भोलि ५ बजे देउवाको शपथ,ओलीले २ बजे बालुवाटार छाड्ने

भोलि ५ बजे देउवाको शपथ,ओलीले २ बजे बालुवाटार छाड्ने

नयाँ प्रधानमन्त्रीको रुपमा काँग्रेस सभापति शेरबहादुर देउवाले भोलि साँझ ५ बजे शीतल निवासमा शपथ ग्रहण गर्नुहुने भएको छ ।राष्ट्रपति कार्यालयको प्रशासनले देउवा निवास बूढानीलकण्ठमा भोलि साँझ ५ बजे शपथ ग्रहणको निम्ति तयारी अवस्थामा रहन जानकारी गराइसकेको छ ।

यता,बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीको सबै सामान आजै साँझदेखि प्याकिङ गर्न थालिएको छ । भोलि दिउँसाे २ बजे अगावै बालकोट सर्ने तयारी छ । बालकोटमा आफ्नै घर भएकाले तयारी खासै हेर्न नपर्ने सुरक्षा स्रोतको भनाई छ ।

आज साँझ शीतल निवासबाट प्रधानमन्त्री केपी शर्मा ओली फर्केपछि एमाले महासचिव ईश्वर पोखरेल केहीबेर त्यहिँ बस्नुभएको थियो । त्यति नै बेला महेश बस्नेत पनि शीतल निवास पुगेर उहाँहरुले राष्ट्रपति विद्यादेवी भण्डारीसँग सामूहिक भेटवार्ता गर्नुभएको बताइन्छ ।

साँझमा पहिले प्रधानमन्त्री ओली र पोखरेलसँगै शीतल निवास छिर्नुभएको थियो । अरु सबै नेता बालुवाटारमा राती नौ बजेसम्म बसे पनि पोखरेल र बस्नेत भने उतै हुनुहुन्थ्यो ।

यता प्रधानमन्त्री केपी शर्मा ओलीले भने बालुवाटारमा एमाले स्थायी समितिको बैठक भोलि बिहान डाक्नुभएको छ ।

आज दिउँसो एमाले उपाध्यक्ष भीम रावलले प्रधानमन्त्रीसँग बालुवाटारमा भेट गर्नुभएको छ । त्यतिबेला वरिष्ठ नेता माधवकुमार नेपालको निवास,कोटेश्वरमा विपक्षी गठबन्धनको बैठक भइरहेको थियो ।

आजै सुरक्षा निकायले सर्वोच्च अदालतको संवैधानिक इजलासमा रहनुभएका पाँचै जना न्यायाधीशहरुको निम्ति थप सुरक्षाकर्मी परिचालन गरेको छ ।

टिप्पणीहरू