व्यक्तिले मन पराएर दिने, राज्यले कस्ने ?

व्यक्तिले मन पराएर दिने, राज्यले कस्ने ?

–दीपेन्द्र पौडेल, प्राचार्य, एसपिएम कलेज गैँडाकोट

नवलपुरको गैँडाकोटमा रहेको सूर्यभक्त पतनादेवी मेमोरियल कलेज (एसपिएम कलेज) पत्रकारिता विषय पढाई हुने जिल्लाकै पहिलो कलेज हो । समाजसेवी स्वर्गीय सूर्यभक्त अधिकारी र उहाँकी धर्मपत्नी पतनादेवी अधिकारीको स्मृतिमा परिवारका सदस्यले जग्गा तथा भवन र अन्य सहयोग दान गरी वि.सं. २०६३ सालमा स्थापना भएको हो । केही वर्षअघि विद्यार्थी भेटाउनै मुस्किल हुने यो कलेजमा अहिले शैक्षिक र भौतिक सुधारसँगै लोकप्रियता बढ्दो छ । ५ वर्षअघि कलेज प्रशासनले कार्यकारी नेतृत्व तत्कालीन सहायक प्राचार्य दीपेन्द्र पौडेललाई हस्तान्तरण गरी तीन वर्षअघि प्राचार्यमा नियुक्त गरेको थियो । पौडेलले नेतृत्व लिएपछि कलेजले कसरी रूप फेर्‍यो ? उनै प्राचार्य दीपेन्द्र पौडेलसँग गरिएको कुराकानीको सम्पादित अंशः

कलेजको नेतृत्व लिँदै गर्दा अवस्था कस्तो थियो ?

जिम्मेवारी लिँदै गर्दा खुसीभन्दा पनि बढी त्रास थियो । कक्षा ११ देखि स्नातक तह चौथो वर्षसम्म पढाई हुन्थ्यो तर विद्यार्थी अत्यन्त न्युन थिए, ति पनि नियमित थिएनन् । आन्तरिक परीक्षाहरू कुनैपनि सञ्चालन हुँदैनथे । कलेजको भौतिक अवस्था पनि नाजुक थियो । कलेजका विषयमा हुने नकारात्मक टिप्पणीले झस्काउँथ्यो । तर पनि क्याम्पसका सञ्चालक, सल्लाहकार, प्राध्यापकज्यूहरु, कर्मचारी शुभेच्छुक साथीलगायतमा एकखालको आशा थियो ।

तपाईं यसअघि पनि तनहुँको कालिका बहुमुखी क्याम्पसको नेतृत्वमा हुनुहुन्थ्यो । यो कलेजको अवस्था सुधार गर्न कसरी सम्भव भयो ?

हो, म यसअघि ७ वर्ष कालिका बहुमुखी क्याम्पस तनहुँमा प्रमुख भएर काम गरेँ । त्यहाँबाट मैले विद्यार्थी र अभिभावकलाई अपनत्व महशुस गराउन र क्याम्पस सञ्चालन कसरी गर्न सकिन्छ ? कसरी एउटा कुशल प्रशासक हुन सकिन्छ ? भन्ने अनुभव हासिसल गरेको थिएँ । समाजसँग क्याम्पसलाई जोड्ने र विद्यार्थी परिचालन गर्ने ज्ञान थियो । त्यसकै आधारमा म एसपिएमको नेतृत्व लिन तयार भएँ । यो कोभिडको महामारी सुरु हुनुभन्दा अगाडिसम्म कलेजमा साढे ४ सय विद्यार्थी थिए । अहिले नयाँ शैक्षिक सत्रमा थपिएर ५ सय नाघेको अवस्था छ । हामीले कम्तिमा क्याम्पसप्रति स्थानीय बासिन्दाको आसा जगाउने काम गर्‍यौँ । सबै परिवर्तन दीपेन्द्र पौडेल आएकै कारण भएको भन्ने होइन, क्याम्पसका संस्थापक प्राचार्य गोविन्द विनोदी सर, संस्थापक प्राध्यापकहरु, पूर्व सहायक क्याम्पस प्रमुखहरु, पूर्व विभागीय प्रमुखहरु, कार्यरत प्राध्यापक तथा कर्मचारीहरुका कारण क्याम्पस आजसम्म यो अवस्थामा रहन सक्यो, क्याम्पसका संरक्षकज्यूहरू, सञ्चालकज्यूहरू लगायतको टिमवर्क भनौँ न । सामुहिक प्रयास र हाम्रो एकता नै सबैभन्दा ठुलो शक्ति बन्यो यो ५ वर्षको अन्तरालमा । न्युन विद्यार्थी संख्या र क्याम्पसको अवस्था हामीले नेतृत्व लिँदै गर्दाको समस्या थियो । हामीले पहिलो प्राथमिकता विद्यार्थी थप्ने भन्दा पनि जो जति अभिभावक र स्थानीय निराश हुुनुहुन्थ्यो उहाँहरूलाई क्याम्पसप्रति आशावादी गराउने, अपनत्व महशुुस हुने क्रियाकलाप र सहभागितालाई जोड दियौँ । त्यतिबेला र अहिले अध्यापन गर्ने प्राध्यापकहरूको संख्या उही छ । हामी ४७ जना छौँ । त्यतिबेला यही संख्याले पढाउने विद्यार्थी संख्या र अहिलेको विद्यार्थी संख्यामा ठुलो अन्तर छ । अहिले ५०० जना विद्यार्थी नियमित अध्यापन गराइरहेको अवस्था हो । यो विषयमा क्याम्पस प्रशासनसँगै स्थानीय समुदायले हामीलाई राम्रो साथ दिनुभयो ।

यो कलेज कुनै एउटा पार्टीविशेष वा कुनै झुण्डले मात्रै चलाएको होइन । यो पब्लिक संस्था हो । पब्लिक भनेपछि सबैको उत्तिकै चासो, दायित्व, अधिकार र सरोकारको संस्था हो । क्याम्पस कुनै पनि राजनीतिक दलको अखडा होइन, अखडा बन्नु पनि हुँदैन ।

त्यतिबेला व्ययभार बढी, आम्दानी कमको अवस्था रहेछ । अहिले कसरी व्यवस्थापन गरिरहनुभएको छ ? स्थानीय सरकारको सहयोग कस्तो छ ?

विद्यार्थी संख्याको आधारमा विश्वविद्यालय अनुदान आयोगबाट वार्षिक सहयोग आउने गरेको छ । पछिल्ला वर्षमा ८ देखि १० लाख पाउने गरेका छौँ । निर्माणतर्फ क्याम्पसको अवस्था सुधार र स्तरोन्नतिका लागि प्रदेश सरकारले अहिले २५ लाख रुपैयाँ उपलब्ध गराएको छ । हाम्रो आफ्नै वडा जहाँ क्याम्पस सञ्चालन छ, गैँडाकोट–२ बाट यसवर्ष २ लाख बजेट प्राप्त भएको छ । केन्द्र सरकारले पनि केही सहयोग गरेको छ । स्थानीय सरकारको सहयोग नभएको होइन, तर छ भनेर खुसी हुने अवस्था छैन । हामीले जुन अपेक्षा गरेका थियो त्यो पाएनौँ । भौतिक सामग्रीहरू, फर्निचरहरू, नगरपालिकाले सहयोग गरेको छ । नगरप्रमुखले अनुगमन गर्ने, हाम्रा माग सुन्ने गर्नुभाछ, सहयोगको वचन दिनुभाछ । हामीले चारवर्षदेखि नै स्ट्यान्डर्ड बेन्चको लागि अनुरोध गरेका छौँ ।

तपाईं आएपछि पनि क्याम्पस राजनीतिक आरोपबाट मुक्त हुन सकेन । एसपिएम कलेज भनेको काँग्रेसको कलेज हो, यहाँ नियुक्त हुने प्रध्यापक, कर्मचारी काँग्रेसनिकट हुन्छन् । कार्यक्रम भयो भने काँग्रेसकै नेता सांसद बोलाइन्छन् भन्ने । किन यस्तो ?

पहिलो कुरा त सुर्यभक्त पतनादेवी मेमोरियल कलेज हो, कुनै पार्टी होइन । म त्यहीँको कार्यकर्ता हो कुनै पार्टीको होइन । म कतै आबद्ध पनि छैन । म आबद्ध नभएको कुरामा मलाई कुनै चासो पनि छैन । हो हिजोका दिनमा प्रत्यक्ष रुपमा क्याम्पसमा नै राजनीतिक प्रभाव नदेखिएपनि त्यो आरोपबाट क्याम्पस अछुतो भने थिएन । कलेजका प्राध्यापक जुनसुकै पार्टीमा आस्था राख्ने पनि हुन सक्छन् । विद्यार्थीको आफ्नो आस्था होला । हाम्रो एकमात्र उद्देश्य भनेको कलेजलाई राम्रो बनाउने, किनभने एउटा व्यक्ति बन्दा एकजना व्यक्तिलाई मात्र लाभ हुन्छ भने एउटा संस्था बन्दा लाखौँलाई राम्रो हुन्छ । मैले नकारात्मक आलोचनालाई पैतालामुनी कुल्चने र सकारात्मक सुझाव टिप्पणीलाई ग्रहण गर्दै सुधारको बाटोमा छु । यसमा कुनै पार्टी देखिन्छ जस्तो मलाई लाग्दैन ।

शुल्क नलिएर नपढाउनु, कक्षा रित्तै हुनुभन्दा लिनु उचित ठानेका छौँ । प्राध्यापकले दिल खुसी बनाएर पढाउनु र अमिलो मन गराएर पढाउनुमा फरक छ ।

तपाईंले यसो भन्दै गर्दा नेपाली काँग्रेसका राजनीतिक कार्यक्रमका लागि कलेज परिसर उपयोग हुने, यहाँका प्राध्यापक र विद्यार्थीहरूलाई प्रयोग गरिने, कलेजका कार्यक्रममा अतिथि पनि काँग्रेसलाई नै बढी प्राथमिकता दिएको पाइन्छ । यस्तो चाहिँ किन ?

हाम्रा कार्यक्रमहरुमा प्रमुख अतिथि र अतिथिहरुलाई आमन्त्रण गर्दा सार्वजनिक पदधारण गरेका व्यक्तिहरुलाई मात्र आमन्त्रण गरेका छौँ कुनै पार्टी विशेषलाई हेरेका छैनौँ । नेपाली काँग्रेसको पार्टीगत कार्यक्रम यो कलेजमा अहिले भएको छैन । यो कलेज कुनै एउटा पार्टीविशेष वा कुनै झुण्डले मात्रै चलाएको होइन । यो पब्लिक संस्था हो । पब्लिक भनेपछि सबैको उत्तिकै चासो, दायित्व, अधिकार र सरोकारको संस्था हो । क्याम्पस कुनै पनि राजनीतिक दलको अखडा होइन, अखडा बन्नु पनि हुँदैन । यदि कसैले क्याम्पसलाई राजनीतिक पूर्वाग्रहका रूपमा प्रयोग गर्छ वा राजनीतिक पूर्वाग्रहका रूपमा हेरिन्छ भने त्यहाँ नेतृत्व असफल छ र त्यो गलत हो ।

तपाईं नेतृत्वमा आएपछि लाग्ने गरेको अर्को आरोप हो, कलेजमा शुल्कवृद्धि भयो, विलम्ब शुल्क लिन थालियो । अनि पब्लिक कलेजले निजीले झैँ शुल्क किन असुलेको ?

हो, म नेतृत्वमा आइसकेपछि हामीले योजना बनाएर नै केही कठोर बनेकै हो । शुल्कका विषयमा पनि बरु अलिकति बढी लिने, तर राम्रो पढाउने, प्राध्यापकहरूलाई नियमित पारिश्रमिक दिने र कलेजको आन्तरिक सुधारका लागि पनि कम गर्ने भन्ने हेतुले शुल्क केही बढाइएको हो । निजीले जस्तो असुल गरिएको होइन । शुल्क नलिएर नपठाउनु, कक्षा रित्तै हुनुभन्दा लिनु उचित ठानेका छौँ । प्राध्यापकले दिल खुसी बनाएर पढाउनु र अमिलो मन गराएर पढाउनुमा फरक छ । यसो भन्दैगर्दा कोही विद्यार्थी शुल्क तिर्न नसकेकै कारण पठनपाठनबाट बन्चित हुनुहुँदैन भनेर छात्रवृत्ति पनि दिने गरेका छौँ । त्यो कसैले टेबल ठोकेरै पाउने कसैले सबै यथार्थ बताएर रोइकराई गर्दा पनि नपाउने स्थिति यस कलेजमा छैन । एउटा कुरा प्रष्ट पार्न चाहन्छु । यहाँ गैँडाकोट वा चितवनका विद्यार्थीमात्र छैनन् । सुदूर पश्चिमदेखि सुदूरपूर्वका विद्यार्थी पनि छन् । यो चारवर्षमा हामीले केही यस्तै टाढाका विद्यार्थीलाई कलेज नजिकै बस्नेसमेत व्यवस्था मिलाएर छात्रवृत्तिमा पढ्ने वातावरण बनाएका छौँ । त्यस्ता विद्यार्थीले कलेजप्रतिको जिम्मेवारी र दायित्वसमेत निर्वाह गरेका छन् । राम्रो पढेका पनि छन् ।

कलेज छोडेका प्राध्यापकहरूले पुरानो बक्यौता पाएका छैनन् भन्ने आरोप छ नि ?

हो, यहाँ केही समयअगाडिदेखि नै प्राध्यापकहरूको पारिश्रमिक बक्यौता थियो । तर हामीले बरु न्युन होस् तर नियमित तलब निकासा गर्ने गरेका छौँ । हिजोका दिनमा विभिन्न कारणले पारिश्रमिक रोकिएका प्राध्यापकहरुको बक्यौता निकासा हुन्छ । त्यसविषयमा केही छलफल बाँकी छन् । यही मितिमा भनेर समय तोक्न सक्दिनँ तर निकट समयमा नै उहाँहरूलाई श्रमको मुल्य दिनेछौँ ।

विद्यार्थी तान्नकै लागि कलेजले घरदैलो कार्यक्रम गर्छ, स्कुलहरूमै पुग्छ, किन ?

अहिले यो अवस्था छैन । म आएको सुरुका वर्षमा त्यसो गरेकै हो । किनभने, यो कलेजमा पढाई हुन्न, पढाई राम्रो छैन, प्राध्यापकहरू छैनन्, कलेजमा सुविधा छैन भन्ने नकारात्मक धारणा विकसित भएको अवस्था थियो । हामीले हात जोडेरै अभिभावक र स्कुल स्कुलमा पुगेकै हो । यसमा पहिलाको कलेज टिम, संस्थापक प्राचार्यको साथ, सल्लाह, कलेज सञ्चालकको साथ र सहयोग, प्राध्यापहरु र अध्ययनरत विद्यार्थी मिलेर हामी फेरि एकपटक अभिभावकका माझमा पुगेकै हो, एकपटक परीक्षण गर्नुस् हामीलाई भनेर । त्यसपछि विद्यार्थी संख्या बढ्दै गयो, विद्यार्थी नियमित हुनासाथ पठनपाठन नियमित भयो र नतिजामा सुधार आयो । कलेजलाई विद्यार्थी र अभिभावकले आफ्नो ठान्ने वातावरण बनायौँ । अब प्रचारको आवश्यकता छैन । कसैसँग विन्ति गर्नुपर्ने अवस्था छैन । किनभने यहाँबाट उत्पादित विद्यार्थीहरू नै मुख्य प्रचारक हुन्, अभिभावकहरू हुन् ।

हिजो यही समाजले यो कलेज स्थापना गर्‍यो र शिक्षाको ज्योति जगायो । यसलाई हामीले स्थायित्व दिन खोजेका छौँ । विद्यार्थी पढाउनेमात्र होइन, पढिसकेपछि त्यो जनशक्तिलाई रोजीरोटीका लागि पनि हामी आफैँले एउटा प्रयास थालेका छौँ ।

नारायणी नदी किनारामै रहेको यस कलेज वरिपरिको क्षेत्र लागुपदार्थ सेवनकर्ताहरूको अखडा बनेको भनेर पटक पटक समाचारहरूमा नै आउने गर्छ नि ?

विगतमा कलेज वरपरको बाटो कच्ची, झाडीयुक्त, नदिछेउ र कलेजमा पनि विद्यार्थीहरूको चहलपहल नहुने, दिउँसो लगभग सुनसान हुने गर्दा केही अवान्छित गतिविधिहरू भए होलान् । नजिक भएको कारण कलेज क्षेत्र भनेर समाचार आएकै हो । तर कलेज परिसरभित्र त्यसखालको गतिविधि विगतमा पनि भएको थिएन, अहिले पनि भएको छैन । जहाँसम्म वरपरको कुरा छ । अहिले बाटो विस्तार भएको, कालोपत्रे गरिएको छ । झाडी हटेको छ, बस्ती बाक्लो बनेको छ । र कलेजमा नियमित विभिन्न गतिविधिहरू भइरहने हुँदा त्यसखालका अवान्छित गतिविधि हुन पाएको छैन । अर्को कुरा स्थानीय प्रशासनले पनि विशेष ध्यान दिएको महशुस हामीले गरेका छौँ ।

आफ्नो ५ वर्षे कार्यकाल मुल्यांकन गर्दा यो कलेज के कारण हिजो सफल हुन नसकेको र आज सफल हुन सकेको रहेछ ?

हामी अझै पनि परीक्षणकै क्रममा छौँ । किनभने कलेजमा नियमित विद्यार्थी हुनु र भौतिक सुधार हुनुमात्रै सफलता होइन, हामीले कलेजलाई स्तरीय बनाउन र दीगोपना ल्याउन पनि काम गरिरहेकै छौँ । कलेजमा हिजो जे जस्तो थियो, कमीकमजोरी वा के कारणले, किन भन्नेतर्फ हामी लागेनौँ । हामीले हिजोका सबल पक्षलाई आत्मसाथ गरेर भविष्यको रेखा कोरेका छौँ । जसरी हिजो यही समाजले यो कलेज स्थापना गर्‍यो र शिक्षाको ज्योति जगायो । यसलाई हामीले स्थायित्व दिन खोजेका छौँ । विद्यार्थी पढाउनेमात्र होइन, पढिसकेपछि त्यो जनशक्तिलाई रोजीरोटीका लागि पनि हामी आफैँले एउटा प्रयास थालेका छौँ । शिक्षा संकायमा स्नातक अध्ययन गर्ने विद्यार्थीका लागि बिहानको कक्षापछि दिउँसो काम अर्थात जागीरका लागि केही विद्यालयसँग समन्वय गर्‍यौँ । त्यहीअनुसार विद्यार्थी खपत गराएका छौँ । यही आर्थिक वर्षमा २७ जना विद्यार्थीलाई निःशुल्क मन्टेश्वरीको तालिम उपलब्ध गरायौँ । यसले अरु विद्यार्थीलाई आकर्षित गरेको छ । पढाई मात्र होइन, पढाईसँगै जागीर वा अन्य अवसर पनि ।

व्यवस्थापन संकायका विद्यार्थीका लागि ट्याली, एक्सल र स्वस्तिकको तालिम निःशुल्क उपलब्ध गराउने गरेका छौँ । नियमित पठनपाठन एकातिर थप व्यवहारिक तालिम अर्कोतिर यसले विद्यार्थीलाई जागीरका लागि सहज बनाएको छ । अर्को मानविकी संकायमा पत्रकारिता र समाजशास्त्र पढाई हुन्छ । पत्रकारिता पढाउन पत्रकार प्राध्यापकहरूलाई नै नियुक्ति दिएका छौँ । र यहाँ अध्ययनरत विद्यार्थीले गैँडाकोट र भरतपुरमा रहेका सञ्चारमाध्यममा काम गर्न पाउने गरी वातावरण बनाएका छौँ । हामी कलेजबाटै द्धैमासिक वा मासिक पत्रिका प्रकाशनको तयारीमा पनि छौँ । त्यसका लागि सम्पादक मण्डल बनिसकेको छ । उद्घोषण तालिम, आधारभूत पत्रकारिता तालिम, कम्प्युटर तालिम, नृत्य तालिम कलेजमा नै र निःशुल्क प्रदान गर्छौं । एसईई दिएर बसेका करिब ४ सय विद्यार्थीलाई निःशुल्क नृत्य, अँग्रेजी भाषा र कम्प्युटर तालिम दियौँ ।

यस्ता तालिमहरू विद्यार्थीका लागि मात्र होइन, यो कलेज वरपरका स्थानीय महिलाहरूलाई पनि दियौँ, जसले महिलाहरूलाई कलेजप्रति अपनत्व बढाउने, कलेजलाई अन्य सहयोग गर्न उनीहरू लालायित हुने गर्दारहेछन् । हामीले गैँडाकोट वडा नम्बर १ देखि १६ सम्मका महिलाहरूका लागि निःशुल्क गार्मेन्ट तालिम दियौँ । यस्तै उद्घोषण वा वाक्कला तालिम दियौँ । नगरपालिकासँग समन्वय गरेर कलेजबाट प्रशिक्षक पठाएर पनि तालिम दियौँ ।

यसबाहेक कलेजमा अन्तर मा.वि. स्तरीय विभिन्न प्रतियोगिताहरू, जिल्लास्तरीय प्रतियोगिताहरू अन्तरकलेज प्रतियोगिताहरू नियमित हुँदै आइरहेका छन् । यसले पनि कलेजको बारेमा चर्चा बढाउँछ, हामीलाई जिम्मेवार बनाउँछ र शैक्षिक गुणस्तर वृद्धि गर्नैपर्ने एकखालको वातावरण सिर्जना गर्छ । गरेको छ ।

कोही व्यक्तिले सामुदायिक संस्थालाई, नेपाल सरकारलाई आफ्नो सम्पति हस्तान्तरण गरेको छ, त्यतिखेर कहाँनेर लाभ भयो ? के यो कलेज नाफामुलक हो ? यो निजी व्यवसायिक कलेज हो ? लाभकरको कुरा कसरी उठ्यो ?

यो कलेज जिल्लामै एकमात्र पत्रकारिता पढाई हुने कलेज हो, त्यसमा विद्यार्थीको आकर्षण कस्तो छ ?

हो, यो जिल्लाकै पहिलो कलेज हो, जहाँ पत्रकारिता पढाई हुन्छ । हामीले मानविकी संकायमा पत्रकारिता विषय अध्यापन गराउन थालेपछि विद्यार्थी संख्या बढेको पनि छ । नवलपुर र चितवनका लागि गैँडाकोटको एसपिएम कलेज पत्रकारिता अध्ययन गर्ने विद्यार्थीको रोजाईमै छ ।

अन्त्यमा, क्याम्पसका अबका चुनौति के–के छन् ?

हामी आन्तरिक चुनौती समस्या त समाधान गर्दै गरौँला । तर हामीलाई केन्द्र सरकारबाटै सहयोग चाहिएको छ । म यसै अन्तर्वार्तामार्फत् नेपाल सरकार, शिक्षा मन्त्रालय र त्रिभुवन विश्वविद्यालयको पनि ध्यानाकर्षण गराउन चाहन्छु । यो कलेज आदरणीय सुर्यभक्त अधिकारीका सन्ततीहरूले एक विगाहा जग्गा, १४ कोठे भवन र अन्य विभिन्न सहयोगबाट बनेको हो । त्यो जग्गा उहाँहरूले नामसारी गरेर क्याम्पसको नाममा दिइसक्नुभयो, त्यसको त्रिभुवन विश्वविद्यालयबाट पासखर्च नलाग्ने भन्ने पत्र लिएर पनि आयौँ । तर त्यो जग्गा पास गर्न हामीलाई २६ लाख रुपैयाँ लाभकर लाग्ने भयो । मेरो प्रश्न छ, कोही व्यक्तिले सामुदायिक संस्थालाई, नेपाल सरकारलाई आफ्नो सम्पति हस्तान्तरण गरेको छ, त्यतिखेर कहाँनेर लाभ भयो ? के यो कलेज नाफामुलक हो ? यो निजी व्यवसायिक कलेज हो ? लाभकरको कुरा कसरी उठ्यो ? मैले यो कुरा पब्लिक क्याम्पस संघ, विश्वविद्यालय अनुदान आयोग आदिमा उठाएको छु । तर यत्रो लाभकर कसरी तिरेर त्यो जग्गा क्याम्पसको नाममा ल्याउनु ? त्यो बजेटले हामी शैक्षिक गुणस्तर वृद्धि गर्न कति इक्युपमेन्ट थप गर्न सक्छौँ ? दाताले दिएको छ, कित्ताकाट गरिसकेको छ तर पास हुँदैन । अब पाएको जग्गा पास गर्न पनि फेरि दाता खोज्नु ? यो सबैभन्दा ठूलो चुनौती छ । यो पार लागोस् कलेजले राम्रो फड्को मार्नेछ गति लिनेछ । स्थानीयको हो, पब्लिक हो, तपाईंहरू चलाउँदै जानुस् भनेर सम्बन्धन दिने, अनि स्थानीयले दिएका कुरामा यसरी लगाम लगाउने हो भने कलेज बन्द गर्न भनेको हो कि चलाउन भनेको हो ? त्यसकारण मेरो विनम्र अनुरोध छ कि, एउटा सामुदायिक कलेजले निबार्ध शैक्षिक कार्यक्रम सञ्चालन गर्न पाउनुपर्छ । पब्लिक कलेजको महत्व र यसको क्षेत्र अझ बढ्दैछ । यस्तोमा हामीलाई कलेज सञ्चालनका लागि सो जग्गापासको लागि लाभकर नलाग्ने बनाइयोस् ।

टिप्पणीहरू