आज सर्वोच्चमा बहसमा क-कसको पालो ?

आज सर्वोच्चमा बहसमा क-कसको पालो ?

संसद बिघटनविरुद्ध परेको मुद्धामा आज सर्वाेच्चको संवैधानिक इजलाशमा सरकारी वकिलहरुले बहस गर्नेछन् । हिजो महान्यायाधिवक्ता रमेश बडालले साढे तीन घण्टा बहस गर्नुभएको थियो । अब बाँकी १० जना सरकारी वकिलले बहस गर्ने तयारी छ । प्रतिनिधि सभा बिघटनको मुध्दामा बहस गर्ने सरकारी वकिलहरुलाई ४ घण्टा २० मीनेट समय दिइएको छ । आज पद्म पाण्डेय,विश्वराज कोइराला,टेकबहादुर घिमिरे,श्यामकुमार घिमिरेसहित ४ नायव महान्यायधिवक्ताले बहस गर्नेछन् ।

यस्तै,५ सहमहान्यायाधिवक्ता र १ जना उपन्यायाधिवक्ताले समय लिनेछन् । कार्यसूचीअनुसार,नायब महान्यायधिवक्ता पद्म पाण्डेयले २ घण्टा बहस गर्नेछन् । उनको बहस राष्ट्रपतिले दुबैको दाबी अस्वीकार गर्न मिल्ने नमिल्ने सम्बन्धमा नेपालको संविधानमा भएका व्यवस्थाको विश्लेषण,धारा ७६ को सरकार गठनमा ह्विप लाग्ने नलाग्ने,फ्लोर क्रससम्बन्धी अन्य देशको व्यवस्थामा केन्द्रित रहने छ ।

यसपछि २० मीनेट बहस गर्नेछन्, विश्वराज कोइरालाले राजनीतिक प्रश्न र न्याय निरुपणयोग्य मापदण्डमा केन्द्रित रहेर । बहसका लागि २० मीनेट मात्र समय पाएका अर्काे नायब महान्यायाधिवक्ता टेकबहादुर घिमिरेले धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठनमा राजनीतिक दलको भूमिका र भएको अभ्यासको विश्लेषण गर्नेछन् ।

यस्तै संविधानले आत्मसात गरेको मूल्यको दृष्टिले प्रस्तुत विवादको सान्दर्भिकता बिषयमा केन्द्रित रहेर अर्काे नायब महान्यायाधिवक्ता श्यामकुमार भट्टराईले जम्मा १० मीनेट बहस गर्नेछन् ।

यसपछि सहमहान्यायाधिवक्ताहरु गोपाल रिजाल,सञ्जीव रेग्मी,लोकराज पराजुली,खेमराज ज्ञवाली,उद्धव पुडासैनी र उपमहान्यायधिवक्ता दशरथ पंगेनीले बहस गर्नेछन् । सरकारी वकिलहरुको बहस सक्किएपछि प्रधानमन्त्री ओली पक्षधर निजी कानुन व्यवसायीले बहस गर्न पालो पाउनेछन् ।

टिप्पणीहरू