पौडेल छाड्न पनि र थाम्न पनि तयार

पौडेल छाड्न पनि र थाम्न पनि तयार

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी नेतृत्व परिवर्तन हुनु अत्यावश्यक रहेको बताउनुभएको छ । आगामी महाधिवेशनले व्यक्ति मात्र नभई प्रवृत्ति पनि परिवर्तन गर्ने पौडेलको भनाइ छ ।

आज क्रियाशील सदस्य छानविन समितिको कार्यालय अवलोकन गर्न पुग्नुभएका नेता पौडेलले सभापति शेरबहादुर देउवाको नेतृत्व परिर्वतन गरेर नयाँ नेतृत्व स्थापित गर्नु आजको आवश्यकता भएको पनि बताउनुभयो । वर्तमान सभापतिको नेतृत्व परिर्वतन हुनु व्यक्ति मात्र नभएर प्रवृत्तिको परिवर्तन भएकोले आसन्न महाधिवेशनले नेतृत्व परिवर्तन गरेरै छाड्ने उहाँको दाबी छ ।

आगामी नेतृत्वका लागि आफ्नो समूहबाट साझा उम्मेदवार बनाउने प्रयास भइरहेको पनि पौडेलले बताउनुभयो । समय,परिस्थिति तथा आवश्यकता हेरेर कोही १ जनालाई उम्मेदवार बनाउन कसरत भइरहेको उहाँले बताउनुभयो । आफू सभापतिको आकांक्षी भएपनि सहमति जुट्दा अरुलाई समर्थन गर्न तयार रहेको उहाँले भनाइ छ । तर आफूले कसैलाई छोड्नु अगाडि चित्तबुझ्दो कारण चाहिने उहाँको तर्क छ ।

उहाँले महाधिवेशनका लागि आवश्यक आधारको रुपमा रहेको क्रियाशील सदस्यताको विवाद असार मसान्तभित्र टुंगिने विश्वाससमेत व्यक्त गर्नुभयो । भदौ २३ अगाडि महाधिवेशन नगरे संविधान विपरित हुने र पार्टीमाथि नै प्रश्नचिन्ह खडा हुने भएकाले तोकिएको मितिमा महाधिवेशन गर्नुको विकल्प नभएको पौडेलले बताउनुभयो ।

टिप्पणीहरू