कस्तो पार्टी बनाउने अब एमालेलाई

कस्तो पार्टी बनाउने अब एमालेलाई

– दिनेश रायमाझी

एमालेको मतभेद जेसुकै कारणले पनि सकियो र आन्तरिक एकता कायम भयो भने पनि अब बन्ने एमाले पुरानै भने किमार्थ रहने छैन । पुरानै एमाले रहन दिनु पनि हुँदैन । यो मक्किएको एमालेलाई झन् बलियो र नयाँ बनाउनुपर्छ । तमाम मतभेद हट्न सक्लान् तर मनभेद यति धेरै चर्को र गहिरो छ कि सजिलै हट्न सक्ने धेरै कम सम्भावना छ । र अर्को जान्नैपर्ने कुरा के हो भने यो मनभेदले पार्टी सञ्चालनमा भयंकर ठूलो समस्या खडा गर्छ । यस परिप्रेक्ष्यलाई ध्यानमा राखेर हेर्दा एमालेलाई यस्तो बनाउने भनेर बहसलाई त्यो दिशामा मोड्नुपर्छ। झन् नयाँ बन्ने एमालेमा सामेल हुन चाहनेलाई हार्दिकतासहित स्वागत तथा नचाहनेलाई पनि उस्तै हार्दिकतासहित बिदाइ गर्ने काम गर्नुपर्छ र जुन धेरै राम्रो र बुद्धिमानी हुनेछ।

कस्तो पार्टी बनाउने ?

खासमा कम्युनिष्ट पार्टीको ध्येय भनेको सबै प्रकारका समस्याबाट मुक्त र स्वतन्त्र समाज बनाउने हो। खाने, लाउने र बस्ने समस्याबाट मात्रै मुक्त नभएर सामाजिक, साँस्कृतिक र मानसिक समस्याबाट पनि मुक्त समाज बनाउने हो। यस्तो समाज सबैले आ–आफ्नो योग्यता र क्षमतामा स्वतन्त्रतापूर्वक उभ्याउन सक्ने परिस्थिति बन्यो भने मात्र बन्न सक्छ । त्यहाँ कुनै प्रकारको करकाप, डर, त्रास, बलजफ्ती र बाध्यता कसैमाथि नथोपरिने र हरेकलाई क्षमताको विकासमा समान अवसर प्रदान गर्न सक्ने वातावरण हुनुपर्छ । समाजलाई बदल्न समाजमा रहने मानिस बदलिनुपर्ने रहेछ अन्यथा त्यस्तो समाज निर्माण हुन सम्भव नहुने रहेछ ।

सबैको निम्ति स्वास्थ्य भन्छ तर अपरेशन गराउन, आइसियुमा भर्ना गराउन सोर्स लगाउनु पर्छ । गरिबको निम्ति त अस्पताल नै बनेका छैनन् देशमा। स्वास्थ्य नीति नभएको पार्टी हो एमाले ।

कम्युनिष्ट पार्टी भनेको सबै सबैको हुने तर केही पनि कसैको नहुने परिपाटी भएको समाज बनाउने पार्टी हो । यो मेरो र मेरा मान्छेको वा त्यो उसको र उसका मान्छेको भन्ने हुँदैन, सबै साझा हुन्छ भनेर मानेको हुन्छ कम्युनिष्ट पार्टीले । तर, हामी सामेल भएको कम्युनिष्ट पार्टीले यो कुरा मान्छ अथवा यस मान्यताअनुसार चलेको छ त?

एमाले कस्तो छ ?

एमाले कस्तो छ भने यो हुनुपर्ने जस्तो छैन। पुराना भनिने केहीलाई छाडेर अहिले भएका मान्छेको आधारमा हेर्ने हो भने यो दल अन्त कतै अस्तित्वमै आउन नसक्ने, बहिष्कृत बुर्जुवा पार्टीजस्तो छ। तलदेखि माथिसम्म भ्रष्टाचारको सेटिङमा चलेको छ र यसलाई नोकरशाहले भरपुर मद्दत गरिरहेका छन्। अधिकांश मानिसले, उनीहरूको पुरानो हैसियतलाई हेर्दा, अकुत सम्पत्ति जोडेका छन् ।

यसका एक जना नेता छैनन् जसले देशको मुख्य शहरहरूमध्ये कुनै एक शहरमा घर नबनाएका हुन् र उक्त घर कुन आयस्रोतबाट बनेको हो भनेर बताउन सकुन्। एमालेको सदस्य बन्न, बनेर कुनै पनि पद हत्याउन माक्र्सवादको अध्ययन, वर्ग पक्षधरता, आन्दोलनमा हिस्सा लिनु पर्दैन। एमालेमा लागेर हिँड्नु पर्दैन । कस्तो राजनीतिक, साँस्कृतिक परिवेशमा हुर्किएको हो भन्ने कुराको कुनै अर्थ छैन। अलिकति गुण्डा भेला पार्न सक्ने, पैसाको चलखेल गर्न सक्ने, हुनुपर्छ एमालेमा थपक्क स्वागत हुन्छ ।

वडा सदस्यदेखि माथिका धेरै मान्छे प्राकृतिक स्रोत साधन दोहन गर्ने व्यवसायमा छन्। यो भनेको पैसा हो र यो पैसा चुनाव जित्नलाई चाहिन्छ । यसो गर्न तिनीहरूले राजनीतिक तथा प्रशासनिक शक्तिको भरपुर दुरुपयोग गर्छन् हाक्काहाक्की। एयरपोर्ट निर्माण, जहाज खरिद, जलविद्युत् परियोजना, ठूला सडक निर्माण, मल आयात, औषधि खरिद, सरकारी जग्गा करारमा दिने काम सबैमा पार्टी र पार्टीका मानिसको संलग्नता देखिन्छ। इमानदार, देश र जनताको निम्ति भनेर निरन्तर लागेका मानिसले पार्टीभित्र सोफोकेशनको अनुभव गर्छन्।

यो पार्टीले वृद्धभत्ता वितरण गर्नुलाई नै ठूलो उपलब्धि ठान्छ। सामाजिक सुरक्षाको प्रबन्ध त संसारका खुंखार पुँजीवादी भनेर चिनिने देशले पनि गरेको पाइन्छ भनेपछि यो वृद्धभत्ता बाँड्नु कुन ठूलो कुरा भयो र? स्कुल, कलेज र युनिभर्सिटी कस्तो हुनुपर्छ भन्नेतिर चासो छैन र चिन्ता पनि । दीक्षान्त समारोहमा गएर माइ का लालको कुरा गर्ने मान्छे मन्त्री छन् । बोर्डिङ स्कुल तथा कलेजका मालिकहरूको सिधा प्रभावमा छ शिक्षा क्षेत्र । देशमा कस्तो स्वास्थ्य प्रणाली आवश्यक छ र त्यो कसरी बनाउने यसमा पनि चिन्ता र चासो दुबै छैन।

मेडिकल माफिया भनेर चिनिएका मान्छेको चंगुलमा पार्टी र मान्छेहरू छन्। जनवादी शिक्षा भनेको के हो ? कस्तो शिक्षा जनवादी शिक्षा हो ? के के गरेको खण्डमा यो लागू हुन्छ भन्ने ब्लु प्रिन्ट नै नभएको पार्टी हो एमाले। सबैको निम्ति स्वास्थ्य भन्छ तर अपरेशन गराउन, आइसियुमा भर्ना गराउन सोर्स लगाउनु पर्छ । गरिबको निम्ति त अस्पताल नै बनेका छैनन् देशमा। स्वास्थ्य नीति नभएको पार्टी हो एमाले । यस्ता फेहरिस्त छन्। कृषि, उद्योग, खानी, जलविद्युत्, टुरिज्म, सडक, फलफूल, सिँचाइ, मलखादलगायत यावत् विषयको कसरी बिकास गर्ने भन्ने लिखित दस्ताबेज नभएको पार्टी हो एमाले। आफ्नो केही नभएकाले मन्त्रालयको सचिवको टिप्पणीमा योजना स्वीकृत गर्ने फाइलमा हस्ताक्षर धस्काउन पर्ने बाध्यतामा रहेका मान्छेहरू भएको पार्टी हो एमाले । योभन्दा कति भन्ने?

सिंगो पार्टी छ, पार्टीका विभिन्न पद छन् र ती पदमा विभिन्न किसिमका मान्छे आसीन छन्। पार्टीका मान्छे सरकार र अन्य निकायमा पनि छन्। तर तिनीहरू सबै नै आमजनताभन्दा अलग्गैजस्ता छन्। सामान्यजनले, मजदुरले, किसानले तिनलाई भेट्न पाउने, आफ्नो समस्या अवगत गराउन सक्ने अवस्था छैन । जोसुकैलाई भेट्न सोर्स नै लगाउनु पर्छ। आममान्छे जसको पहुँच छैन उसले सिंहदरबार, मन्त्री आवास तथा अन्य सरकारी कार्यालयमा कतै प्रवेश गर्न सक्दैन । जनताका निम्ति राष्ट्रपति, सभामुख, प्रधानमन्त्री, मन्त्री सबै नै टाढा क्षितिजमा ठडिएको रूखजस्ता हुन् न त छहारी मिल्छ त्यसबाट न चौतारी बनाउन मिल्छ त्यहाँ ! नेता र जनताको बीचमा सिधा संवाद हुन नसक्ने परिपाटी भएको पार्टी हो एमाले । तर, हामी सबै समान हौं भन्छ। विश्वका मजदुर एक हौं पनि भन्छ। किसान र मजदुरको पार्टी हो पनि भन्छ।

तर, तिनै गरिब किसान, मजदुरसँग यिनले भेटघाट गर्दैनन् र तिनको कुरा पनि सुन्दैनन्। घरमा बिचौलिया, दफ्तरमा बिचौलिया, खाना तिनैसँग, उठबस तिनैसँग, हिँडडुल तिनैसँग, छलफल तिनैसँग, योजना तिनैका, काम तिनकै गरिदिने मान्छेले भरिएको पार्टी हो एमाले। सबै समान हौं भनेको के हो र के गर्दा समानताको व्यवहार र अनुभूति हुन्छ भन्ने चेत नभएको पार्टी हो । तर, अब यो पार्टीलाई यस्तो हुन, रहन दिनुहुन्न। यसलाई आजको चेतना, आवश्यकताअनुसार र मानवीय संवेदनायुक्त पार्टी बनाउनुपर्छ । यो पार्टीमा अब छुतअछुत जस्तो हाइ¥यार्की होइन कि जिम्मेवारीको हाइ¥यार्की मात्रै हुनुपर्छ ।

मजदुरले प्रधानमन्त्रीसँग आफ्नो कुरा राख्न सक्ने वा पार्टी अध्यक्ष वा महासचिवसँग समस्या राख्न वा पार्टी स्थापना दिवसमा हात मिलाउँदै शुभकामना दिन सक्ने हुनुपर्छ। समस्या समाधान गराउन बिचौलिया बोकेर हिँड्नु नपर्ने हुनुपर्छ । र, सबैभन्दा ठूलो कुरा पार्टीसँग वडादेखि केन्द्र सबैसँग यो यो क्षेत्रमा यो यो काम यसरी–यसरी गर्ने भन्ने स्पष्ट योजना हुनुपर्छ र त्यो लिखितमा हुनुपर्छ । यस्तो काम गर्न सक्ने जनप्रतिनिधि तयार गर्ने काम पार्टीले गर्नुपर्छ। राम भरोसामा रहेको पार्टीले गर्ने भनेको अहिले जे गरिरहेको छ त्यही नै मात्र हो ।

अन्त्यमा,
सय वटा कुरा गरे पनि कुरा एउटै हो । अब एमाले झन् नयाँ बनाउने हो र त्यो व्यवहारतः सबै सदस्य समान भएको पार्टी नै बनाउने हो ।

टिप्पणीहरू