न्यायाधीशहरु नै दङ्ग पर्ने वरिष्ठ वकिलहरुका तर्क

न्यायाधीशहरु नै दङ्ग पर्ने वरिष्ठ वकिलहरुका तर्क

वरिष्ठ अधिवक्ता बद्रिबहादुर कार्कीले राष्ट्रपतिले अधिकार क्षेत्र मिचेर प्रतिनिधिसभा भंग गरेका कारण सो निर्णय खारेज हुनुपर्ने तर्क गरेका छन् ।

उनका अनुसार,प्रधानमन्त्री केपी शर्मा ओलीले ७६(३) अनुसार सरकार बनाउन विश्वासको मत पाउन नसकेको,पद पनि नछाडेको अवस्थामा नियुक्त गर्ने राष्ट्रपतिले नै हटाउनुपर्ने थियो । प्रम ओली आफैं कामचलाउ हैसियतमा हुनुहुन्थ्यो,उहाँले दाबी गर्नै मिल्दैनथ्यो । व्यवधान खडा गर्ने उध्देश्यले दाबी गर्न पुग्नुभयो ।

राष्ट्रपतिको कार्यक्षेत्र भनेको ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त गर्ने मात्रै हो र ३० दिनभित्र विश्वासको मत लेऊ भन्ने हो । दलको ह्वीप लाग्छ वा लाग्दैन त्यो हेर्ने राष्ट्रपतिको कार्यक्षेत्रभित्र पर्दैन । राष्ट्रपतिले कार्यक्षेत्रभन्दा बाहिर गएर निर्णय गरेका कारण खारेज हुनुपर्दछ ।

“ओलीलाई १५३ जना सांसदको साथ थियो भने विश्वासको मतचाहिँ किन नलिएको ?”

उनले इजलाशमा संविधान निर्माताहरुले ७६ उपधारा (५) किन राखे ? प्रयोग कसरी गर्ने भनेर किन कोही बोल्दैनन् ? भन्दै प्रश्न उठाए ।

“संसद जोगाउन,सरकार बनाउन र स्थायित्व कायम गर्न फ्रि भोटिङको अभ्यास छ । यसलाई कुनै ऐनले रोक्न सक्दैन । “,कार्कीले यसो भन्दै महान्यायाधिवक्ता रमेश बडालले १४६ सांसदको हस्ताक्षरलाई किर्ते भनेको प्रति आपत्ति जनाए । किर्ते कागजात भनेर राष्ट्रपति कार्यालयले लिखित जवाफमा कुनै प्रतिवाद नगरेको विषयमा महान्यायाधिवक्ताले मात्रै प्रश्न उठाएको उनको जिकिर थियो ।
उनी पछि वरिष्ठ अधिवक्ता शम्भु थापा जवाफी बहसमा उत्रिएका छन् ।

थापाले कसले विश्वासको मत पाउने वा नपाउने भन्ने विषय राष्ट्रपतिको कार्यक्षेत्रभित्र नपर्ने बताएका छन् । उनले भने-यदि राष्ट्रपतिले विश्वासको मत पाउने वा नपाउने भनेर हेर्ने हो भने सांसदको काम के हो ?

१४६ सांसदको हक अपहरण गरियो,देउवाको मात्र होइन । उनले प्रधानमन्त्री ओलीले आफू संसदमा नजाने र अरुलाई पनि जान नदिने नियत राखेको बताए । सोधे-“ओलीलाई १५३ जना सांसदको साथ थियो भने विश्वासको मतचाहिँ किन नलिएको ?”
प्रधानमन्त्रीमा देउवाको मात्र दावी कानुनसम्मत रहेको तर राष्ट्रपतिले बदनियतपूर्वक देउवाको दाबी खारेज गरेको भन्दै थालाले परमादेशको माग गरे ।

थापाले पनि यसअघि जवाफी बहस पेश गरेका हरिहर दाहाल,बद्रिबहादुर कार्कीलेझैं महान्यायाधिवक्ता रमेश बडाललाई जवाफ फर्काए,किर्ते छ भने कारवाही गर्नुहोस् । यो महान्यायाधिवक्ताको क्षेत्राधिकार होइन ।

टिप्पणीहरू