निषेधाज्ञाबारे उपत्यकाका सबै सिडिओ अनिर्णित

निषेधाज्ञाबारे उपत्यकाका सबै सिडिओ अनिर्णित

आज मध्यरातबाट सकिने निषेधाज्ञा अगावै आवश्यक निर्णय गर्न हिजो अपरान्ह बसेको काठमाडौं,भक्तपुर र ललितपुरका सिडिओहरुको बैठक अनिर्णित हुँदै आज बिहानलाई सरे पनि यतिबेरसम्म बैठक बस्न सकेको छैन । सार्वजनिक यातायात सञ्चालन गर्नुपर्ने भन्दै व्यवसायीहरुले चौतर्फी दबाब दिएपछि जिल्ला प्रशासन कार्यालयले निर्णय गर्न नसकेको हो ।

अन्य क्षेत्रझैँ होटल र रेष्टुरेण्ट व्यवसायीहरुले पनि व्यवसाय सञ्चालनको माग गरेका छन् । तर, कोरोना महामारीको जोखिम नघटेको अवस्थालाई मध्यनजर गर्दै उपत्यकाका तीन वटै जिल्ला प्रशासनले व्यवसायीहरुको माग सम्बोधन गर्न नसक्ने र निषेधाज्ञालाई अहिलेको अवस्थामा लम्ब्याउन पनि नसक्ने भएपछि हिजोको बैठक अनिर्णित भएको बताइन्छ ।

‘सार्वजनिक यातायात खोल्ने वा नखोल्ने,होटेल रेष्टुरेन्ट कसरी सञ्चालनमा ल्याउने भन्ने विषयमा गृहकार्य हुन नसक्दा हिजोको बैठक स्थगित भएको’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले बताउनुभएको छ । हिजोको बैठक अनिर्णित भएपछि आज बिहान १० बजे बैठक बोलाइएको थियो । तर, प्रजिअ पराजुलीले आजको बैठकको समयबारे आफू अनभिज्ञ रहेको बताउनुभएको छ ।

हिजो ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले गृहकार्य नसकिएकाले निषेधाज्ञाबारे थप निर्णय गर्न आज बिहान १० बजे बैठक बोलाइएको बताउनुभएको थियो ।

टिप्पणीहरू