बाहुन कस्तो ? भन्नुहोला पानी नचल्ने….!! « Jana Aastha News Online
Logo
१३ असार २०७९, सोमबार
|  Mon Jun 27 2022
Logo
१३ असार २०७९, सोमबार
|  Mon Jun 27 2022

बाहुन कस्तो ? भन्नुहोला पानी नचल्ने….!!

प्रकाशित मिति :  १३ आश्विन २०७३, बिहीबार ०९:०९


– यमुना अर्याल (काफ्ले)


सबै जातजातिमध्ये उच्च मानिएको जात हो बाहुन । यही जातले तल्लो जातमाथि छुवाछुतको व्यवहार गरेको कुनै नौलो होइन । तर, बाहुनभित्र पनि पानी चल्ने र नचल्ने हुँदा रहेछन् भन्ने सुन्दाचाहिँ अनौठो नमाने हुन्छ । बाहुनभित्र कुमाइँ बाहुन, जैशी बाहुन, उपाध्याय बाहुन …..यस्तै प्रकारले चिनाइएको हुन्छ । अझ घ्यू खाने बाहुन कि घ्यू पोल्ने बाहुन भनेर पनि चिनाउने गर्दा रहेछन् कहीँ–कतै । यी बाहुनभित्रे छुवाछुतको अवस्था भने कुनै दलितले भोगेको भन्दा कम दर्दनाक छैन । इज्जत र डरका कारण उपल्लो जातले गरेको विभेदका घटना सार्वजनिक भएका छैनन्, एकाध घटना पनि सकभर गुपचुपमै राखिएका छन् । आफ्नो जात बाहेकसँग विवाह गर्दा अन्तरजातीय हुन्छ तर एउटै जातभित्र पनि अन्तरजातीय विवाहभन्दा डरलाग्दो व्यवहार देखा पर्नु सुखद पक्ष होइन । केही समयअघि एक जना आफन्तको घर जाँदा जेठी भाउजू बाहिरको काम गरिरहेकी थिइन् ।  घरमा आएका पाहुनालाई चिया, नास्ता, खाना खुवाउने सबै जिम्मेवारी कान्छी  भाउजूले सम्हालेकी थिइन् । घर सफा गर्ने, लुगा धुने, भाँडा माझ्नेलगायत काम जेठी भाउजूले गर्थिन् । खाना पाकेपछि कान्छी भाउजूले भान्छामा बोलाइन् । हामी भित्रै गएर खाना खायौँ तर जेठी भाउजूले अलग्गै खाइन् । ‘भाउजू, भान्सामा किन नआउनुभएको’ ? प्रश्न राख्दा भनिन्, ‘म त्यता आउन मिल्दैन नानी, मैले छोएको कसैले खाँदैनन्….।’ उनको यो प्रश्नले निकै खिन्न बनायो । जेठी भाउजू बाहुनकै छोरी हुन् त किन उनले छोएको खाँदैनन् ? सासू–ससुराभन्दा भाउजू एक तह तल्लो अर्थात् पानी नचल्ने बाहुन रहिछन् । दाइ भने अफिसको कामले कहिले कता, कहिले कता हिँडिरहन्छन् । आमा–बाबु जति सम्झाउँदा पनि मान्दैनन् । दलितलाई भन्दा बढी अपमान हुँदो रहेछ कुनै बेला त । आफू त छुवाछुतको मारमा परिन् नै सानी बच्चीले समेत त्यो विभेदको सामना गर्नुपरिरहेको छ । एक दिन सानी छोरी खेल्दाखेल्दै हजुर बा आमाले खाँदै गरेको ठाउँमा गएर छोइदिएपछि रिसाउँदै खानाको भागै छाडेर उठेछन् । त्यसपछि खाने बेलामा छोरीलाई जताबाट भए पनि खोजेर अन्तै लैजाँदिरहिछन् भाउजूले । नातिनातिनीसमेत बिटुलो भइसकेका रहेछन् । कोही नचिनेको आफन्त आएको बेला भाउजू घरमा एक्लै रहिछन् भने चियासमेत खान पाउँदैनन् रे ! ‘भान्सामा सबै चिज छोइन्छ, आफूलाई जान अनुमति छैन, चिया पकाउन बेग्लै चुलो छैन । मैले छोएको पानी चल्दैन हजुर…, चिया पनि खुवाउन पाइनँ’ भन्छिन् भाउजू । आएका आफन्त किन भनेर सोध्छन्, भाउजूको जवाफ अड्किन्छ । के कारणले आफू दलित भएँ, किन आफूले छोएको पानी चल्दैन थाहा पाएकी छैनन् । दुवै जनाको मन मिले पनि घरपरिवारले जातभातको कुरामा तनाव दिएको उनको गुनासो छ । ‘घरबाट अलग्गै बसौँ, उहाँ (दाइ) ले इज्जतको डर मान्नुहुन्छ, समाजले के भन्छ ? साथीभाइले के भन्छन् भन्नुहुन्छ, सँगै बसौँ कहिलेसम्म यस्तो तल्लो जात भएर पीडाको जिन्दगी बिताउने ? छोरी पाँच वर्षकी भई, अब त छोरी पनि बुझ्ने हुन्छे, उसलाई के कारणले छुवाछुत गरे भन्दा के उत्तर दिऊँ ?’ बडो दोधारमा देखिन्छिन् भाउजू । यी त एउटा प्रतिनिधि पात्र मात्र हुन् । यस्ता हजारौँ पात्रले यस्तै कष्टकर दैनिकी गुजारेका छन्, एउटै परिवारभित्र एउटै जात भएर पनि छुवाछुतको व्यवहारका कारण ।
काभ्रेले कुमाइँ बाहुनकी छोरी काठमाडौंको खाँटी उपाध्याय खलकका युवाले बिहे गरे । दुवै जना ब्राह्मण समुदायको भएकाले आमाबाबुको ‘सपोर्ट’ पाइनेमा ढुक्क थिए । युवतीका बाबुले बिहे नगरी आमालाई भिœयाएको कारण आफ्नो जात तल झरेको भन्दै सासू–ससुराले उनले पकाएको चियाबाहेक केही खान मानेनन् । बिहे गरेको १७ वर्ष भयो तर सासू–ससुराले तल्लो जातलाई भन्दा आफूलाई अपमान गरेको बुहारीले बताइन् । ऋषिपञ्चमीमा  सासूसँग आएकी बुहारीले अलग्गै पूजा लगाइन् । सासू–बुहारी अलग–अलग पुरोहितसँग बसेपछि जिज्ञासा राख्दा वास्तविकता थाहा भयो ।
‘एक्लो छोरो भएकाले भिन्नै बस् भन्न सकेका छैनन्, सँगै बसेर बसेजस्तो पनि छैन,’ १७ वर्ष दलितको व्यवहारमै बित्यो । आफू के कारण तल्लो जातको भएँ भन्ने थाहा छैन, पौडेलकी छोरी घिमिरेकी बुहारी हुन् तर सधैँ सासू–ससुरासामु तल्लो दर्जाको व्यवहार भोग्नुपर्छ उनले । यसपटक छोराले प्रवेशिका उत्तीर्ण गरिसक्यो, उसको सधैँको प्रश्न हुन्छ, ‘आमा म पढाइ सकाएर मन प¥यो भने दलितकी छोरी बिहे गर्छु, तपाईंले हजुरआमाले जस्तो व्यवहार नगर्नुहोला, बिहे गर्ने मैले हो घरपरिवारले होइन ।’ नाति यति उदार हुँदासम्म पनि हजुरआमाको स्वभाव बदलिएको छैन ।
नुवाकोटकी बाहुनकै छोरी रामेछापका बाहुनले बिहे गरे । बाहुनकै छोरी बिहे गरेकाले घरपरिवारमा राम्रो थियो । दुवै जना प्राविधिक लाइनका सरकारी जागिरे । बुहारी जैशी बाहुनकी छोरी, आफू उपाध्याय भएपछि उनी पनि छुवाछुतको चंगुलमा फसिन् । घरमा ससुराको तिथि परेको दिन बुहारीलाई घर पोत्नसमेत दिइएन । बाहुन भए पनि उपाध्यायभन्दा तल्लो दर्जाकी भएकीले उनले पोतेको घर पितृका लागि अशुभ हुन्छ रे † दुवै जना सरकारी जागिरे भए पनि वैवाहिक जिन्दगी सहज हुन सकेन । एक्ली आमा छाड्न सक्दैनन्, आमाको अहंकार पनि तोड्न सकेनन् । ‘शरीरमा बल हुञ्जेल जात र भात हो, थला परेपछि कुन उपाध्याय बुहारी आएर स्याहार गर्ने हो हेरौँला,’ बुहारीको गुनासो छ ।
 आमा काठमाडौंको खाँटी बाहुनकी छोरी, हुनेवाला बुहारी भक्तपुरको खाँटी नेवारकी छोरी । एक्लो   छोराले आमा बुबालाई मनाउन हजार कोसिस गरे तर आमा पग्लिनन् । छोरामाथि कि मन पराएकी केटी त्याग्ने कि आमाबाबु त्याग्ने विकल्प आइलाग्यो । पेशाले दुवै सरकारी अड्डाका इञ्जिनियर । एउटै फिल्डको भएकाले केटाकेटी विवाहका लागि राजी भए तर आमाबाबुले मानेनन्  । हुनेवाला बुहारी जागिरे नभए पनि फरक पर्दैन, सम्पत्ति जति पनि छ तर कुल (बाहुन) की छोरी हुनुपर्छ भन्ने आमाको अडान तल–माथि भएन  । केही सीप नलागेपछि पहिलो विकल्प रोजे र आमाबाबु त्यागे । पाँच वर्षदेखि मन पराएकी युवतीलाई वैशाखमा भगाएरै साथीभाइको रोहवरमा  बिहे गरे । नेवार खलककी भएकीले युवतीका आमाबाबु पनि नेवारलाई नै ज्वाइँ बनाउने योजनामा  थिए, उनीहरू पनि चिढिए, बाहुनले नेवारकी छोरी भिœयाएपछि पहिलेदेखि चिढिएका  युवाका आमाबाबु झनै चिढिए । पाँच वर्षदेखि आमालाई सम्झाउँदा–सम्झाउँदा वाक्क भएका छोराले जन्मदिने आमाबाबु त्यागे तर प्रेमिका त्याग्न सकेनन् । ‘बिहे गर्ने हामीले हो, आमाबाबुका लागि होइन, आमाबाबुको मन हो, एकदिन रिस मरेपछि फर्किन्छ’  उनीहरू ढुक्क छन् ।  राजधानीको शिक्षित परिवारमा त जातीय विभेदको यस्तो डरलाग्दो स्वरूप छ भने गाउँघरको हालत के होला ? उनीहरूको प्रश्न छ ।
केही वर्षपहिले छिमेकी बाहुन दाइले भगाएर क्षत्रीकी छोरी बिहे गरे । घरमा बुहारी भिœयाउन  मानेनन् आमाबुवाले । जहाँबाट ल्याएको हो त्यहीँ लैजासम्म भने । केही स्थानीय अगुवाको पहलमा बल्लतल्ल बुहारी भिœयाउने काम त भयो तर व्यवहार भने तल्लो जातको । सासू–ससुराले बुहारीलाई दलितलाई जस्तै अलग्गै व्यवहार गरे ।  गाउँलेले पानी चल्ने जात हो, बाहुन क्षत्री बराबर हो भन्दै सम्झाउन कोसिस गरे तैपनि सासू–ससुराले कदापि टेरेनन् । बुहारीलाई भान्सामा पस्न दिइएन, मेलापातको काम मात्रै गर्न लगाए । तीन वर्षपछि छोराबुहारी अलग्गै बस्न थाले । बुहारी भन्छिन्, ‘यतिको छुवाछुत त दलितमाथि पनि गरिएको छैन होला जति ममाथि गरियो ।’
 कृष्णप्रणामीकी छोरी बिहे गरेका काठमाडौं धापासीको बाहुन परिवारका युवा ससुरालीमा छुवाछुतको व्यवहार भोग्न बाध्य भए । बिहे गरेपछि पहिलो पटक ससुराली गएका उनलाई ज्वाइँको भन्दा पनि एउटा बाहुनले दलितमाथि गर्ने व्यवहारको अनुभूति भएछ । सासू–ससुराले छोइन्छ कि जस्तै गरी अलग्गै राखेर खाना खुवाए, उनले जिस्किएर सोधे पनि– म पनि बाहुनै हुँ किन टाढै राख्नु भा‘को ? पछि पो थाहा पाए, आफू कृष्णप्रणामी नभएकाले यस्तो व्यवहार भएको रहेछ । श्रीमतीले पनि आमा–बुबाबाट दलितको जस्तो व्यवहार भोगेको बताइन् । आमा–बुबाले लसुन प्याज, माछा–मासु केही नखाने भएकाले छोराछोरीलाई पनि भान्सामा छिर्न मनाही गरिएको उनले बताइन् । बाहुन–क्षेत्रीभित्रै यस्तो छुवाछुतको व्यवहार छ भने उनीहरूले दलितमाथि गर्ने  निच व्यवहारमा कहिले कमी आउला ?
 


प्रतिक्रिया दिनुहोस !