हस्तिनापुरको झगडा र एमालेको खेल

हस्तिनापुरको झगडा र एमालेको खेल

महाभारतका अनुसार महाराज विचित्रविर्यका धृतराष्ट्र,पाण्डु र विदुर गरी तीन छोरा थिए । उनको मृत्युपछि धृतराष्ट्र अन्धा भएकोले राजा हुन अयोग्य भए । त्यसैले पाण्डु राजा घोषित भए । सुरवीर पाण्डु हस्तिनापुरका चक्रपर्ती राजा भए । उनले थुप्रै राज्यहरूलाई हस्तिनापुरमा मिलाएर आराम गर्न चाहे । पाण्डु आराम गर्न वनविहारतिर लागेपछि धृतराष्ट्र कार्यवाहक राजा भए । आराम गर्न गएका राजाको उतै देहान्त भएपछि धृतराष्ट्रले हस्तिनापुरको सिंहासन सम्हाली रहे । उनका छोरा दुर्योधनको चर्चा गर्नै पर्दैन । दुर्योधन अति महत्वाकाक्षी तथा मूर्खाधिराज थिए । पाण्डुपुत्र युवराज युधिष्ठिर शिष्ट,शालीन तथा ज्ञान र बुध्दिका खानी थिए । यसैले युधिष्ठिर युवराज घोषित भए । युधिष्ठिरको उपस्थितिमा दुर्योधन राजा हुने कुनै सम्भावना थिएन ।

दुर्योधन र मामा शकुनीको ध्यान हस्तिनापुरको सिंहासनमा थियो । सिंहासन कव्जा गर्न उनीहरूले पाण्डवलाई हत्या गर्नेसम्मको योजना बनाए । त्यसको लागि पुरोचनलाई प्रयोग गरेर लाक्षागृहको व्युह रचना गरे । लाक्षागृहमा पाण्डवहरूको हत्या गर्न बनाईएको योजनाको पोल खुलेकोले पाण्डवहरू जोगिएर भाग्न सफल भए । उनीहरू सुरक्षित वनविहारमा थिए । यसैबेला राजा द्रुपदले राजकुमारी द्रौपदीको लागि स्वयम्वर यज्ञ आयोजना गरेको सूचना आयो । स्वयम्वर यज्ञमा घुमिरहेको माछाको ऑखामा तारो हानेर धनुर्धर अर्जुनले वाजी मारे । वाजी मारेसंगै उनले राजा द्रूपद पुत्री द्रौपदीसंग स्वयम्वर र विवाह गरे ।

“धृतराष्ट्र धेरै गल्ती गर्थे र अन्धोपनलाई दोष थोपरिदिन्थे । रियलमा दोष उनको अन्धोपनमा थिएन । उनको कुटकुटमा भरिएको पुत्र मोहमा थियो । उनी सबै काम मूर्खाधिराज पुत्र दुर्योधन र शकुनीको इशारामा गर्थे । “

द्रौपदीसंगको विवाहलगत्तै पाण्डवहरू कुलवधु द्रौपदीसहित हस्तिनापुर फर्काईए । हस्तिनापुरका प्रजाले पाण्डवहरूको भव्य स्वागत गरे । उनीहरूको भव्य स्वागत हस्तिनापुर दरबारको लागि भने टाउको दुखाईको विषय भयो । हस्तिनापुरको भविष्य र यसको व्यवस्थापनमा चुनौती आयो । युवराज युधिष्ठिर र तथाकथित युवराज दुर्योधनको वीचमा अन्तरसंघर्ष झन वढ्ने सम्भावना देखियो । महामन्त्री विदुर र भिष्मको चिन्ता हस्तिनापुरमा सत्य, न्याय र विधि व्यवस्थाको थियो । अरूको चिन्ता सिँहासन र सत्ताको भागिदारीमा थियो । जेभएपनि हस्तिनापुर अन्योल ग्रस्त बन्दै थियो ।

कपटी धृतराष्ट्र र दुर्योधन सबभन्दा बढि चिन्तित थिए । कुन्तिपुत्र युधिष्ठिर र पाण्डवहरू लाक्षागृहमा मारिएको समाचारले गदगद भएर मनमौजी राज्य गरिरहेका उनीहरू पाँचै पाण्डव ज्युदै रहेको र द्रौपदीसंग बिहे गरेर अझ शक्तिशाली भएर आएकोमा आगो भएका थिए । पाण्डहरूलाई लखेटेर हस्तिनापुरलाई एकलौटी बनाउने उनीहरूको योजना पुरै असफल भएको थियो । हस्तिनापुर राज्यमा दुईजना युवराज उपस्थित भएपछि धृतराष्ट्रले भारदारी सभा बोलाए । सभामा प्राय: सवैले युधिष्ठिर नै सहि उत्तराधिकारी भएकोले उनको विकल्प नभएको तर्क दिए । दुर्योधनको रौद्ररुपको अनुमान गर्नेहरू भने थर्कमान थिए । यसैले होला धृतराष्ट्रको इच्छाअनुसार भिष्म पितामहले हस्तिनापुर राज्यलाई विभाजन गर्ने सुझाव दिए ।

“प्रधानमन्त्री गिरिजा आत्तिए । उनले चार महिनासम्म सरकार छोडेनन् । त्यति मात्र होइन संविधानसभाले गर्ने धेरै निर्णयहरू आफैले भटाभट गर्न थाले । “

सुझावअनुसार हस्तिनापुर राज्य नजिकै रहेको पुरानो नगर खाण्डवप्रस्तलाई अर्को राज्य बनाउने प्रस्ताव आयो । खाण्डव प्रस्तलाई नयाँ राज्य बनाएर युवराज युधिष्ठिरलाई राजा बनाउने प्रस्ताव धृतराष्ट्रको थियो । राज्य विभाजनको भित्री रहस्य हस्तिनापुरका आधिकारिक उत्तराधिकारी पाण्डवहरूलाई राज्यबाट बेदखल गराऊने थियो । युवराज युधिष्ठिरलाई आफ्नो कक्षमा बोलाएर धृतराष्ट्रले आफू सँकटमा परेको नक्कली पीडा दर्साउँदै बडो नाटकीय ढंगले युधिष्ठिरलाई खाण्डवप्रस्त जान आदेश दिए । युधिष्ठिर ‘अ’ बोल्दा अलंकार बुझ्थे । उनले झगडा गरेर बस्नु भन्दा राजाको आदेश शिरोधार्य गर्नु उचित ठाने । अन्ततः पाण्डवहरू आफ्ना पिता पाण्डुले खडा गरेको विशाल साम्राज्य हस्तिनापुरबाट बेदखल गरिए ।

अहिले नेकपा एमालेमा अन्तरसंघर्षको नाममा जालझेल र तिकडम तीव्र भएको छ । पार्टी कब्जा गर्नको लागि एक थरी दुर्योधनहरू न्वारनदेखिको बल लगाइरहेका छन् । फागुन २३ गतेको फैसलाको आडमा पार्टी कब्जाको रणनीतिमा व्यग्रताका साथ लागि रहेका छन् । फागुन २५ गते अदालतको फैसलाअनुसार नेपाल समूह एमालेमा काम गर्न लालायित भएर आयो । आम जनता र कार्यकर्ताले यसलाई व्यापक स्वागत गरे । तर पार्टी कब्जाको रणनीतिमा निर्लिप्त तत्वहरूलाई खपी नसक्नु र उखरमौलो भयो । उनीहरूले फागुन २८ गते अनेक थरी अवैध निर्णय गरेर पार्टी एकतामा भाँजो हाल्न मूलगेटमै ताल्चा लगाइदिए ।

उनीहरूले विधान विपरीत एकपक्षीय निर्णय गरेर सम्पूर्ण जीवन पार्टी निर्माणमा लगाएका वरिष्ट नेताहरू र निर्वाचित पदाधिकारीहरूलाई जिम्मेवारीबाट बेदखल गर्दै लाक्षागृहको सम्झना गराए । पार्टी विधान विपरित आयोजक कमिटी बनाएर थुप्रैलाई कार्वाही गरे । पार्टीमा कम्फरटेबल बहुमत बनाउनको लागि अचाक्ली ‘ मान्छेहरू ‘ थपेर धुम मच्चाए । मनमौजी पार्टीको विधानलाई छेडखानी गर्दै अनेक थरी संशोधन गरे । सरकारी संयन्त्रहरू र संवैधानिक अंगहरूको दुरूपयोग गरेर आफ्नो पक्षमा निर्णय गराए । यति हुँदा पनि अर्को पक्ष एकता भनेर लेट्टन कसिरहेको छ ।

असन्तुष्ट समूहले उठाएका धेरै सवालहरू सहि सावित हुँदैछन् । पार्टी विभाजन, सरकार विघटनदेखि संसद विघटन र अध्यादेशसम्मका मामलामा सरकारी समूह गलत प्रमाणित हुँदैछ । आफ्ना सबै कदम गलत सावित हुँदा पनि कमजोरी सच्याउनेतर्फ चासो राख्दैन । पार्टीको असन्तुष्ट पक्षसंग बसेर गम्भीरतापूर्वक छलफल गर्दैन । पार्टीलाई एकता पूर्व (जेष्ठ २ मा) फर्काऊने भनिए पनि जालझेलको आशंका हटेको छैन । सत्ता जोगाऊनको लागि मात्र असन्तुष्ट पक्षसंग एकताको कुरा गरिएको अनुमान दुनियाँले गरिरहेको छ । जसरी हस्तिनापुरको भविष्य धृतराष्ट्र र दुर्योधनको कृत्यले खतरामा परेको थियो त्यसैगरी एमालेका प्रधानमन्त्री र उहाँका सहयोगीहरूको कृत्यले नेपाल र नेकपा एमालेको सुन्दर भविष्य खतरामा पुगेको प्रतित हुँदैछ ।

२०६२/०६३ मा देशमा ठूलो क्रान्ति भयो । राजाको घोषणाले पुरानो संसद व्युताईयो । श्रीगिरिजाप्रसाद कोइराला र कमरेड केपी ओलीको जोडी देशको प्रधानमन्त्री र उपप्रधानमन्त्री भयो । माओवादीहरू समेत सरकारमा सहभागी भए ।
सामन्ती राजतन्त्रको अन्त गरियो । २०६४ सालमा पहिलो संविधान सभाको चुनाव भयो । नेकपा माओवादी सबभन्दा ठूलो पार्टीको रूपमा स्थापित भयो । प्रधानमन्त्री गिरिजा आत्तिए । उनले चार महिनासम्म सरकार छोडेनन् । त्यति मात्र होइन संविधानसभाले गर्ने धेरै निर्णयहरू आफैले भटाभट गर्न थाले ।

निर्वाचनबाट नयाँ जनादेश आइसक्दा पनि चुनावी सरकार मान्ने वाला थिएन । तत्कालीन माओवादीको अप्रत्यासित जीतले सवैको हावा खुस्काई दिएको थियो । माओवादीले क्रान्तिकारी काम गरेर सबलाई डुबाइदिने भय व्याप्त भयो । त्यही भयातुर भएर हिन्दु राज्यको वकालत गरेर नथाक्ने गिरिजाबाबुले संविधान सभाको कार्यक्षेत्रमा पसेर गणतन्त्र र धर्मनिरपेक्ष राज्यको घोषणा गर्ने कामसमेत आफैले गरिदिए । जीवनको अन्तिम अवस्थामा समयको पदचापलाई बुझ्न सकेकाले होला उनले आफ्नो छवि सुधार्ने मौका पाए ।

अहिले नेकपा एमालेका अध्यक्ष गिरिजाबाबुभन्दा एक कदम अगाडि छन्। गिरिजाले एकपटक मात्र संसद विघटन गरेका थिए । कमरेड ओलीले एउटै संसद दुई पटक विघटन गरेर विश्व रेकर्ड कायम गरिदिए । आफ्नै पार्टीलाई ३ महिनासम्म आयोजक कमिटीको नाममा रिँगाएर फेरि ज्येष्ठ २ गतेतिर फर्कने भन्दै फागुन २८ तिर फिर्ता गरेका छन् । फागुन २८ गतेको निर्णय नै समस्याको जड हो । यहीँबाट केन्द्रीय कमिटी र आयोजक कमिटीको खेल सुरू भएको छ । सर्वोच्च अदालतले आयोजक कमिटीको परिचय खोजेपछि मात्र आयोजक कमिटीलाई हेराफेरी गर्दै ‘कमिटी’ बनाईएको छ । यसैको आडमा एकताको निम्ति सकृय कमरेडहरूलाई लोप्पा ख्वाउने र असन्तुष्ट पक्षलाइ बिच्कयाऊने कामसहित अनेक नौटंकी गरेर दुनियालाई रमाईलोसंग भ्रमित गरिदैछ ।

धृतराष्ट्र धेरै गल्ती गर्थे र अन्धोपनलाई दोष थोपरिदिन्थे । रियलमा दोष उनको अन्धोपनमा थिएन । उनको कुटकुटमा भरिएको पुत्र मोहमा थियो । उनी सबै काम मूर्खाधिराज पुत्र दुर्योधन र शकुनीको इशारामा गर्थे । दुनियाको सामुन्ने भने अन्धोपनलाई दोष दिने गर्थे । एमालेका अध्यक्ष सबै काम आफ्नो निजी ईच्छा र गुट स्वार्थलाई हेरेर गर्दछन् । अरूलाई गुटवाजी गरेको दोष लगाई दिन्छन् । आफू सबै विधि-विधान र संविधान मिचेर काम गर्दछन् र अरूलाई उध्दण्ड र अराजक भएको आरोप लगाउँदै डण्डा बर्साउँछन् । अझ आफूले कसका निम्ति स्वार्थ राख्ने भन्दै आदर्शका कुरा गरेर आफ्ना भ्रष्ट ‘छोरा’ हरू लाई काखी च्याप्छन् र अरूसंग भने निशर्त सहयोगको आग्रह गर्दछन् । यसले गर्दा पार्टी र देशले झन झन समस्या व्यहोर्नु परिरहेको छ ।

अहिले पार्टी र देशमा उत्पन्न समस्या राजनैतिक समस्या हो । राजनीतिक समस्याको समाधान राजनीतिक तरिकाबाट मात्र सम्भव छ । राजनीतिक समाधान आपसी छलफल र सहमतिका आधारमा खोजिनु पर्दछ । यसका निम्ति आपसी सम्मान र सह-अस्तित्वको व्यवहार आवश्यक पर्दछ । गम्भीरतापूर्वक समस्याका कारणहरू पत्ता लगाउने प्रतिवध्दता आवश्यकता पर्दछ । समस्याका कारण पत्ता लगाएर, आपसी हित र परस्पर सहमतिका आधारमा निराकरण गर्ने प्रयास गरिनु पर्दछ । अहिले एमालेमा कार्यदल सकृय छ । वार्ता चलिरहेको छ । तर त्यहाँ समस्या बुझ्न र समाधान निकाल्नको लागि आवश्यक तत्परता खुलेको देखिदैन ।

देश र जनताको लागि सहि बाटो दिन स्वार्थरहित तथा सफा नियतका साथ प्रयास गरिनुपर्दछ । यसरी गरिने प्रयासले मात्र छलफललाई निष्कर्षमा पुर्र्याऊन सकिन्छ । संसारमा ठुल्ठूला समस्याहरू वार्ता र छलफलबाट समाधान भएका छन् । हाम्रो देशमा पनि हिजोका दिनमा सुन्दर अभ्यासहरू भएका छन् । एमालेको दुवै पक्षले चाहेको हो भने एकता असम्भव छैन । आफ्नै पार्टीभित्रको विवाद हो । देशभित्रको समस्या हो । यसको समाधान गर्न नसकिने कुरा छैन । तर अहिलेसम्म पनि खास लक्षण देखिएको छैन । भनिन्छ ” वादे वादे जायते तत्व वोध ” । छलफल गर्दै जाऔं । समस्याको सहि समाधान खोजौँ । जय जय होस ।

टिप्पणीहरू