विद्यार्थीले आज पनि प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला जलाए

विद्यार्थीले आज पनि प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला जलाए

अधिनायकवादी र स्वेच्छाचारी शासनविरुध्द विपक्षी राजनीतिक गठबन्धन निकट पाँच वटा संयुक्त विद्यार्थी संगठनले प्रधानमन्त्री तथा राष्ट्रपतिको पुत्ला जलाएका छन् । आज काठमाण्डौ मित्रपार्कस्थित पशुपति बहुमुखी कलेजमा नेविसंघको आयोजनामा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला दहन गरिएको हो ।

नेविसंघका महामन्त्री मनोज वैद्यको नेतृत्वमा पूर्वकेन्द्रीय सदस्य प्रेम शाही, काठमाडौ जिल्लाका कायम मुकाय अध्यक्ष जीवन श्रेष्ठ लगायतले सरकारको अधिनायकवादी र स्वेच्छाचारी शासनका विरुद्ध तथा संसद पुनर्स्थापनाको माग गर्दै मसाल जुलुस निकालेका हुन् । त्यसबखत प्रधानमन्त्री र रास्ट्रपतिको पुत्ला दहनसमेत गरिएको थियो ।त्यस्तै, काठमाडौंकै कोटेश्वर, जडिबुटीस्थित कोटेश्वर बहुमुखी क्याम्पसबाट नेविसंघ क्याम्पस इकाइका अध्यक्ष सञ्जय बुढाथोकीको नेतृत्वमा प्रतिगमन, महँगी,भ्रष्टाचार र सरकारका जनविरोधी क्रियाकलापविरुद्ध मशाल जुलुससहित बिरोध कार्यक्रम सम्पन्न भएको छ

विद्यार्थीहरूको जुलुसले कोटेश्वर बहुमुखी क्याम्पसबाट मनोहरा पुलसम्म पुगेर जडिबुटी बस बिसौनीमा कोणसभा गरेको थियो । जुलुसमा सहभागीले केपी तिम्रो पाराले दु:ख पाए साराले, राष्ट्रघाती केपी ओली मूर्दावादलगायतका नारा लगाएका थिए ।उता,पोखराको पृथ्वीनारायण क्याम्पस अगाडि पनि संयुक्त विद्यार्थी संगठनले राजनैनिक, संवैधानिक र शैक्षिक क्षेत्रमा व्याप्त प्रतिगमन र बेथितिविरुद्ध आज मसाल जुलुस निकालेको छ ।

मीनभवनस्थित नेपाल कमर्स क्याम्पस हाताभित्र पाँच विद्यार्थी संगठनले आज साँझ प्रधानमन्त्रीको पुत्ला जलाएका छन् । नेपाल विद्यार्थी संघ,अखिल (क्रान्तिकारी) लगायत पाँच विद्यार्थी संगठनहरूको संयुक्त संघर्ष समितिले सरकारको अधिनायकवादी र स्वेच्छाचारी शासन,प्रतिगमन,महँगी,भ्रष्टाचार, जनविरोधी क्रियाकलापविरुद्ध तथा संसद पुनर्स्थसपनाको माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएको हो ।

नेपाल कमर्स क्याम्पस नेविसंघ इकाइ सभापति सरोज तिमिल्सिनाको नेतृत्वमा सम्पन्न पुत्ला दहन तथा विरोध कार्यक्रममा अनेरास्ववियु केन्द्रीय सदस्य विष्णु खड्का,अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य केशरी रेग्मी,पवन कार्की,आरती लामालगायतको उपस्थिति थियो ।

त्यसबखत विद्यार्थीहरुले नाराबाजी गर्दै प्रधानमन्त्रीको पुत्ला दहनसँगै मसाल जुलुससमेत निकालेका थिए । मसाल जुलुस निकाल्ने क्रममा प्रहरीले पुत्ला र मसाल नियन्त्रणमा लिन धरपकड गरेको थियो ।

टिप्पणीहरू