कर्मचारीतन्त्रलाई यस्तो हालतमा पुर्याए कमरेडहरुले

कर्मचारीतन्त्रलाई यस्तो हालतमा पुर्याए कमरेडहरुले

जहाँ कार्यसम्पादन र क्षमता होइन चाकडी र चाप्लुसी खोजिन्छ, त्यस्तै कलामा निपूर्ण प्रशासकहरुलाई टपक्क टिपेर संवैधानिक आयोग,विभिन्न निकायमा लगेर भर्दा परिणाम कस्तो आउला ? खोज्न अहिले बहादुर भवनतिरको एउटा अड्डालाई हेर्दा काफी होला ।

बैंकिङ क्षेत्रमा कुलिङ पिरियड हुन्छ,अर्थात एउटा बैंकबाट हटेको प्रमुख कार्यकारी अधिकृत (सिइओ) कम्तिमा ६ महिना अर्काे बैंकको सीइओ बन्न पाउँदैन ।

तर निजामती सेवामा भने त्यस्तो छैन् । ५८ बर्षे उमेरसम्म १०- पाँचको जागिर खानेबाहेक खासै उपलब्धि र परिणाममुखी काम गर्न नसकेका प्रशासकहरुलाई प्रधानमन्त्री र मन्त्रीको एसम्यान भएकै आधारमा अवकाशअगावै टिपेर शीरमा चढाउन थालिएको छ ।

जस्तो अस्ति सोमबारमात्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव खगराज बरालले राजीनामा दिए । अघिल्लो दिन राजीनामा दिए,भोलिपल्टै नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)को अध्यक्ष बनाइयो । उनी ५८ बर्षे उमेर हद लागेर आगामी २५ साउनमा घर जान लागेका थिए ।

उसैगरी अर्काे प्रशासकले पनि राजनीतिक नियुक्ति भेटिसकेका छन् । राजश्व सचिव रामशरण पुडासैनीले ५८ बर्षे उमेर हद लागेर घर जानु महिना दिनअगावै राष्ट्रिय वाणिज्य बैंकको अध्यक्ष पाएका छन् ।

अघिल्लो महिनामात्र उमेर हदका कारण अवकाश पाउनुअगावै खानेपानी मन्त्रालयका सचिव माधव बेल्बासेले लोकसेवा आयोगको सदस्यमा नियुक्ति भेटे ।

राष्ट्रपति कार्यालयमा रहँदा समावेदन बोकेर गएका भीम रावलहरुलाई झुलाएर पत्र दर्ता नगरी बालुवाटार पुर्याएवापत डा. हरि पौडेल अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त नियुक्त भइसकेका छन् । उनको कार्यकाल अझै २ बर्षभन्दा बढी थियो ।

गण्डकी प्रदेश प्रमुख सचिवको रुपमा कार्यरत विष्णु नेपालले अवकाश पाएकै भोलिपल्ट सोही प्रदेशको लोकसेवा आयोग अध्यक्षमा नियुक्ति पाइसकेका छन् । उसैगरी अवकाश पूर्व प्रधानमन्त्री कार्यालयमा रहेका आनन्द ढकालले स्टाफ कलेजको नियुक्ति भेट्टाएका थिए ।

प्रशासकहरु बालुवाटार निकट भए तिनलाई तीन चार बर्षसम्म नचलाउने,अवकाश पाउनु अगावै आयोग वा निकायमा नियुक्ति भेट्टाइहाल्ने । बालुवाटार इतरको भए तीन महिनाभन्दा बढी कहिँ कतै टिक्नै नदिने,भकुण्डो बनाइहाल्ने ।

जस्तो महेश्वर न्यौपाने,यामकुमारी खतिवडाहरु भक्तपुरे सांसद महेश बस्नेत र राष्ट्रपति कार्यालयको निकट हुँदा हत्तपत्त चलाइँदैनन् । सत्ताइतर भएकै आरोप लगाएर सुरेश आचार्यलाई पाँच महिनामा तीन ठाउँ लखेटिसकिएको छ । १४ महिनासम्म झुलाएर सचिव बढुवा भएका उनको पोष्टिङ राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणमा भएको थियो,त्यहाँबाट लो प्रोफाइलवाला सचिव बस्ने कार्यालय नेपाल ट्रष्टमा लखेटिएका उनी अहिले शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयमा तानिएका छन् ।

यता बढुवा भएका ५ सहसचिवकै व्यवस्थापनमा समस्या झेलिरहेको परराष्ट्र मन्त्रालयले हिजैमात्र ज्येष्ठता र कासमूका आधारमा कुलबहादुर मगर,शिवानी बस्नेत र सबिता नकर्मीलाई उपसचिवमा उकालेको छ ।

टिप्पणीहरू