सेनाले बुझायो पुलिसलाई हतियार

सेनाले बुझायो पुलिसलाई हतियार

नेपाली सेनाले नेपाल प्रहरीलाई विभिन्न ठूला हातहतियार सहयोग गरेको छ । प्रहरीको क्षमता अभिबृध्दिका लागि भन्दै सेनाले तीन सय नाल हतियार र त्यसमा लाग्ने सामाग्रीहरु सहयोग गरेको हो ।

आज जंगी अड्‍डामा आयोजित एक कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापाले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई सहयोग सामाग्रीहरु हस्तान्तरण गर्नुभएको हो ।

सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार हस्तान्तरण गरिएका हतियारहरु प्रहरीको तालिम,विशिष्ट र अति विशिष्ट व्यक्ति सुरक्षा,कार्यालय सुरक्षा तथा ठूला कार्यक्रमहरु संचालनका निमित्त प्रयोग हुनेछन् ।गत ज्येष्ठ १७ गते बसेको मन्त्रिपरिषद बैठकले उक्त प्रयोजनका लागि सेनाले कुनै पनि मूल्य नलिई विभिन्न प्रकारका राइफल र मेशिनगन गरी १० हजार ८१८ नाल र त्यसमा लाग्ने एम्युनिशन १४ लाख ९४ हजार १६ प्रहरीलाई उपलव्ध गराउने निर्णय गरेको थियो । सोही निर्णयबमोजिम पहिलो चरणमा हतियार हस्तान्तरण गरेको जंगी अड्डाले जनाएको छ ।

तीन चरणमा हतियार उपलव्ध गराउने योजनाअनुसार २०७९ साल बैशाख महिनासम्ममा सबै हस्तान्तरण गरिसक्ने सेनाको तयारी छ । साथै उपलव्ध गराईएका हतियारहरुको मर्मत तथा अप्रेशन तालिम समेत नेपाली सेनाले नै प्रदान गर्ने बताइएको छ ।

हतियार सहयोगले नेपाल प्रहरीको क्षमता अभिबृद्धि हुनुको साथै सुरक्षा निकायहरुबीचको सम्बन्धसमेत बलियो हुने विश्वास लिएको निर्देशनालयले जनाएको छ ।

कार्यक्रममा भदौ २५ देखिका सेनापति प्रभुराम शर्मा,रथीवृन्द तथा प्रहरी अतिरिक्त महानिरीक्षकहरुको समेत उपस्थिति रहेको थियो ।

टिप्पणीहरू