केही हात लागेन । माओवादी नेतृत्वले जब शहरी नूनसँग बढी सम्झौता गर्न थाल्यो, ऊ भित्रको रातो रंग खरानी बन्दै गयो ।

पुरुषको सफलता पछाडि महिलाको हात हुन्छ । यो सुल्टो व्याख्या भयो । तर, उसको असफलता पछाडि महिलाको हात हुन्छ हुँदैन ? यो पेचिलो प्रश्नको उत्तर त्यति सहज छैन । वर्तमान मन्त्रीहरूको सम्पत्ति विवरणमा उनीहरू सुनपति देखिनुको मनोविज्ञान पनि यसैसँग जोडिएको छ । धन त आउँछ, जान्छ पनि । धन गएर मानिस बिगँ्रदैन तर चरित्र गयो भने मरेको म¥यै हुन्छ । अहिलेका मन्त्रीले ज–जसका छोरी बिहे गरे कि ती सुन व्यापारी हुनुपर्छ कि उनीहरूले आपूmसँग रहेको नगदलाई सुनमा विनिमय गरेको हुनुपर्छ । बिहेमा दाइजो आएको सम्पत्ति हो भने सामाजिक कानुन आकर्षित गरी अख्तियारले कारवाही शुरु गर्नुपर्छ । जनताले पार्टी प्यालेसमा भोजभतेर गर्न नपाउने तर मन्त्रीले दाइजोमा ढिकाढिका लिन मिल्ने पनि कानुन हुन्छ ? विश्वका राजनेताले बद्नामीबाट बच्न पारिवारिक बन्धन चुँडाल्ने हिम्मत गरेका छन् । उनीहरूले राजनीतिको अम्लेट खान खोजे तर अण्डाको माया गरेनन् । पतिको शारीरिक कुरूपताप्रति तीव्र वितृष्णा भाव राख्ने मेरी टोड लिंकन कर्कश स्वभावकी थिइन् । विलासी जीवनको चाहना राख्थिनन् । यस विपरित अब्राहम लिंकन शान्त, सादा, सरल र विनयी थिए । कतिसम्म भने स्प्रिंग फिल्डमा रहँदा उनले लिंकनको मुखमा तातो कफी मिल्काइदिएकी थिइनन् ।

संसारको कुनै पनि मनुष्यले आफ्नो दाम्पत्य जीवन पीडादायी र कष्टकर बनोस् भनेर चाहेको हुँदैन । समाजका सामान्य मानिस मात्र होइन, ख्यातिप्राप्त महामानवको सोचाइ पनि यस्तै हुन्छ । तर, शक्ति र सत्ताको राजकीय मर्यादाका कारण यी महान दम्पतीको पारिवारिक जीवन सदैव विषादपूर्ण रह्यो । भारतीय स्वतन्त्र संग्रामका महारथी महात्मा गान्धी श्रीमती कस्तुरबा गान्धीलाई एक सय चार डिग्री ज्वरो आउँदा पनि वास्ता गर्दैनथे । विश्वविख्यात राजनेता मण्डेला जब सत्ता सम्प्रभुताको सिंहासनमा बस्न पुगे दुःखका दुष्कर यात्रामा साथ दिने पत्नी बिन्नीलाई त्याग नगरी धर पाएनन् । लोकतन्त्रको मातृभूमि मानिने बेलायती युवराज चाल्र्स र डायना परस्परमा छिन्नभिन्न हुनुप¥यो । माओत्सेतुङ व्यक्तिगत हैसियतमा अत्यन्त खर्च कम गर्थे । पुरानो कोट र खुइलिएको कमिज नफाटुन्जेल लगाउँथे । १९५८ तिर चिया र मासु महँगो ठानेर खानै छोडिदिए । तर, श्रीमती बटुल्ने र सन्तान जन्माउनेमा लापरवाह थिए । ४८ वर्षको उमेरमा २३ वर्ष कान्छी चियाङचिङसँग चौथो घरजम गरे । उनको विलासी व्यवहार सम्झिनेहरू अहिले पनि नाक खुम्च्याउँछन् ।

आफ्नो परस्त्रीप्रतिको रुचिमा सुशीलाको गुनासो रहने गरेको स्वयं बिपीले उल्लेख गरेका छन् । अरू त अरू हरे कीर्तनमा लागेकी श्रीमतीको व्यवहारबाट जीवनको उत्तराद्र्धमा देशको मन्त्री भइसकेका लक्ष्मीप्रसाद देवकोटा आजित थिए । त्यसवेलाका धर्मगुरु कविप्रसाद गौतममाथि धर्मको आडमा समाज भाँडेको आरोप थियो । धर्म आवरणमा उनी महिलालाई जुठो ख्वाउने, खुट्टा ढोगाउने, खुट्टा धुन लगाएको पानी ख्वाउनेजस्ता काम गर्थे । एकातिर रोगी देवकोटा उपचार खर्च नपाएर थलिएका थिए भने अर्कातिर देवकोटा पत्नी मनदेवीमा यस्तो धार्मिक भूत चढेको थियो कि लोग्नेको आँखा छलेर दहीको कतारोभित्र चाँदीको मोहोर लुकाई गुरु पोस्ने गर्थिन् । समाजमा अपराध बढेपछि गेरुवस्त्रधारीहरूको व्यापार पनि स्वतः बढ्छ । समय फेरियो, पात्र फेरियो तर शैली र प्रवृत्ति उस्तै । जताततै कर्मवादीभन्दा भाग्यवादीहरूको उपस्थिति सघन बन्दै गएको छ ।

प्रचण्डजस्ता राजनीतिका महारथी कुम्भमेलामा हराएको बालकजस्तै जो अगाडि देखापर्छ उसकै हात समाउने अवस्थामा पुग्नुको परिणाम पनि यही नै हो । बुद्ध, एरिस्टोटल प्लेटो कसैको बाद थिएन, समूह थिएन, झण्डा थिएन । तर विचारका लागि सधैं सधैं बाँचेका छन् । पूज्य छन् । धृतराष्ट्रले दुर्योधनको दुर्गुण, अहंकार र स्वार्थबारे पूर्ण जानकारी राख्दा राख्दै पनि मोह त्याग्न नसक्दा महाभारतको युद्ध भई सुखद सपना दुखद घटनामा अवसान भयो । महाभारत सकिएपनि आखिर आँसुको कथा सकिएन । पाण्डवहरू जितेर पनि हारे । राजनीतिमा नैतिक बल गुमेपछि नेताको अवस्था भनेको रोबोट मान्छेको बचाई मात्र हो । सर्वहाराको शासन, गरिबको सत्ता, जनवाद यी सबै पण्डित र धामीका मन्त्रजस्तै हुन् ।


प्रतिक्रिया दिनुहोस !