डेल्टा भेरियण्टपछि डेल्टा प्लसको डर,कोरोनाको तेस्रो लहर आउने खतरा

डेल्टा भेरियण्टपछि डेल्टा प्लसको डर,कोरोनाको तेस्रो लहर आउने खतरा

कोरोनाको दोस्रो लहरका लागि जिम्मेवार मानिएको डेल्टा भेरियण्टको उत्परिवर्तन डेल्टा प्लसले तेस्रो लहर ल्याउने आशंका गर्न थालिएको छ । भारतपछि डेल्टा प्लसको असर अहिले बंगलादेशमा देखिन थालेको छ । दोस्रो लहरझैँ सर्वत्र मानवीय क्षति पुर्याउनसक्ने आशंका गर्दै बंगलादेशले एक साता लामो निकै कडा निषेधाज्ञा जारी गरेको छ ।

डेल्टा प्लसकै कारण कोरोनाको तेस्रो लहर आउने कुनै प्रमाण नभेटिएको जनस्वास्थ्यविद्हरुले बताए पनि बंगलादेशमा भने उच्च सतर्कता अपनाइएको छ ।

डेल्टा प्लस नेपालमा समेत भेटिएको ए वाई १ भेरियण्ट हो । डेल्टा प्लस भनिएको नयाँ भेरियण्टले अहिले विश्वभर लगाइएको कोरोनाविरुद्धको खोपलाई निष्प्रभावी बनाउने चिन्ता बढेको छ । उता भारत सरकारले डेल्टा प्लसलाई ‘चिन्ताको भेरियण्ट’ भनेर जनस्वास्थ्यमा दखल पुर्याउनसक्ने जोखिमयुक्त भाइरसहरुको सूचीमा राखिसकेको छ ।

गत वर्ष पहिलो पटक भेटिएको डेल्टा भेरियण्ट भारतमा घातक दोस्रो लहरका लागि जिम्मेवार ठानिएको छ । कोरोनाको दोस्रो लहरले सबैभन्दा धेरै क्षति पुर्याएको राष्ट्रहरुमा भारत पहिलो नम्बरमा रहेको छ ।
उता,भोलि सोमबारदेखि सात दिनसम्म लकडाउन घोषणा गरेको बंगलादेशमा धेरै जना संक्रमितमा डेल्टा भेरियण्ट पाइएको बताइन्छ ।

नेपालमा पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असार ७ गते कोभिड–१९ संक्रमणको क्रममा डेल्टा भेरियण्टको परिवर्तित रुप फेला परेको जनाएको थियो ।

उक्त उत्परिवर्तन रुप नेपालसहित १० वटा देशमा भेटिएको छ । त्यसलाई के ४१७एन नाम दिइएको बताउँदै मन्त्रालयले परिवर्तन भएर बनेको भाइरसको नयाँ स्वरूपलाई एवाई १ नाम दिएको छ ।

भाइरसहरू उत्परिवर्तन हुने कारण हालसम्म पत्ता लाग्न सकेको छैन । तीन प्रतिशतभन्दा कम नागरिकले मात्र पूर्ण मात्रामा खोप लगाएको अवस्थाका कारण नेपाल ‘कोरोना भाइरसहरु उत्परिवर्तन हुन सक्ने उर्वरभूमि’ भएको विज्ञहरूले बताएका छन् ।

टिप्पणीहरू