एअरपोर्टबाट १३ थान ल्यापटप चोर्ने पक्राउ

एअरपोर्टबाट १३ थान ल्यापटप चोर्ने पक्राउ

नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडबाट १३ थान ल्यापटप चोरी गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले सञ्चालनमा ल्याएको कार्गो कम्प्लेक्समा रहेको आयात गोदामबाट ती ल्यापटप हराएका थिए ।

पहिलो पटक ७ थान र दोस्रो पटक ६ थान चोरी गर्ने विष्णु अधिकारीलाई हिजो महानगरीय अपराध महाशाखाले नियन्त्रणमा लिएपछि ल्यापटप चोरीका भित्रि रहस्य बाहिरिएका हुन् ।

अधिकारीले गत जेठ ७ गते र ११ गते आयात भएका ५ सय ७ पिस ल्यापटपमध्ये १३ थान ल्यापटप चोरी गरेको भन्ने निवेदनका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीको अपराध महाशाखाले जनाएको छ । उनले जेठ २० गते राती ७ थान र असार ३ गते ६ थान ल्यापटप चोरी गरेको देखिएको छ ।

महानगरीय प्रहरीको विमानस्थल सुरक्षा कार्यालयसँगको समन्वयमा अनुसन्धान गरेपछि अधिकारी चोरीमा संलग्न रहेको खुलेको हो । पक्राउ परेका २९ वर्षका अधिकारी सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गा.पा. २ घर भई हाल गोकर्णेश्वर नगरपालिका ८ बेशीगाउँमा बस्थे ।

उनको साथबाट डेल कम्पनीको ल्यापटप ८ थान, त्यसको चार्जर २ थान समेत बरामद गरिएको छ ।

टिप्पणीहरू