ज्ञानेन्द्र त्यसपछि झन् गदगद

पटक–पटक र अनेकन बहानामा भारत गइरहने, तर जानु–आउनुबाहेक ठोस उपलब्धी हात नपार्ने पूर्वराजा ज्ञानेन्द्र यसचोटिको चीन भ्रमणबाट केही उत्साहित देखिएका छन् ।

उनलाई चिनियाँ कम्युनिष्ट पार्टीको पोलिट्ब्युरो तहका नेताले भेटेको मात्र हैन, विमानस्थलको अतिविशिष्ट कक्षमा उनीहरूले स्वागतसमेत गरे । यो यात्राको तयारीका लागि यसअघि रेन्मिन युनिभर्सिटी, बेइजिङमा प्राध्यापक रहेका डा.सुन लेचाउ अढाई महिनाअघि काठमाडौं आएका थिए । उनले उक्त भ्रमणताका ज्ञानेन्द्रबाहेक राप्रपा उपाध्यक्ष धवलसमशेर जबरा, माओवादी नेता मोहन बैद्य, देव गुरुङलाई समेत भेटेका थिए । जसरी, माओवादी शान्तिप्रक्रियामा आएलगत्तै चीनबाट प्रोफेसर वाङ होङवेईले आएर काभ्रेको कामीडाँडामा अनन्तलाई भेटी फौजी पोशाक लगाए, अहिलेका यी प्राध्यापक डा.सुनले पूर्वराजासहितका केही नेपाली नेतालाई त्यही शैलीमा भेटेका हुन् ।

त्यसभन्दा केही अगाडि ज्ञानेन्द्रका बालसखा प्रभाकरसमशेर राणा र बुहारी हिमानी शाहलाई चीनले बोलाएको थियो । सबैखाले नेपाली समुदायसँग निकट रहने चिनियाँ नीतिबमोजिम नै हुनुपर्छ, उनीहरु बोलाइएका । प्रभाकर त्यहीबेला चीनमा दुईपटक अस्वस्थ भई ढलेका थिए । त्यहाँबाट हतार–हतार उपचारार्थ लण्डन पुगे । बुझ्दा ढाडको अप्रेसन गरेको कारण त्यसको असर निस्किएको चिकित्सकले ठहर गरे । चिकित्सककै सल्लाहबमोजिम लठ्ठी टेकेर हिँड्न थालेका छन् ।

हिमानीले चिनियाँ अधिकारीसँग कुराकानी गर्दा धादिङमा भूकम्प पीडितका लागि ५० वटा घर–टहरा बनाइदिन माग गरिन् । चिनियाँले ‘पाँच हजार घटीमा हात हाल्दैनौँ’ भनेर अझ बढी सहयोगको इच्छा देखाए । चिनियाँ अधिकारीले हिमानीलाई निर्मल निवासले दक्षिणसँग सम्बन्ध सुधार्नु जरुरी रहेको सुझाव दिए । पूर्वराजपरिवारका यी सदस्यको भ्रमणसूचीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सिंगापुरमा भेट्ने उल्लेख थियो । तर, पाँच सय र हजार दरका भारु. नोटको क्राइसिसका कारण त्यो सम्भव भएन ।

अहिले चीन यात्राबाट फर्किएपछि निर्मल निवास उत्साहित छ । दक्षिणले जहिले पनि ‘पर्ख–पर्ख’ मात्र भन्ने, तर चिनियाँले हुने कुरा ‘यस’ र नहुने कुरा ‘नो’ भनिँदिँदा उत्साहित भएका हुन् ।

टिप्पणीहरू