राजधानीमै चरेश र लागूऔषधको कारोबार बढ्यो, कारोबारी पक्राउ

राजधानीमै चरेश र लागूऔषधको कारोबार बढ्यो, कारोबारी पक्राउ

काठमाडौंको खिचापोखरी र टेकुबाट २ केजी ८ सय ८० ग्राम चरेशसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१४, बल्खु बस्ने काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका–४ घर भएका २५ वर्षीय अर्जुन लिम्बु र मकवानपुर थाहा नगरपालिका–११ बस्ने ३० वर्षीय राम तामाङ रहेका छन् ।

महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले अर्जुनलाई २ सय ८० ग्राम चरेशसहित पक्राउ गरेर सोधपुछ गर्ने क्रममा अर्जुन लिम्बुसमेत समातिएका हुन् । अर्जुनले आफूले रामसँग किनेर ल्याएको बताएपछि रामलाई प्रहरीले टेकुबाट २ केजी ६ सय ग्राम चरेशसहित पक्रेको हो ।

उता मोरङको बेलबारी नगरपालिका–१, गाईघाट टोल बस्ने बुद्धिमान तामाङलाई १३ ग्राम ५ सय ४० मिलिग्राम ब्राउन सुगरसहित हिजो साँझ प्रहरीले पक्राउ गरेको छ । उनले घरबाटै लागूऔषधको कारोबार गरिरहेको सुराकीको आधारमा प्रहरी टोलीले उनको घर तलासी गर्दा धानको भकारीभित्र लुकाई राखेको अवस्थामा ब्राउन सुगरसहित उनलाई पक्राउ गरेको हो ।

त्यसैगरी, सिरहाको धनगढीमाई नगरपालिका–११, नैनपुरबाट ६ केजी ५ सय ग्राम गाँजा र नियन्त्रित लागूऔषध स्पामो ६ सय ट्याबलेटसहित स्थानीय २५ वर्षीया नीला महतोलाई हिजो साँझ प्रहरीले पक्राउ गरेको छ ।

श्रीमती निला पक्राउ परेपछि श्रीमान् पवन फरार रहेको प्रहरीले बताएको छ ।

टिप्पणीहरू