एमाले विवाद र एकता:कहिले उता,कहिले यता

एमाले विवाद र एकता:कहिले उता,कहिले यता

सत्तारुढ नेकपा एमालेको विवाद समाधान नहुनुमा एकले अर्को पक्षलाई दोष दिइरहेको छ । दुवैतर्फका शीर्ष नेताहरूको अभिव्यक्तिले एकताको सम्भावना कमजोर बनाएको टिप्पणी एमालेभित्रैबाट भइरहेको छ । यसअघि आ–आफ्नो समूहको उग्र समर्थक रहेकाहरू समेत शीर्ष नेताको भूमिकाकै कारण एकताको सम्भावना क्षीण हुँदै गएको बताउन थालेका छन् । विवाद समाधान नहुनुमा दुवैतर्फका गतिविधिको जिम्मेवारी बराबर रहेको उनीहरूको बुझाई छ ।

फागुन २३ को सर्वोच्चको फैसलाले एमालेलाई माओवादीसँग एकता हुनुपूर्व अर्थात् २०७५ जेठ २ को अवस्थामा पुर्याएको थियो । तर, एमाले अहिलेसम्म जेठ २ मा फर्किएको छैन । बरु फैसलाको ५ दिनपछि फागुन २८ गते अध्यक्ष केपी शर्मा ओलीले एकलौटी रुपमा संगठनसम्बन्धी महत्वपूर्ण निर्णय गरेपछि विवाद थप चर्किएको हो । त्यसयता पार्टी एकताका लागि दुवैतर्फका गतिविधि धेरथोर प्रतिकूल रहेको नेताहरू स्वीकार गर्छन् ।

“ब्याङ्क्वेटमा गरे पनि, बालुवाटारमा गरेपनि विधान मिच्नु त गलत नै हो ।”

संस्थापन भनिएको ओली पक्षले वरिष्ठ नेता माधवकुमार नेपाल खेमाले गरेका गतिविधिलाई वैधानिकता नदिँदा बालुवाटारका गतिविधिले पनि सिंगो पार्टीको प्रतिनिधित्व गर्न नसकेको यथार्थबोध गर्नुपर्ने उनीहरूको भनाई छ । बालुवाटार निकट नेताहरूले नै आन्तरिक रुपमा यस्ता प्रश्न उठाउन थालेको बताइन्छ । ‘एउटा पक्षले बानेश्वरतिरका होटल र ब्याङ्क्वेटमा कार्यक्रम गरिरहेका छन्,अर्को पक्ष बालुवाटारमा बैठक गरिरहेको छ । दुवैले अर्को पक्षको गतिविधिका कारण एकता खल्बलिएको दाबी गर्दा सानो या ठूलो गुटको अभ्यास दुबैले गरेको हो नि’, जानकार स्रोत भन्छ, ‘यसले पार्टी एकताका लागि दुवै पक्ष गम्भीर नरहेको प्रष्ट हुँदैन र ?’

“ओलीले गरेको गुटको भेला ठूलो होला,नेपालले गरेको सानो । तर दुबै गुटका भेला हुन् । दुबैतिरका गतिविधि पार्टी मिलाउने दिशामा छैनन् ।”

आ–आफ्ना गुटका गतिविधि गर्दै जाँदा केही नेता दुवै पक्षका कमिटीमा परेका छन् । नेता नेपालले जारी गर्ने गरेको १५ जना स्थायी समिति सदस्यको नामावलीमा बेदुराम भुसाल र रघु पन्तको नाम समावेश हुँदै आएको छ । भुसाल र पन्तलाई एमालेको विधानले स्थायी कमिटी सदस्यका रुपमा चिन्दैन तर नेकपा हुँदा स्थायी कमिटीमा रहेका दुवैलाई नेपाल समूहले अहिले पनि त्यहि जिम्मेवारीमा राखेको छ । उता बालुवाटारले रामबहादुर थापा बादल,विष्णु रिमाल र रघुवीर महासेठसँगै भुसाल र पन्तलाई पनि स्थायी कमिटीमा मनोनित गरेको छ । एकले अर्को पक्षको निर्णयको वैधानिकतालाई चुनौती दिँदा आफैँ पनि त्यहि अभ्यास गरिरहेका छन् ।

‘अध्यक्षलाई मैले जे गरें,ठीकै गरें भन्ने परेको होला । त्यसैले यो कुरालाई उहाँले नोटिसमा लिनुभएको छैन । जे गरिएको छ, ती सबै केपी ओलीको निजी कामको पाराले गरिएको छ । तर वास्तवमा ब्याङ्क्वेटमा गरे पनि, बालुवाटारमा गरेपनि विधान मिच्नु त गलत नै हो’, स्रोत भन्छ, ‘ओलीले गरेको गुटको भेला ठूलो होला,नेपालले गरेको सानो । तर दुबै गुटका भेला हुन् । दुबैतिरका गतिविधि पार्टी मिलाउने दिशामा छैनन् ।’

“अध्यक्षको निर्णय त हिँड्दैछ पाइला मेट्दैछ भने जस्तै भयो । उहाँ आफैँले डाङडुङ गर्नुभयो । अहिले सच्याउनलाई भ्याईनभ्याई छ । माधव नेपाललाई त के छ र जेठ २ को मागमा अडिग हुनुहुन्छ ।”

प्रधानमन्त्री ओलीलाई आफ्नो अडानमा दाँयाबाँया नगर्ने भनिए पनि पछिल्ला दिनमा उहाँ एकपछि अर्को लगातार आफ्नो निर्णयबाट ब्याक हुनुपरेको छ । अप्ठेरोमा परेपछि आफैँले बनाएको महाधिवेशन आयोजक कमिटी उहाँले नै भंग गर्नुभयो । नेपाल समूहका नेताहरूलाई पटक–पटक कारबाही गर्ने र फेरि फिर्ता लिने जस्तो कच्चा निर्णय ओलीले नै गरिरहनुभएको छ ।

विधि र विधानमा टेकेर निर्णय नगर्दाको परिणाम आफ्नै निर्णयबाट पछि हट्नुपर्ने अवस्था आइलागेको बताइन्छ । माधव नेपाल एउटै मागमा अडिग हुँदा ओली झन् झन् अप्ठेरोमा परेको र एकपछि अर्को निर्णयहरू सच्याउनुपर्ने अवस्था बनेको बालुवाटार निकट नेताहरू सुनाउँछन् । ‘अध्यक्षको निर्णय त हिँड्दैछ पाइला मेट्दैछ भने जस्तै भयो । उहाँ आफैँले डाङडुङ गर्नुभयो । अहिले सच्याउनलाई भ्याईनभ्याई छ । माधव नेपाललाई त के छ र जेठ २ को मागमा अडिग हुनुहुन्छ’,स्रोत टिप्पणी गर्छ ।

‘पिच सडकमा पालैपालो ढल,बिजुली,पानी, टेलिफोनको खाडल खनेर असारमा दोहोरो बजेट खर्च गरेझैँ उहाँलाई आफ्नै निर्णय र गतिविधि सच्याएर भ्याइनसक्नु भएको छ ।’

ओलीको निर्णयलाई सडक पिच गरेको ठाउँमा खनिएको खाडल पुरेकोसँग तुलना गर्दै स्रोत भन्छ, ‘पिच सडकमा पालैपालो ढल,बिजुली,पानी, टेलिफोनको खाडल खनेर असारमा दोहोरो बजेट खर्च गरेझैँ उहाँलाई आफ्नै निर्णय र गतिविधि सच्याएर भ्याइनसक्नु भएको छ ।’आफैँ कारबाही गर्ने,आफैँ बैठक बोलाउने,आफैँ फिर्ता लिने गरेर ओलीले आफैँले आफूलाई कमजोर प्रमाणित गर्नुभएको बताइन्छ ।

एमालेमा ओली र नेपालबाहेक सबै एकताको पक्षमा देखिएकाले दुई नेताबीच ‘गिभ एण्ड टेक’ भएमा अनौठो नहुने पनि बताउन थालिएको छ । त्यस्तो अवस्थामा पार्टी एकता बलियो,प्रभावकारी र सन्तुलित हुने भएकाले शक्ति सन्तुलन मिलाएर दुई नेता मिल्नुपर्ने धारणा दुबैतर्फका नेताहरूले राख्न थालेका छन् । गण्डकीका निवर्तमान मुख्यमन्त्रीले त सार्वजनिक रुपमै माधव नेपाललाई प्रधानमन्त्री र अध्यक्षमध्ये एक पद दिएर भए पनि एकता जोगाउनुपर्ने केही साताअघि टिप्पणी गर्नुभएको थियो ।

‘ओलीलाई दलको नेता बनाउन हतार हतार बैठक राख्नुभयो । घनश्याम भुसालहरूले आपत्ति जनाउने थाहा पाउँदा पाउँदै पनि उहाँले नै प्रस्ताव गर्नुभएको हो । राष्ट्रपतिमा विद्यादेवी भण्डारीलाई दोहोर्याउने कुरा पनि उहाँ आफैंले प्रस्ताव गरेको हो ।”

प्रचण्डको घरबेटी भनेर चर्चामा रहेका निर्माण व्यवसायी शारदाप्रसाद अधिकारीको घरमा बसेको तत्कालीन एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूको बैठकको सन्दर्भ कोट्टयाउँदै बालुवाटार स्रोत भन्छ, ‘माधव नेपालले अहिले पद माग्न मिल्ने अवस्था छैन । ओली महाधिवेशनबाट निर्वाचित अध्यक्ष हुनुहुन्छ । संसदीय दलको नेतामा त्यतिबेला आफैंले हतार–हतार ओलीलाई प्रस्ताव गर्नुभएकै हो ।’

त्यतिबेला नेता नेपालले गरेको कमजोरी भन्दै ओली निकट समूहले स्रोत भन्न थालेको छ, ‘ओलीलाई दलको नेता बनाउन हतार हतार बैठक राख्नुभयो । घनश्याम भुसालहरूले आपत्ति जनाउने थाहा पाउँदा पाउँदै पनि उहाँले नै प्रस्ताव गर्नुभएको हो । राष्ट्रपतिमा विद्यादेवी भण्डारीलाई दोहोर्याउने कुरा पनि उहाँ आफैंले प्रस्ताव गरेकाले एक व्यक्ति एक पदको कुरा उतिबेलै उहाँ आफैँले मिच्नुभएको हो । फेरि संसदीय दलमा उहाँको पनि बहुमत छैन । त्यसैले वैधानिक रुपले उहाँ अध्यक्ष या प्रधानमन्त्री बन्न सक्ने आधार छैनन् । तर उहाँहरू दुई जना मिलेर गर्नुहुन्छ भने त्यो अर्कै कुरो हो ।’

टिप्पणीहरू