त्यहीं पनि दिनहुँ तनाव

अन्यत्रका अन्यौलता हटाइदिन्छ भन्ने विश्वास गरिएको अदालत नै अहिले अन्यौलग्रस्त अवस्थामा छ । भर्खरै चीन र कोरिया यात्राबाट फर्किएका सर्वोच्चका वरिष्ठतम् न्यायाधीश बैद्यनाथ उपाध्याय १८ गते अमेरिका जाने भएपछि उच्च अदालतमा न्यायाधीश नियुक्ति प्रक्रियाको भविष्य फेरि अन्यौलग्रस्त बन्न पुगेको हो ।

इच्छुक आवेदकका निवेदनको संख्या हजार पुगेको छ । ती निवेदन अबको तीन–चार दिनमा केलाई भ्याउन सम्भवै छैन । चार दिनमा सकौँ भन्ने प्रधानन्यायाधीश सुशीला कार्कीको मत देखिन्छ । तर, न्यायपरिषद् सदस्य रामप्रसाद सिटौला पर्याप्त छलफल गरौँ, समय लिऔँ भनिरहेका छन् । रामप्रसादलाई ढिलो–चाँडोसँग भन्दा पनि आफ्नाको चिन्ता छ ।

किनभने, पुस २६ गते बैद्यनाथ घर गएपछि भावी प्रधानन्यायाधीशको हिसाबले कांग्रेस पृष्ठभूमिका गोपालप्रसाद पराजुली उनको ठाउँमा न्यायपरिषद् सदस्य बन्छन् । त्यसपछि आफ्नो हात माथि पारौँ भन्ने सोचले काम गरेको हुनुपर्छ । वकिलबाट आठ सय जनाको दावेदारी छ । उनीहरूले ५० प्रतिशत हिस्सा मागेका छन् । तर, ८२ न्यायाधीश रोज्दा ७० र ३० को अनुपात मिलाऔँ भन्ने प्रधानन्यायाधीशको मत पाइन्छ । १० प्रतिशत कानुन मन्त्रालय र सरकारी वकिललाई छुट्याएर ३० प्रतिशत वकिललाई दिँदा २५ जनासम्म वकिल न्यायाधीश बन्न सक्लान् ।

टिप्पणीहरू