राहतको नाममा सेल्फीको रमिता

राहतको नाममा सेल्फीको रमिता

भीषण बाढीपहिरोको प्रकोप र पीडा कतिपय संकीर्ण मानसिकता भएका व्यक्ति र समूहका लागि दिउँसै चमत्कार देखाउने ‘मेलो’ भएको छ । सिन्धुपाल्चोकका बाढी, पहिरो पीडितका लागि भन्दै राजधानी र विदेशमा समेत ‘चन्दा’ र ‘राहत’ उठाउनेहरू भेटिएका छन् । नगद, जिन्सी, खाद्य सामग्री तथा विविध प्रकारका सामान जताततै उठाइएका छन् । सरकार (गृह मन्त्रालय) ले सूचना जारी गरी त्यसो नगर्न भनेको समाचार आए पनि त्यो क्रम रोकिएको छैन ।

राहत उठाउनेहरूले पैसा उठाउने र ‘फलानो समाजसेवी’ ले यति हजार बाढी पहिरो पीडितका लागि दिएको भन्दै फेसबुकमा फोटो हालिदिने गरेका छन् । त्यो पैसा हामी संकलन गरिसकेपछि एकैपटक पीडितलाई बाँड्नेछौं भन्ने अर्को ‘धन्दा’ पनि जारी छ । यसको कुनै लेखाजोखा र खोजीनीति हुन सकेको छैन । पीडितको पीडा र व्यथा आफ्नो ठाउँमा छ । एकथरिले त्यो पीडालाई वृत्तचित्र बनाउने, फेसबुकमा लाइभ हाल्ने र खोला–खोला बगर–बगर हिँडेर ‘पत्रकार’ बन्नेमा सदुपयोग गरेका छन् ।

सिन्धुपाल्चोकका एमाले नेता हस्त पण्डितले पोष्ट गरेको फोटो एउटा समूह हेलिकप्टरबाट घटनास्थल नजिकै ओर्लन्छ । जसमा केही बट्टा चाउचाउ, पानी, ओच्छ्याउने दरी गरी लगभग ५ हजारको वस्तु वा सामान देखिन्छ । नेता पण्डितले प्रश्न गरेका छन्– ‘हाम्रो पीडा आफ्नो ठाउँमा छ । हेलिकप्टर चार्टर गर्न कति पैसा लाग्यो होला ? त्यति राहत बोकेर हामीलाई नजिस्क्याएको भए हुन्थ्यो ।’

वास्तवमा बाढी, पहिरो आउने मूल समय यो हैन । तैपनि, पानीको महामारीले दर्जनौं जिल्ला र स्थानमा मानिसको मृत्यु भयो । केही दर्जन हराए । सयाँैको संख्यामा बेपत्ता छन् । करोडौंको भौतिक सम्पत्ति नाश भएको छ । यस्तो पीडामा केही मानिस दिउँसै रात पार्ने तरिकाले राहतको नाममा ‘चमत्कार’ गर्दै छन् । वर्षैपिच्छे बाढी पहिरो जान्छ । मानिस मर्छन् । सम्पत्ति नाश हुन्छ ।

तर, राज्यले दीर्घकालीन सोचसहित बस्तीलाई नयाँ स्थानमा सार्ने, घनाबस्ती कार्यक्रम लागू गर्ने, समथरमा बस्ती सार्ने र सोको लागि प्रोत्साहन जस्ता कार्य गर्नै सकेको छैन । अर्काेतर्फ नागरिक पनि सुरक्षित स्थानमा आफ्नो बस्ती सार्न तयार देखिन्नन् । पहाड, हिमालमा पहिरो जाने, नदी र खोला किनारमा पानी–खोलाले हान्ने बस्ती बगाएर सखाप पार्ने र पानीको कारण तराईका बस्ती र जिल्ला डुबाउने पुरानै रोगले नेपाललाई जहिल्यै पिरोल्दै आएको छ । यद्यपि, सरकारको दीर्घकालीन सोच अभाव र नागरिक सचेत नभएर प्राकृतिक प्रकोपको कारण वर्षैपिच्छे हजारौंको ज्यान जाने अवस्था बन्नु दुःखद् हो ।

बाढी, पहिरोको यस्तो विपत्ति र पीडा भए पनि नेपाली राजनीतिमा ‘खिचडी पकाउने’ र ‘हलो अड्काएर गोरू चुट्ने’ काम रोकिएको छैन । वामपन्थी एकताबाट हौसिएर तातिएका जनतालाई ‘चिसो पानी खन्याउने काम’ भएको छ । नेकपाको एकता त भाँडियो नै । एमालेको एकता पनि ‘कताकता’ बन्यो, बन्दै छ । एकताको नाममा पकाउन खोजिएको खिचडी ‘अधकल्चो’ नै रहने हो कि भन्ने चिन्ता पनि छ । तापनि राजनीतिक नेतृत्वमा कुनै हतारो र गम्भीरता देखिन्न ।

बाढी–पहिरोको कारण पीडित भएका जनता र समाजसामु गएर ‘रमाइलो गर्ने र लाइभ हान्ने’ हरूको ताँती देखिन्छ । हिउँदमा फूलचोकी र दामनमा हिउँ पर्दा देखिएका शहरिया ताँती सिन्धुपाल्चोकको बगरमा देखिन्छ आजकल । कस्तो संस्कृतिलाई प्रोत्साहन गर्दै छौँ हामी ? अर्काको पीडामा रमाउने र खेल्ने ? त्यति मात्र होइन गलत मनसाय भएकाहरूले यसैलाई कमाउने र खाने धन्दा पनि बनाउने ? यो भन्दा लाजमर्दाे कुरा के हुन सक्छ ? गम्भीरता र संवेदशीलता हुनुपर्ने सरकार त्यस्ता गतिविधि टुलुटुलु हेरेर बसेको छ । मन्त्री र नेता भनिएकाहरू हेलिकप्टरबाट पहिरो ‘नजर’ गर्दै छन् । यसले नेपाली समाजको संवेदनशीलता हराएको भान हुन्छ ।

मूल चिन्ता र चासो भनेको पीडामा राहतको नारा र नाममा आफू खाने र मौसमी मान्छेले दिउँसै चमत्कार देखाउँदैछन् । यसलाई रोक्नुपर्छ । राहत आफूखशसी बाँड्ने र फोटो खिचेर प्रचार गर्ने विषय होइन र हुन दिनुहुन्न । राहत स्थानीय गाउँ पालिका, प्रहरी प्रशासन र राज्यको निकायबाट मात्रै वितरण गर्नुपर्ने खाँचो छ । नत्र कतै राहतै राहतको चाङ, कतै पुर्पुरोमा हात हुन सक्छ । प्राकृतिक विपत्तिको समयमा देखिने यस्ता विकृति र चमत्कारको धन्दाउपर नियन्त्रण गर्नुपर्ने देखिन्छ । शुद्ध मनले उपकार गर्दा रेल्फीको विज्ञापन गरिरहनै पर्दैन ।

टिप्पणीहरू