समिट होटलको वार्ता र अलग अलग पत्र

समिट होटलको वार्ता र अलग अलग पत्र

बालुवाटारले आज बोलाएको केन्द्रीय कमिटी बैठकमा भाग लिन अस्ति बेलुकी सबै नेतालाई इमेल पठाइएबमोजिम हिजो नेकपा एमाले खनाल-नेपाल समूहको स्थायी समिति बैठकले आज आफू पक्षधर ८८ जना सामेल नहुने निर्णय गरेको छ ।

बैठकको शुरुमै सबैले आज हुने भनिएको बैठकमा जान नसकिने धारणा एकमतका साथ राख्नुभएको हो । विषयवस्तुमा छलफल केन्द्रित हुनुअघि नै नेताहरूले एकतर्फी रुपमा बोलाइएको केन्द्रीय समितिको बैठकमा सहभागिता असम्भव भन्नुभएको थियो ।सहभागी एक जना नेताले भन्नुभयो, ‘शुरुमा वार्ता कमिटीका सदस्यहरूलाई कुरा राख्नुस् भनिएको थियो । त्यसपछि अरु छलफल गरौंला भनियो । उहाँहरूले कुरा राख्ने क्रममा त्यत्तिकै दौडिएर बालुवाटारको बैठकमा हाम्फाल्न नहुने निचोड सुनाउनुभयो ।’

पटक पटकका वार्तामा जुन मार्गचित्रअनुसार सहमति गर्ने भनिएको थियो,पालना नभएकाले आफ्नो पक्ष आज बोलाइएको केन्द्रीय कमिटी बैठकमा जान नहुने उहाँहरूले धारणा राख्नुभएको बताइन्छ ।

बुधबार बालुवाटारमा महाधिवेशन आयोजक कमिटीले गरेको निर्णय र आज बोलाइएको बैठकमा जान नसकिने धारणालाई पछि स्थायी समिति बैठकले स्वीकारेको हो । त्यसक्रममा वार्ता टोलीका केही सदस्यले बालुवाटारले कपटपूर्ण ढंगले ल्याएको उक्त प्रस्तावलाई एक हदसम्म सकारात्मक रुपमा हेर्न सकिने बताउनुभएको थियो ।

उहाँहरूको निश्कर्ष थियो ‘यसबाट पार्टी एकताको सम्भावना भने रहन्छ,त्यसलाई पनि जोड गर्दै अघि बढौं ।’ बैठकमा बालुवाटारले आफ्ना कमजोरीलाई सच्याएर अघि बढ्ने हो भने आफूहरूले पनि सकारात्मक दृष्टिकोणका साथ थप पहल गर्न सकिने सदस्यहरूले धारणा राख्नुभएको थियो । त्यसपछि एउटा टोली अर्को पक्षसङ्ग कुरा गर्न पुनः समिट होटलतिर लाग्यो । बैठकको निर्णय हिजो साँझ नै औपचारिक रुपमा सार्वजनिक गर्ने गरी दुई प्याराग्राफको मस्यौदा कोरिए पनि यतिबेरसम्म लिखित जानकारी बाहिर आएको छैन ।

आजको बैठकलाई बालुवाटारले १३औं भनेको छ । बुधबार सहभागिताको लागि पठाइएको पत्रमा कसैलाई पनि पदाधिकारी उल्लेख नगरी सोलोडोलो केन्द्रीय समिति सदस्य भनेर पठाइएको थियो । नेपाल पक्षको हिजोको स्थायी समिति बैठकमा महाधिवेशनद्वारा निर्वाचित पदाधिकारी उल्लेख नगरी लेखिएको पत्रको प्रसङ्गसमेत उठेको थियो । जुन कुरो तत्काल बालुवाटार पुग्यो र लगत्तै अर्कोपक्षका पदाधिकारीको पद समेत उल्लेख गरेर एमाले केन्द्रीय कार्यालयबाट सबैलाई पुनः अर्को इमेल पठाइयो ।

हिजै बेलुकी कार्यालय सचिव शेरबहादुर तामाङले सबैजसोलाई फोन गरी ‘झुक्किएर दुई वटा चिठी गएछ है’ भन्नुभएको थियो । तर माधव नेपाल समूह उपस्थित नहुने भएपछि आज बालुवाटारमा अध्यक्ष ओली पक्षको मात्र बैठक हुने भएको छ ।

यसअघि नेपाल पक्षबाट वार्ता टोलीका सदस्यहरूले आजको केन्द्रीय समितिको बैठक स्थगित गराउँछौं भन्नुभएको थियो । तर, बैठक स्थगित भएकोवारे यतिबेरसम्म खबर गरिएको छैन । नेपाल पक्षीय एकजना स्थायी समिति सदस्य भन्नुहुन्छ ‘बालुवाटारले लतारिरहँदा वार्ता टोलीका हाम्रा सदस्यहरू पनि अप्ठेरोमा पर्दै जानुभएको छ ।’

यसैबीच हिजो अबेर प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई फोन गरेर बैठकमा उपस्थित हुन आमन्त्रण गर्नुभएको बालुवाटार निकट कमरेडहरूले बताएका छन् । नेपालपक्षीय अरु नेतालाई भने कार्यालय सचिव तामाङले फोन गर्नुभएको बुझिएको छ ।

टिप्पणीहरू