७७ वटै जिल्लामा प्रधानमन्त्रीको पुत्ला जल्यो,ठाउँ ठाउँमा प्रहरी हस्तक्षेप

७७ वटै जिल्लामा प्रधानमन्त्रीको पुत्ला जल्यो,ठाउँ ठाउँमा प्रहरी हस्तक्षेप

पेट्रोलियम पदार्थमा भइरहेको निरन्तरको मूल्यबृध्दि,बढ्दो महङ्गी र प्रतिनिधिसभा विघटनविरुद्ध आज दाङ्ग र बुटवलमा प्रधानमन्त्रीको पुत्ला जलाइएको छ ।

साँझ घोराही उपमहानगरपालिका–१५,सहिद गेटस्थित चोकमा विपक्षी राजनीतिक दलको गठबन्धनसँग निकट पाँच विद्यार्थी संगठनले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा पुत्ला जलाइएको हो । माओवादी केन्द्रनिकट अनेरास्ववियु दाङका जिल्ला अध्यक्ष जंग रोक्काको नेतृत्वमा पुत्ला दहन कार्यक्रम सम्पन्न भएको बताइएको छ ।प्रदर्शनकारीहरुले केपी ओली मूर्दावाद,प्रहरी दमन बन्द गर, प्रतिगमनकारी सरकार मूर्दावादलगायत सरकारबिरोधी नारा लगाउँदै प्रधानमन्त्रीको पुत्ला दहन गरेका हुन् ।

उता बुटवलमा पनि साँझ प्रधानमन्त्रीको पुत्ला जलाइएको छ । बुटवल उपमहानगरपालिका–३, विद्युत चोकस्थित नेपाल विद्यार्थी संघको आयोजनामा संघका केन्द्रीय उपाध्यक्ष मुक्ति पौडेलको नेतृत्वमा बिरोध कार्यक्रम आयोजना गरिएको थियो ।

उता पौने ७ बजेसम्म खाेटाङ दिक्तेल रुपाकाेट मझुवागढी नपा -१ रत्नपार्कमा ५ विद्यार्थी संगठनले विरोध कार्यक्रम गरेका छन् । नेपाल विध्यार्थी सँघका जिल्ला सभापति राजकुमार बस्नेतकाे नेतृत्वमा बिद्यार्थीहरुले संसद पुर्नस्थापनाको मागसहित प्रधानमन्त्रीको फोटो जलाउन खोज्दा प्रहरीले फोटो खोसी भीड तितरबितर पारेको छ ।यसरी नै पौने छ बजेबाट देशका ७७ वटै जिल्लामा प्रधानमन्त्रीको पुत्ला दहनसहित बिरोध कार्यक्रम गर्ने योजनाअनुरुप धरानमा नेवि संघका जिल्ला सदस्य मन्दिप भट्टराई,नेकपा एमाले माधव नेपाल निकट अनेरास्ववियुका जिल्ला अध्यक्ष आशिष प्रधान,नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष बुदरोज लिम्बू र जसपा निकट समाजवादी बिध्यार्थी संघका केन्द्रीय सदस्य सागर चेम्जोङलगायतले महेन्द्र बहुमुखी क्याम्पसअगाडि भेला भएर विभिन्न नारासहित भानुचोक पुगी प्रधानमन्त्रीको पुत्ला दहन गर्न खोज्दा प्रहरी हस्तक्षेप भएको छ।

उदयपुर:सदरमुकाम गाईघाटमा पाँच विद्यार्थी संगठनले प्रधानमन्त्री केपी ओलीको राँके जुलुससँगै पुत्ला दहन गरेका छन् । यहाँ विप्लव समूह पनि मिसिएको थियो ।

नेविसंघ उदयपुर काठमाण्डौ सम्पर्क समितिका अध्यक्ष नविन कटुवाल, अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष विमल कार्की,अनेरास्ववियुका नेताहरु प्रवेश ठकुरी,सुरेश गुप्ताले विरोध प्रदर्शनको नेतृत्व गरेका थिए ।

टिप्पणीहरू