कमरेड बेदुरामको सिट कता ?

कमरेड बेदुरामको सिट कता ?

नेकपा एमालेका नेता बेदुराम भुसालले आफू राष्ट्रिय सभामा स्वतन्त्र सांसदको हैसियतमा प्रस्तुत हुन चाहेकाले सोहीबमोजिम आफ्नो स्थान तय गरिदिन अनुरोध गर्दै केही दिनअघि संसद सचिवालयमा लिखित निवेदन दिनुभयो । पार्टीभित्रको बैरागलाग्दो अवस्थालाई ध्यानमा राख्दै उहाँले आफू तत्कालीन नेकपाको तर्फबाट सांसद बनेकाले उक्त पार्टीको उपस्थिति नरहेको अवस्थामा स्वतन्त्र सांसदको हैसियत प्रदान गरी सोहीबमोजिम सिट व्यवस्थापनको लागि अनुरोध गर्नुभएको उहाँको जिकिर थियो ।

तर, हिजो दिउँसोसम्म निवेदनमाथि कुनै कारबाही नभएको संसद सचिवालय स्रोतले बताएको छ । संसदका महासचिवले त्यतिबेलै ‘मैले निर्णय गर्ने कुरो भएन हजुर,कुरा गर्छु, सल्लाह गर्छु,कानुनको राय लिन्छु’ भन्नुभएको थियो । तर हिजोसम्म कुनै निर्णय लिइएको छैन ।

बरु उल्टै भुसालले निवेदन पेश गर्ने बित्तिक्कै सचिवालयले उहाँको पत्रको व्यहोरा तत्काल सार्वजनिक गरेको थियो । त्यसरी सांसदको निवेदनको व्यहोरा सार्वजनिक भएपछि एमाले सचेतक खिमलाल भट्टराईले चासो लिँदै भुसाललाई ‘त्यसरी अलग गर्न मिल्दैन भन्छन् कमरेड’ भनेर जानकारी गराउनुभएको बताइन्छ ।

भुसालले चाहिँ सबैसँग ‘म स्वतन्त्र हुने हो, मैले जे लेखेर दिएको छु, त्यहि हो’ भन्दै खरो कुरा राख्दै आउनुभएको छ । तपाईंको सिट कता राखेको छ अहिले ? भनेर जनआस्थाले सोधेको जिज्ञासामा उहाँले भन्नुभयो ‘सिट कता राखेको छ, थाहा छैन । सोमबारको बैठकमा म उपस्थित नभएकाले थाहा हुने कुरो पनि भएन । सचिवालयले आजसम्म मलाई केही जानकारी गराएको छैन ।’

टिप्पणीहरू