प्रधानमन्त्रीको वचन पाएर पनि रुँदै घर गए डिआइजी

प्रधानमन्त्रीको वचन पाएर पनि रुँदै घर गए डिआइजी

गए राती १२ बजेसम्म सुदूर पश्चिमको कमाण्डर रहेका सशस्त्र प्रहरी डीआईजी प्रवीण श्रेष्ठ आजदेखि भूतपूर्व भएका छन् । उनले सेवा अवधिका कारण अवकाश पाएका हुन् । सोमबार बेलुकाको क्याबिनेट बैठकका निम्ति सेवा अवधि थपको प्रस्ताव सशस्त्रले गृह मन्त्रालय पठाए पनि क्याबिनेटमा प्रस्तुत भएको थिएन ।

त्यही सूचना पाएर राति बालुवाटारमा मंगलबारदेखि पदमुक्त भएका कैलालीका सांसद तथा वनमन्त्री नारदमुनी राना र विघटित प्रतिनिधिसभामा कञ्चनपुरकी समानुपातिक सांसद नीरु पालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रवीणसहित भएर दश बजेसम्म भेटेका थिए ।

त्यहिँबाट प्रधानमन्त्रीले मुख्यसचिव शंकरदास बैरागीलाई फोन गरेर क्याबिनेटको निर्णयमा श्रेष्ठको म्याद थप पनि घुसाइदिने वचन दिएपछि उनीहरु त्यहाँबाट ढुक्क भएर निस्केका हुन् । मङ्गलबार दिउँसो साढे तीन बजे पनि प्रधानमन्त्रीले मुख्यसचिवलाई यसवारे सम्झाएको तर ४ बजे भएभरका मन्त्री खुस्काउने सर्वोच्चको आदेशको प्रवीण पनि शिकार भएको गृह मन्त्रालय श्रोतले जनआस्थालाई बतायो ।

मंगलबार जनआस्था डट कमले क्याबिनेटमा प्रस्तुत नभएको एजेण्डा माइन्युटमा सच्याइएको समाचार प्रकाशित गरेपछि अन्ततः क्याबिनेटको माइन्युट पुनः सच्याइएका कारण प्रवीणको महानिरीक्षक बन्ने रोडम्याप भताभुङ्ग भएको स्रोतको दाबी छ ।

सरकारले म्याद नथपेका कारण प्रवीणसहित सुदूरपश्चिमका एआइजी ठाकुरमोहन श्रेष्ठ र डिआइजी सुरज श्रेष्ठ पनि यसअघि आइजीपी बन्ने प्रवल सम्भावनाबाट पाखा लागेका थिए ।

यसरी डोटीको नेवार समुदायका तीनै जना वरिष्ठ अधिकृत एकपछि अर्को गरी उपल्लो अवसरबाट वञ्चित भएका छन् । नियमावलीमा डिआइजी र एआइजीको एक बर्ष म्याद थप्न सकिने प्रावधान छ । सोहीबमोजिम पुष्पराम केसी,रामशरण पौडेलको अघिल्लो महिना एआइजीको कार्यकाल थपिएको हो भने खड्ग राई र मन्दिप श्रेष्ठले पनि डिआइजीमा त्यस्तै अवसर पाएका हुन् ।

प्रवीण घर गएपछि सशस्त्र प्रहरीको २ नम्बर प्रदेश (मधेश) का प्रमुख तथा डीआईजी चन्द्रप्रकाश गौतम र काठमाण्डौ उपत्यका प्रमुख राजु अर्यालका लागि अब मार्गप्रशस्त भएको बताइन्छ ।

टिप्पणीहरू