एमालेमा दोश्रो तह र तेश्रो तहको दूरी बढ्दै

एमालेमा दोश्रो तह र तेश्रो तहको दूरी बढ्दै

पार्टीभित्रको विवाद समाधानमा दोस्रो तहका नेताहरुको भूमिकालाई लिएर एमालेको खनाल-नेपाल समूहका युवा नेताहरुले आशंका व्यक्त गरेका छन् । पार्टीमा विधि,पध्दति र संस्थागत प्रणाली स्थापित गर्ने लडाईबाट दोस्रो पुस्ताका नेताहरु पछि हटेको उनीहरुको बुझाइ छ ।

दोस्रो पुस्ताका नेताहरुले संस्थापन खेमासँग नि:शर्त मिल्नुपर्ने आशयका अभिव्यक्ति दिइरहेका बेला तेस्रो पुस्ता भने अडान छोड्न नहुनेमा प्रष्ट खुलेको छ । घटनाक्रमले प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीबाट लोकतन्त्र र कम्युनिष्ट आन्दोलनको रक्षा नहुने देखिएकाले बृहत ध्रुवीकरणमा जानुपर्ने युवा नेताहरुको भनाइ छ ।

खनाल-नेपाल समूहकी प्रभावशाली नेतृ रामकुमारी झाँक्रीले त्यस्तै आशयको अभिव्यक्ति दिएकी छिन् । लोकतन्त्र र संविधान रक्षाको प्रश्नमा प्रष्ट हुनुपर्ने भन्दै उनले प्रधानमन्त्री ओलीको जालझेलमा परेर झुक्किन नहुने बताइन् ।

“समानान्तर कमिटी बनाउन दबाब दिने उनीहरु नै हुन् । सांसदहरुले सामूहिक राजीनामाको कुरा ल्याउने पनि उनीहरु नै हुन्’,

संसद विघटनसम्बन्धी मुध्दाको रिटमा समावेश खनाल-नेपाल पक्षका तत्कालीन सांसदहरुको हस्ताक्षर फिर्ताको विषयलाई ओली खेमाले जोडतोडका साथ उठाइरहेको अवस्थामा झाँक्रीले भने संसद पुनर्स्थापित भएर बन्ने नयाँ सरकारलाई विश्वासको मत नदिँदासम्म आफूहरुको संघर्षले पूर्णता नपाउने बताएकी छन् । शेरबहादुर देउवाको नाम उल्लेख नगरी झाँक्रीले पुनर्स्थापित संसदमा नयाँ बन्ने प्रधानमन्त्रीलाई विश्वासको मत दिने काम बाँकी नै रहेकाले जारी प्रक्रियाबाट पछि हट्न नहुने प्रष्ट पारेकी हुन् ।

सामाजिक सञ्जालमा लेख्दै झाँक्रीले भनेकी छन्, ‘लोकतन्त्र रक्षाको लागि संविधानलाई क्रियाशील गराउन संसदको पुनर्स्थापना एउटा अनिवार्य शर्त हो । हामीले यसको लागि एउटा प्रक्रियाको मात्र थालनी गरेका हौँ । अदालतको फैसलापछि सरकार बन्ने र विश्वासको मत प्राप्त गर्ने काम बाँकी छ । त्यसकारण कुनै पनि जालझेलमा पर्नुहुन्न । झुक्किनु हुँदैन ।’

“उमेर ढल्केको टोली आन्दोलन बचाउने भन्दा पनि अहिलेको मौजुदा पार्टी जोगाउनेतिर लागेको देखिन्छ । यसमा हामी पनि चिन्तित छौँ’,

खनाल-नेपाल पक्षीय युवासंघका सचिव लक्ष्मण घिमिरेले पनि पार्टीभित्रको विवादमा दोस्रो तहका नेताहरुले संगठन व्यवस्थापनसँग मात्र जोडेर हेर्न थालेपछि आशंका उत्पन्न भएको बताए ।

प्रधानमन्त्री ओलीसँग पार्टी एकता गरेर कम्युनिष्ट आन्दोलन सुदृढ नहुनेमा युवा पुस्ता प्रष्ट रहेको उनले बताए । मुख्य नेतृत्व र तेस्रो पुस्ता अडानमा रहँदा दोस्रो पुस्ताका केही नेता थाकेको हो कि भन्ने उनको बुझाइ छ ।

‘हाम्रो निष्कर्ष चैं अध्यक्ष ओलीबाट कम्युनिष्ट आन्दोलन अगाडि बढ्न सक्दैन भन्ने हो, उमेर ढल्केको टोली आन्दोलन बचाउने भन्दा पनि अहिलेको मौजुदा पार्टी जोगाउनेतिर लागेको देखिन्छ । यसमा हामी पनि चिन्तित छौँ’,घिमिरेले भने । बृहत कम्युनिष्ट एकताको पक्षमा आफूहरु निरन्तर लागिरहने समेत उनले प्रष्ट पारे ।

एमालेमा वरिष्ठ नेता नेपालसहित युवा पुस्ताका अधिकांश नेताहरु अध्यक्ष ओलीसँग मिल्न नसकिने निष्कर्षमा पुगेपनि दोस्रो पुस्ताका केही नेतामाथि भने संस्थापनसँग अनावश्यक नजिकिएको आरोप छ । दोस्रो पुस्ता हावी भएकै कारण खनाल-नेपाल समूह अनिर्णित हुने गरेको विश्लेषण पनि भैरहेको छ ।

‘दोस्रो पुस्ताको एउटा टोली,जो अहिले एकताको पक्षमा भनिएको छ,उनीहरुकै कारण हाम्रो विचार समूह घर न घाटको हुने अवस्था छ । हिजो उग्र कुरा गरेर माधव कमरेडलाई उचाल्नेहरु नै अहिले सबै अडान छोडेर भएपनि ओलीसँग मिल्नुपर्छ भनी अप्रत्यक्ष दबाब दिइरहेका छन् । समानान्तर कमिटी बनाउन दबाब दिने उनीहरु नै हुन् । सांसदहरुले सामूहिक राजीनामाको कुरा ल्याउने पनि उनीहरु नै हुन्’, खनाल-नेपाल समूहका एक युवा नेताले भने ।

टिप्पणीहरू