बिमलेन्द्र,सशाँक,प्रकाशमान मिल्ने,देउवासङ्ग भिड्ने ?

बिमलेन्द्र,सशाँक,प्रकाशमान मिल्ने,देउवासङ्ग भिड्ने ?

कांग्रेस महामन्त्री सशाँक कोइरालाले पार्टी नेतृत्व हस्तान्तरण गर्ने बेला आइसकेको भन्दै अब आफू, बिमलेन्द्र निधि र प्रकाशमान सिंहमध्ये एक जनाले नेतृत्व लिने उद्घोष गरेका छन् ।

सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले अभिभावकत्वको भूमिका निर्वाह गर्नुपर्ने भन्दै कोइरालाले नेताद्वयलाई आफूले त्यस किसिमको भूमिकाका लागि आग्रह गर्ने पनि बताए । तेरो र मेरो भन्ने स्वभावका कारण सभापति देउवा पार्टीको सफल सभापति बन्न नसकेको उनको टिप्पणी छ ।

गुट-उपगुटको अन्त्य गरी पार्टीलाई एकढिक्का बनाएर सहमतिका साथ सभापतिको उम्मेदवार चयनका लागि आवश्यक वातावरण बनाउने कार्यमा निधि,सिंह र आफूबीच छलफल भैरहेको पनि उनले प्रष्ट पारेका छन् । तीन नेताको भेटघाटलाई पार्टीभित्र नयाँ शक्ति र गुट निर्माण गर्न नभई एकताको लागि भएको एउटा सफल र प्रभावकारी प्रयासको रुपमा बुझ्न पनि उनले सबैलाई आग्रह गरे ।

‘सभापतिका लागि हामी ३ जनामध्ये कोही लड्छ भने ठीकै भयो । हामीमध्ये एकता हुनुपर्यो भन्ने कुरा आयो । यसमा धेरै कुरा उत्पन्न छन् । एउटा कि विमलेन्द्र निधीले शेरबहादुरजीलाई छाड्नुभयो भने भन्ने पनि संकेत देखिन्छ । दोश्रो कुरा हामी तीनै जनामध्ये एकजना लड्ने, तर त्यत्तिले पुग्दैन । रामचन्द्र दाइ,शेखर दाइ हुनुहुन्छ,प्रकाशमान र म त छँदैछु । बिमलेन्द्र निधि हुनुहुन्छ । मैले के भनेँ भने,हामी तीन जनाबाट ५ जना गरौं, ५ जनाबाट ७ जना गरौं,ताकि हामी एउटै सूत्रमा बाँधिन सकौँ भन्ने धारणा हाम्रो थियो । तर यता आएर हाम्रो बीचमा केही छलफल भएको छैन’, उनले भनेका छन् ।

आफूहरु एकै ठाउँमा उभिंदा पार्टी संगठनलाई राम्रो गर्छ भन्ने दृष्टिकोणले नै तीनैजना (नेतापुत्रहरु) एकै ठाउँमा उभिएको उनको भनाइ छ । त्यसले नेपाली कांग्रेस एकैठाउँमा आउँछ भन्ने संकेत दिएको पनि कोइरालाले दाबी गरे ।

कोइरालरलाले सभापति देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल उमेरका हिसाबले पाको भैसकेकाले अभिभावकको भूमिकामा रहन सुझाव पनि दिए । ‘देउवाजीको धेरै उमेर भइसक्यो । रामचन्द्र दाइ पाको मान्छे हुनुहुन्छ । उहाँको राजनीति धेरै उतारचढाव भयो ।

तर मलाई लाग्छ उहाँले पनि अघि आएर अभिभावकको रुपमा लिनुपर्ने हो ठाउँ तर उहाँ पनि प्रत्यासी त हुनुहुन्छ । उहाँलाई हामीले सम्झाउन सक्नुपर्यो कि तपाईं अभिभावकको भूमिका खेलेर हामीलाई गाइड गर्नुहोस्’, उनले भने, ‘मलाई लाग्छ शेरबहादुरजीको पनि त्यही नै अवस्था देखिन्छ । धेरै बूढो भइसक्नुभयो । उहाँहरु कतिञ्जेलसम्म राजनीति गरिरहनुहुन्छ त ? अभिभावक बनेर हामीलाई गाइड गर्नुपर्ने बेलामा उहाँहरु आफै लड्ने विचार गर्दै हुनुहुन्छ । यसरी चाहिँ अप्ठयारो हुन्छ ।’

कोइरालाले असार मसान्तभित्र क्रियाशील सदस्यता टुंगो नलागे महाधिवेशन नै प्रभावित हुनसक्ने आशंकासमेत व्यक्त गरेका छन् । ‘यो महिनाभित्र क्रियाशील सदस्यता टुंगा लगाउन सकिएन भने त आशंका त भईहाल्यो नि । यति जटिल नि क्रियाशिल सदस्यको बारेमा, हरेक जिल्लामा केही न केही छ । भन्छन् ४६ जिल्लामा भईसक्यो । त्यसमा पनि उजुरीहरु आएको छ, त्यसलाई पनि हेर्नुपर्यो । तसर्थ अहिलेको अवस्थामा भन्न सकिदैन कि समयमा नै अधिवेशन हुन्छ कि हुदैन । प्रश्न चिन्ह चाहीँ छ । तर हाम्रो ध्यान त्यतैतिर गएको छ । र हामी क्रियाशिल सदस्यता छिटो टुंग्याउँ भनेर भरमग्दुर प्रयास गर्दैछौ’, न्युज एजेन्सीसँगको कुराकानीमा उनले भनेका छन् ।

टिप्पणीहरू