दुःखीका घरमा मात्रै तेरो बास हुने भए… « Jana Aastha News Online
Logo
३१ श्रावण २०७९, मंगलवार
|  Tue Aug 16 2022
Logo
३१ श्रावण २०७९, मंगलवार
|  Tue Aug 16 2022

दुःखीका घरमा मात्रै तेरो बास हुने भए…

प्रकाशित मिति :  १३ आश्विन २०७३, बिहीबार ०८:१६


एउटा दलाल जसले हाम्रो जग्गा लुट्यो, घरपरिवारको सुख–शान्ति लुट्यो, उसैको कारण बुबाले आत्महत्याको बाटो रोज्नुभयो । पीडा नै पीडा मिसिएको हामी गरिबको जिन्दगी । बाँचेर मर्नुेपर्ने, मरेर पनि पलपल बाँच्नुपर्ने । खै ! के हो यो ?
नवलपरासी, गैंडाकोट नगरपालिका वडा नम्बर ७ शक्तिटोलमा छ हाम्रो घर । आर्थिक अवस्था त्यति राम्रो होइन । धन नभए पनि परिवारमा कहिल्यै अशान्ति थिएन । खोले, जाउलो खाएरै भए पनि परिवारमा शान्ति थियो । हामीजस्ता गरिब–गुरुवाले स्वदेशमा अवसर पाउन त सम्भवै थिएन । यद्यपि, घरको आर्थिक अवस्था कमजोर भए पनि विदेशको कुरा नछिरुञ्जेल घरमा शान्ति नै थियो । गुन्द्रुक, ढिँडो खाएर भए पनि हाँसीखुशी बसेकै थियौं । यस्तैमा विदेश जाने भूत भाइमा चढ्यो । आर्थिक अवस्था केही भए पनि उकास्न सक्छु कि भन्ने सोच गलत थिएन ।
१२ वर्षअघि ०६२ सालमा भाइले विदेश जान मन ग¥यो । आफ्नो लगानी केही नगरी मालामाल हुने पेशा थियो दलाली । गाउँका सोझा–सीधा गरिबका छोराछोरीलाई आश्वासन देखाउनेमध्ये भेटिएको रहेछ दशरथ गिरी । हाम्रो गाउँनजिकै बस्ने । उसैले विदेश जाने र मालामाल कमाउने सपना देखाएपछि भाइले विदेश जान खुट्टा उचाल्यो । बुबा–आमाले नाइँनास्ती गर्दा पनि केही जोर चलेन । उसले कमाइ राम्रो हुन्छ भनेपछि भाइले विदेश जाने निधो ग¥यो । अरूको निमेक गरेर बिहान–बेलुकाको दुई छाक जुटाइरहेको परिवारका लागि ती दलालले भनेजति ८५ हजार रुपैयाँ जुटाउन सक्ने अवस्था थिएन । उसले त्यति रकम मागेपछि हामी हच्कियौँ । बिहान–बेलुका दुईछाक कसरी जुटाउने भन्ने पिरलोमा हुर्किएका हामीलाई झण्डै एक लाखको पिरलोले पोल्न थाल्यो । बुबा–लक्ष्मण दर्जीले ती एजेन्टलाई पैसा छैन भनेर टार्नुभयो । तर, कपडाका हजार दाउ हुँदा रहेछन्, जायजेथाका नाममा अलिकति जग्गा थियो । त्यहाँ अन्न होइन, सुन फल्थ्यो । छिमेकी हाम्रो उब्जनी देखेर ईष्र्या गर्थे । उसको आँखा त्यहीँ पुग्यो । दलालले सो जग्गा आफ्नो नाममा पास गरिदिए एक साताभित्र विदेश उडाउने आशा देखायो । मेरो नाममा २ का जग्गा पास गरिदेऊ, म त्यो जग्गा बैंकमा राखेर पैसा निकाल्दिन्छु भन्यो । मुटुमाथि ढुंगा राखेर जग्गा उसकोे नाममा राखियो । त्यतिबेला उसकोे शर्त थियो– भाइले बाहिर गएर दुई महिनामा ८५ हजार कमाउँछन् । त्यो पैसा फिर्ता गरेपछि जग्गा तपाईंहरूकै भयो । तपाईंहरूले दुःख पाएको देखेर मात्र मैले यसो गरेको ।
त्यतिबेला हामीजस्ता गरिबको दुःख हर्न आएको ऊ साक्षात् भगवान हुन्झँै लाग्यो । त्यसमाथि जिन्दगीमा बैंक देखेको तर बैंकभित्र कहिल्यै नछिरेको हाम्रा लागि बैंकिङ प्रक्रियामा जाने र अन्य प्रक्रियाका लागि पनि पैसा आवश्यक भएपछि उसैले सुझाएको तरिका उत्तम लाग्यो । बुबा २ का जग्गा पास गरिदिनुभयो । गाउँका चार जना साक्षी बसे र कित्ता नम्बर १२६० को जग्गा दशरथकी श्रीमती शुभलक्ष्मी गिरीको नाममा पास गरिदिनुभो । जग्गा हात परेपछि विदेश पठाउनु त कता हो कता दशरथ गिरी सम्पर्कमै आउन छाड्यो । जब जग्गा हाम्रोबाट उसकोे नाममा पास भयो अनि शुरु भयो तमाशा । सुरुमा उनी निरन्तर सम्पर्कमै थिए ।
 एक साताभित्र विदेश उडाउँछु भनेको मान्छे सम्पर्कविहीन भएपछि मनमा चिसो पस्यो । खोज्दै घर जाँदा छाँगाबाट खसेझँै भइयो । उनीहरू त सपरिवार सबै सम्पत्ति बेचेर गैंडाकोटबाट अन्तै गइसकेका रहेछन् । दिन बित्यो, महिना बित्यो तर मेरो भाइको विदेश जाने अवसर कहिल्यै आएन । यसरी बिहान–बेलुका दुई छाक हात मुख जोर्ने अन्नबाली नभएर सुन फल्ने हाम्रो जग्गा फकाइ–फुल्याई दलालले आफ्नो नाममा पा¥यो । र, रातारात अर्कैलाई तीन लाखमा बेचेर लापत्ता भयो । हाम्रो परिवारको नाममा भएको जम्मा दुई का १७ धुरमध्ये २ का जग्गा एजेन्टको नाममा पास भएपछि घरमा समस्या प¥यो । यही कारण सुख शान्तले बसेको घर भाँडियो, दिनरात कलह हुन थाल्यो । बुबालाई पिर थपिँदै गयो । न भाइ विदेश जान सक्यो न त जग्गा नै बाँकी रह्यो । ६ महिनापछि बुबाले आत्महत्या गर्नुभयो । जिन्दगीमा कसैको केही बिगारिएन, कसैको कुभलो चिताइएन । तैपनि हाम्रै सुखी परिवारमाथि शत्रुको आँखा लाग्यो र सुखी परिवारमा भुँइचालो गयो । बुबाले घरभित्रै आत्महत्याको बाटो रोजेपछि हाम्रालागि टाउको लुकाउने घर घरजस्तो रहेन । यो सबै घटनाको कारण मै हुँ भन्थ्यो भाइ । भाइ मनवीर दर्जी अहिले भारतमा काम गर्दै छ । त्यसयता सम्पर्कमा छैन । कहाँ छ के गर्दै छ थाहै छैन ।
जग्गा अर्कैको नाममा पास गरिदिएको छ । अहिले अरूले नै त्यो जग्गामा लहलह धान झुलाउँछ । त्यो दृश्य देख्दा मन कुँडिन्छ । तर, दुखेको मनको औषधि कतै नपाइँदो रहेछ । एउटै चिन्ताले दिनरात सताइरहन्छ, त्यो जग्गा फिर्ता गर्न कहाँ जाने ? जग्गा फिर्ता गर्न के गर्ने र कसरी मुद्दा लड्ने केही थाहा छैन । न्याय कसरी र कहाँ गएर पाउने जानकारी छैन । आठ कक्षा पास गरेकाले हलो जोत्न छाड्यो । एसएलसी पास भएकाले गाउँ छाड्यो अनि प्लस टु उत्तीर्ण गरेका अधिकांश युवा देश छाड्दै विदेशी भूमिमा रगत–पसिना बगाउँदै छन् । विदेशी भूमिमा कोही घोडाको लिदी सोहोर्दै छन् । बिदेसिएकाहरूको आफ्नै कथा, बिदेसिन नसकेकाहरूको पीडा र व्यथा ।
नेताले जतिसुकै ठूलो कुरा गरे पनि देशको अर्थतन्त्र तिनै युवाले विदेशमा बगाएको रगत–पसिनाको भरमा भित्रिने रेमिट्यान्सले धानिएको छ । उनीहरू तेस्रो दर्जाको नागरिक भएर नेपाली अर्थतन्त्रलाई बचाउँदै छन् । केही दिनअघि मात्र त्रिवि शिक्षण अस्पतालको छतबाट उपचार खर्च अभावमा दोलखाका विजय खड्काले आत्महत्या गरे । गरिबका छोराछोरीले यसैगरी आत्महत्या नै गर्नुपर्ने हो, प्रचण्ड सरकार ? वर्षाको बेला भूकम्पपीडितको समस्यालाई कसरी समाधान गर्ने सोच गर्नुभएको छ ? के चर्का नाराले मात्रै ती भूकम्पपीडित र बाढीपीडितले राहत महसुस गर्लान् ?
– भक्तबहादुर दर्जी, नवलपरासी
 


प्रतिक्रिया दिनुहोस !