लकडाउन र रक्सीको बुझिनसक्नु साइनो,विदेशी बिस्कुटले स्वदेशी चौपट

लकडाउन र रक्सीको बुझिनसक्नु साइनो,विदेशी बिस्कुटले स्वदेशी चौपट

राजधानी काठमाडौं उपत्यकासहित धेरै वटा जिल्लामा झण्डै दुई महिनादेखि जारी निषेधाज्ञा हिजोदेखि सामान्य खुकुलो बनाइएको छ । सरकारले अर्थतन्त्रलाई चलायमान बनाउने भन्दै विभिन्न पेशा र व्यवसायलाई निश्चित बार र समय तोकेर आंशिक खोल्ने निर्णय गरेको हो ।

तर,निषेधाज्ञा खुलेकै दिन राजधानीबाट प्रकाशित एउटा राष्ट्रिय दैनिकमा विभिन्न कम्पनी र ब्राण्डका रक्सीको नयाँ मूल्यसहितका ठूला सूचनासमेत छापिएको छ । हिजो नवलपरासीको विजय डिष्टिलरीले ११ किसिमका रक्सीको ३१ वटा साइजका बोटलको मूल्य सार्वजनिक गरेको छ ।

त्यसैगरी वीरगञ्जको हिमालयन डिष्टिलरीले पनि ५ किसिमका रक्सीको १६ वटा साइजका बोटलको मूल्यसूची छापेको छ । भरतपुरको रोलिङ रिभर डिष्टिलर्सले हिजो प्रकाशित गरेको सूचनामा एउटा ब्राण्डको ३ किसिमका साइज र प्याकको मूल्य बताइएको छ । उता,मोरङको नेपाल लिकर्सले ५ थरि रक्सीका १९ भेराइटीको नयाँ मूल्य तोकेको छ ।

यसरी लकडाउन खुल्नु र विभिन्न ब्राण्डका रक्सीको एकैदिन अनेक मूल्यसहित विज्ञापन खुल्नुको साइनो बुझिनसक्नु भएको बताइन्छ । हालै घोषणा गरिएको आगामी आर्थिक वर्षको बजेटमा विदेशी रक्सीको मूल्यमा २० प्रतिशतले बृध्दि गरिएको छ ।

यसैबीच विदेशबाट आउने बिस्कुटलाई भन्सार छुट दिएपछि नेपाली बिस्कुट कम्पनी अप्ठेरोमा पर्न थालेको बताइन्छ । विशेषगरी बंगलादेशबाट आउने सुगरफ्री बिस्कुटलाई भन्सार छुट दिइएको छ । त्यस्ता बिस्कुटमा गत वर्षभन्दा यो वर्ष भन्सार छुट धेरै दिइएको बताइन्छ ।

जसका कारण नेपालकै पुरानो बिस्कुट कम्पनी नेबिकोलगायत बन्द हुने अवस्थामा पुगेका छन् ।

टिप्पणीहरू