ओली र माधवले पढिदेउन् यो कथा

– पुष्पलाल पाण्डे

२०७१ असार ३१ गते नेकपा एमाले नवाैँ महाधिवेशनको बन्द सत्र शुरु मात्रै भएको थियो । मदन भण्डारी अध्ययन केन्द्रको नाउँमा एउटा पुस्तिका वितरण गरियो । हाम्रा धारणा नाम दिइएको उक्त पुस्तिकामा अध्यक्षका प्रत्यासी केपी शर्मा ओलीको स्वास्थ्यबारे तीतो पोखिएको थियो । अनेरास्ववियुका पूर्वअध्यक्ष राजेन्द्र राईको ‘एमालेमा नेतृत्व हस्तान्तरणको बहस’ शीर्षक लेखमा ओलीको स्वास्थ्य नेकपा एमालेको संगठन हाँक्न उपयुक्त नरहेको लेखिएको थियो । हलमा उक्त पुस्तिका वितरण गरिएपछि ओली पक्षका नेताले होहल्ला मात्रै गरेनन्, पुस्तिका च्यात्नसमेत भ्याए । यसपछि अध्यक्षमण्डल नै एक्सनमा आउनुप¥यो र आवश्यक कारबाही गर्ने आश्वासनपछि साँझ ६ बजेबाट बल्ल बन्दसत्र शुरु भयो ।

प्रसंग अलि पुरानै भए पनि एमालेमा चलिरहेको पानी बाराबार र विभाजित मानसिकताको नाल नवौँ महाधिवेशनको उक्त घटनासँग कहीँ न कहीँ जोडिएको छ । पार्टी सत्ता होस् या राजकीय सत्तामा पुग्न हाम्रो नेतृत्वले के–के गर्छ र त्यसको तुषले कसरी सबैतिर धराशायी बनाउँछ भन्ने राम्रो उदाहरण नेकपा एमाले बनेको छ । मदन भण्डारीको कुशल वैचारिक नेतृत्व अनि मनमोहन अधिकारीको निष्ठावान अभिभावकत्वले कुनै बेला देशको सबभन्दा ऊर्जाशील पार्टी अहिले निम्न पुँजीवादी ग्याम्बलरहरूको बाह्रमासेजस्तै भएको छ ।

‘वाम प्रजातान्त्रिक मूल प्रवाहको मूल शक्ति एमालेले धेरै एकता र विभाजन नभोगेको होइन तर पछिल्लो गाँड कोराकोर न विचारबाट प्रेरित छ, न सिद्धान्तको जामाले लाज छोपेर उफारिएको छ ।’

यसअघि पनि नेकपामा विभाजन नभएको होइन । २०१० माघ १७ गते शुरु भएको प्रथम महाधिवेशन र महासचिव मनमोहन अधिकारीको चीन भ्रमणसँगै नेकपामा विभाजनको बिउ रोपिएको थियो । कार्यवाहक महासचिव रहेका डाक्टर केशरजंग रायमाझीले अघि सारेको पार्टी नीति र कार्यक्रममा परिवर्तन किन भन्ने दस्ताबेजले नेकपामा दुर्ईलाइन संघर्ष शुरु गरेको हो । एक लाइनको नेतृत्व पुष्पलाल र अर्कोतिरको नेतृत्व रायमाझीले गरेका थिए । यसमध्ये एमालेमा घोषित रूपमा रायमाझी लाइन छैन । वाम प्रजातान्त्रिक मूल प्रवाहको मूल शक्ति एमालेले धेरै एकता र विभाजन नभोगेको होइन तर पछिल्लो गाँड कोराकोर न विचारबाट प्रेरित छ, न सिद्धान्तको जामाले लाज छोपेर उफारिएको छ ।

अहिले देशकै सबभन्दा ठूलो दल एमाले विभाजनको संघारमा छ । कुनै बेलाको सबभन्दा ऊर्जावान र अनुशासित पार्टी अहिले अनुशासन उल्लंघनको चरम बिन्दुमा पुगेको छ । किन यो विभाजन भन्ने प्रश्नको सांगोपांगो उत्तर अध्यक्ष केपी ओली र नेता माधव नेपालको पार्टीमाथि कब्जा जमाउने कार्यसँग मात्र जोडेर हेरिएको छ । कुनै शर्त मानेर एकतामा जाँदैनौँ– माधव नेपालको यो रटान र तिमी नआए एक्लै अघि बढ्छु भन्ने ओलीको एक्सन मात्रै कारक हो या यसका पछाडि अरू केही छ, एकदिन अवश्य खुल्नेछ ।

उमेर छउञ्जेल भाले पोथीकोमा र पोथी भालेकोमा धाइराखे तर अहंले पिरतीमा ठेस लाइराख्यो । अन्त्यमा दुवै सारस बूढा भए र मरे तर घरजम भएन । सारसको यो कथा नेपालको सबभन्दा ठूलो र अनुशासित दल नेकपा एमालेमा लागू नहोस् ।

नवौँ महाधिवेशन र एमाले, माओवादी एकतापछि आफू हेपिएको अनुभव गरेर माधव नेपालले मन दुखाउँदै हिँड्नु हितकारी पक्कै होइन । ओलीले पनि पेलेरै अघि बढ्दा रसियाको बैकाल तालवासी सारसको कथाजस्तै हालत पार्टी र नेतृत्वको हुने हो कि ! कथाले भन्छ – बैकाल ताल छेउका दुर्ई रूखमा दुर्ई जोडी सारस बस्थे । दुर्भाग्य, करिब सँगसँगैजसो एउटा रूखको भाले र अर्को रूखको पोथीको मृत्यु भएछ । धेरै समय एक्लाएक्लै बसेपछि एकदिन भाले चाहिँले सोचेछ पल्लो रूखको पोथी पनि एक्लै छ । उसले मानी भने हामी दुईले जोडी बाँध्न पाए राम्रै हुने थियो । यस्तै सोच्दै भाले पल्लो रूखकी पोथीकोमा बिहेको प्रस्ताव लिएर गयो । भर्खर भालेको वियोगमा परेकी पोथीले अर्को भालेले ल्याएको प्रस्तावलाई सहज रूपमा लिन सकिन । उसले यो प्रस्तावलाई आफूलाई एक्लै देखेर हेप्न खोजेको रूपमा लिई र बिहेको प्रस्ताव अस्वीकार मात्रै गरिन, भालेलाई नराम्ररी गाली गरेर पठाइदिई ।

अलिक दिनपछि पोथीले ठण्डा दिमाग भएको बेला भालेले ल्याएको प्रस्तावबारे विचार गरी । प्रस्ताव ठीक लाग्यो । उसले मनमनै सोची, मैले गाली गर्नु हुँदैनथ्यो । ओहो, मैले गल्ती गरेँ । उसले नराम्रो कुरा त गरेकै थिएन । यस्तै सोच्दै पोथी भालेको गुँडमा पुगी । अस्तिको घटनामा माफी माग्दै बिहेको प्रस्ताव राखी । तर, अस्ति अहंमा ठेस लागेको भालेले पोथीको प्रस्ताव कसरी स्वीकार गर्न सक्थ्यो ! रिसले आगो भएको भालेले पनि पोथीको प्रस्ताव ठाडै अस्वीकार गरिदियो । केही दिनपछि भालेले सोच्यो– म कस्तो हुस्सु, आफ्नै मनको प्रस्ताव लिएर आएकी विचरीलाई त्यस्तो व्यवहार गर्न नहुने । फेरि यस्तै सोच्दै भाले पोथीकोमा गयो । भएभरको अनुनय विनय ग¥यो तर अस्ति भालेको व्यवहारले पोथी आहत थिई । भालेलाई तथानाम गाली गरेर फर्काइदिई । र, माफी माग्ने, माया पनि लाउने उद्देश्यसहित फेरि पोथी भालेकोमा गई तर भाले राजी भएन । उमेर छउञ्जेल भाले पोथीकोमा र पोथी भालेकोमा धाइराखे तर अहंले पिरतीमा ठेस लाइराख्यो । अन्त्यमा दुवै सारस बूढा भए र मरे तर घरजम भएन । सारसको यो कथा नेपालको सबभन्दा ठूलो र अनुशासित दल नेकपा एमालेमा लागू नहोस् ।

टिप्पणीहरू