प्रधानमन्त्रीको कदम प्रतिगामी भन्दै संयुक्त विरोध प्रदर्शन

प्रधानमन्त्रीको कदम प्रतिगामी भन्दै संयुक्त विरोध प्रदर्शन

केपी शर्मा ओली सरकारको “प्रतिगामी भाग २ कदम”को विरुद्ध विपक्षी गठबन्धन निकट पाँच वटा विद्यार्थी संगठनले आज राजधानीमा संयुक्त प्रदर्शन गरेका छन् । उनीहरुले सरकारको तमाम असंवैधानिक एवम् अलोकतान्त्रिक जनविरोधी हर्कतविरुद्ध प्रदर्शन गरेको बताएका छन् ।

नेविसंघका अध्यक्ष राजिव ढुङ्गाना, अखिल क्रान्तिकारीका अध्यक्ष रन्जित तामाङ,अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली,समाजवादी विधार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ,अखिल (छैठांै) का अध्यक्ष विमल पोखरेललगायत झण्डै १ सय जनाको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रदर्शनकारीले प्रतिगमन मूर्दावाद, महंगी ,भ्रष्टाचार र कमिशनतन्त्र बन्द गर,डकैती गरिएको सार्वभौम संसद पुनःस्थापना गर,पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर, कोभिड १९ खोपको तत्काल व्यवस्था गर, प्रधानमन्त्री ओली राजिनामा दे, लोकतन्त्र जिन्दावाद, निरङ्कुशतन्त्र मूर्दावादको नारा लगाएका थिए ।

आजै सुर्खेतको वीरेन्द्रनगरमा पनि विद्यार्थी संगठनहरुले जुलुश प्रदर्शन गरेका छन् । मंगलगढी चोकबाट संयुक्त विधार्थी संगठन सुर्खेतको आयोजनामा प्रतिगमन भाग –२ लाई पराजित गरौं भन्ने नाराका साथ जुलुश निस्किएको थियो ।

अनेरास्ववियु (क्रान्तिकारी) मध्यपश्चिम विश्वविद्यालय सुर्खेतका संयोजक टोपेन्द्र पौडेल (राज) को नेतृत्वमा वाईसीएल सुर्खेत जिल्ला संयोजक पदम बनसहित झण्डै ३ दर्जनको सहभागिता थियो । उनीहरुले संसद पुनः स्थापना गर, नालायक सरकार मूर्दावादलगायतका नारा लगाई बजार परिक्रमा गरेका थिए । पछि वीरेन्द्रचोकमा कोणसभा गरेपछि विरोध कार्यक्रम सम्पन्न भएको थियो ।

उता,वीरगञ्जको घण्टाघर चोकमा संयुक्त विद्यार्थी संघको आयोजनामा संसद विघटनको विरोध र प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्दै विरोध कार्यक्रमको आयोजना गरिएको थियो । अनेरास्ववियुका जिल्ला अध्यक्ष प्रभाकर गुप्ताको नेतृत्वमा दुई दर्जन प्रदर्शनकारीको सहभागिता रहेको कार्यक्रममा सहभागीले निधारमा कालोपट्टी बाँधी नाराबाजी गरेका थिए ।

प्रदर्शनकारीले मैं हुँ राजा, राष्ट्रपतिज्यू संविधानको रक्षा खोइ ?सरकार प्रमाणपत्र राखेर २५ लाख कहिले दिने ?, असंवैधानिक कदम खारेज गर, प्रतिगमनका नाइके केपी ओली भनेर नाराबाजी गरिरहँदा प्रहरीले हस्तक्षेप गरेर चार जना नेतालाई गिरफ्तार गरेको बताइन्छ ।

गिरफ्तार गरिएकामा नेविसंघका जिल्ला अध्यक्ष सुधीर पटेल, नेविसंघका केन्द्रीय सदस्य विशाल पटेल,अनेरास्ववियुका जिल्ला अध्यक्ष प्रभाकर गुप्ता र अनेरास्ववियुका केन्द्रीय सदस्य विवेक साह कानु रहेका छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

टिप्पणीहरू