बालुवाटारमा रावलको कडिकडाउ माग

बालुवाटारमा रावलको कडिकडाउ माग

एमाले विवाद समाधानका लागि गठित कार्यदल केही दिनयता सक्रिय छ । लामो समय निस्क्रिय रहेको कार्यदल गत आइतबार राती अध्यक्ष केपी ओली र उपाध्यक्ष डा.भीम रावलबीच भएको गोप्य भेटवार्तापछि क्रियाशील भएको हो । माधव नेपाल खेमाको तर्फबाट कार्यदलमा संयोजक रहेका रावललाई संस्थापन खेमाले कारवाही गरेपछि निष्क्रिय कार्यदल उक्त भेटवार्तासँगै क्रियाशील भएको थियो ।

ओली र रावलबीच बालुवाटारमा के-के विषयमा छलफल भयो त्यसको औपचारिक जानकारी बाहिर आइसकेको छैन । तर, लामो समय निष्क्रिय रहेको कार्यदललाई सक्रिय बनाउन बालुवाटार छलफलले पृष्ठभूमिमा भूमिका खेलेको धेरैको अनुमान छ । कतिपयले रावलको बालुवाटार भेटवार्तालाई लिएर आशंका पनि व्यक्त गरेका छन् । एमालेभित्रै केही नेताले ओली-रावल भेटवार्तालाई शंकाको नजरले हेरिरहेका बेला रावलनिकट स्रोतले उक्त भेटवार्ताको गुह्य कुरा जनआस्थालाई बताएको छ ।

“अघिल्लोचोटी कोलिसन सरकार हुँदा बरु तपाईंको हाइट कहाँ पुगेको थियो,एकाएक कसरी राष्ट्रवादी नेता बन्नुभयो । दुई तिहाइबाट झर्दै झर्दै पार्टीभित्रैको बिश्वास नपाउने गरी अहिले हालत के छ ! स्वमूल्यांकन गर्नुस् । सच्चिन तयार हुनुस् । हामी एकताका लागि तयार छौँ ।’

स्रोतले जनाएअनुसार बालुवाटारमा रावलले ओलीसँग कडिकडाउ कुरा गर्नुभएको थियो । राति ९ बजेतिर बालुवाटार पुग्नुभएका रावलले झण्डै डेढ घण्टा ओलीसँग कुराकानी गर्नुभयो । कुराकानीका क्रममा रावलले नेपाल पक्षको अडान प्रष्ट रुपमा राखेको र ओलीले कार्यदलबाट मिलाएर ल्याउन आग्रह गरेपछि करिब भंग भैसकेको कार्यदल पुन: सक्रिय भएको हो ।

जनाइएअनुसार कुराकानीका क्रममा नेता रावलले पार्टीमा नेपाल समूहको शक्तिलाई कमजोर नआँक्न ओलीलाई अप्रत्यक्ष चेतावनी पनि दिनुभएको थियो । अदालतमा बुझाएको हस्ताक्षर फिर्ताको विषयलाई शर्तका रुपमा अघि नसार्न सुझाव दिंदै उहाँले पार्टी एकतावद्ध हुँदा सर्वोच्चको फैसला जस्तो आए पनि स्वीकार गरेर जान आफूहरु तयार रहेको सन्देश ओलीलाई दिनुभएको थियो ।

बालुवाटार भेटमा रावलले ‘एक व्यक्ति,एक पद’ को पुरानो अडानलाई जोडतोडका साथ उठाएको स्रोत बताउँछ । ‘प्रतिनिधिसभा पुनर्स्थापना हुँदा विश्वासको मत लिएर तपाईं नै चलाउनुस् या देउवा अथवा माधव कमरेडका पक्षमा निर्णय गराउनुस् त्यो पछिको कुरा भयो । तर,तपाईंले नै विश्वासको मत लिएर प्रधानमन्त्रीमा निरन्तरता पाउने अवस्थामा पार्टीको जिम्मेवारीबाट हट्नुपर्छ’,रावलको भनाइ उद्धृत गर्दै उक्त स्रोतले भन्यो ।

“७० जिल्लामा पार्टीको छुट्टै कमिटी अभ्यासमा रहेको र प्रेस चौतारीबाहेक सबै जनवर्गीय संगठनमा समानान्तर गतिविधि भैरहेकाले त्यो शक्तिलाई कमजोर ठाने समस्या समाधान नहुने प्रष्ट अडान सुनाउनुभएको थियो ।”

रावलले समानजनक पार्टी एकताका लागि नेपाल समूहको शक्तिलाई कमजोर आँक्न नहुनेमा ओलीको ध्यानाकर्षणसमेत गराउनुभएको थियो । सो क्रममा रावलले ७० जिल्लामा पार्टीको छुट्टै कमिटी अभ्यासमा रहेको र प्रेस चौतारीबाहेक सबै जनवर्गीय संगठनमा समानान्तर गतिविधि भैरहेकाले त्यो शक्तिलाई कमजोर ठाने समस्या समाधान नहुने प्रष्ट अडान सुनाउनुभएको थियो ।

पार्टी र सरकार अहिलेको अवस्थासम्म आइपुग्नुमा ओली नै मुख्य जिम्मेवार रहेकाले आफ्ना कमजोरी आत्मसात गर्दै नयाँ ढंगले अघि बढ्न तयार हुनुपर्नेमा रावलले जोड दिनुभएको स्रोतको भनाइ छ । ओली आत्मसमीक्षा गरेर सच्चिन तयार हुँदा पार्टी एकताका लागि नेपाल समूह जुनसुकै तहको लचकता देखाउन तयार रहेको रावलको भनाइ थियो ।

‘हामी हिजो पनि एउतै आन्दोलनबाट आएका हौँ,आज पनि यहि पार्टीमा छौँ । मिल्ने कुरामा हाम्रो कुनै बिमति छैन । तर,झण्डै दुई तिहाइ निकटको सरकार हेर्दाहेर्दा अल्पमतमा पुग्यो । आफ्नै पार्टीले पनि तपाईंलाई साथ नदिने अवस्था बन्यो । त्यसको तपाईंले आत्ममूल्यांकन गर्नु जरुरी छ’,रावलको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘अघिल्लोचोटी कोलिसन सरकार हुँदा बरु तपाईंको हाइट कहाँ पुगेको थियो,एकाएक कसरी राष्ट्रवादी नेता बन्नुभयो । दुई तिहाइबाट झर्दै झर्दै पार्टीभित्रैको बिश्वास नपाउने गरी अहिले हालत के छ ! स्वमूल्यांकन गर्नुस् । सच्चिन तयार हुनुस् । हामी एकताका लागि तयार छौँ ।’

स्रोतका अनुसार रावलको कुरा सुनिसकेपछि ओलीले कसरी मिल्न सकिन्छ अघि बढ्नुस् भन्नुभएको थियो । जवाफमा रावलले पार्टी र सरकार संचालनमा ओलीले एकलौटी गरेका कारण समस्या पैदा भएकाले त्यहीँबाट समीक्षा हुनुपर्ने बताउनुभएको थियो ।

‘तपाईं कहिले कारवाही गरेँ भन्नुहुन्छ,कहिले मिल्ने भन्नुहुन्छ । यो बहकाउले समग्र कम्युनिष्ट आन्दोलन बिसर्जनतर्फ जाँदैछ । माधव नेपाल तपाईंभन्दा सिनियर नेता नै हो,तर अहिले उहाँको व्यक्तिगत माग केही छैन । हामीले पार्टीलाई विधि,पध्दति र संस्थागत निर्णयका आधारमा चलाउनपर्छ भनेका हौँ । तपाईं त्यसका लागि तयार हुँदा पार्टी एकता हुन्छ नत्र कठिन छ’,रावलको अडानसहितको निष्कर्ष उधृत गर्दै स्रोतले भन्यो ।

रावलको कुरा चाखपूर्वक सुन्नुभएका प्रधानमन्त्री ओलीले कार्यदलबाट एकताको प्रस्ताव तयार गरेर ल्याउन आग्रह गर्नुभएको बताइन्छ ।

टिप्पणीहरू