सर्वोच्चको निर्णयमा काङ्ग्रेसको स्वागत

सर्वोच्चको निर्णयमा काङ्ग्रेसको स्वागत

कामचलाउ प्रधानमन्त्रीले गरेको मन्त्रिपरिषद विस्तार खारेज गर्ने सर्वोच्च अदालतको अन्तरिम आदेशलाई नेपाली कांग्रेसले स्वागत गरेको छ ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका एकपछि अर्को असंवैधानिक कदमलाई सर्वोच्च अदालतले सच्याएको टिप्पणी गर्नुभएको छ । दालतको आदेशले प्रधानमन्त्रीले चालेको कदम राजनैतिक र संवैधानिक रुपले गलत सावित गरेको उहाँले बताउनुभयो ।

‘प्रधानमन्त्रीको कदमले कानूनको आधारशिलालाई कमजोर बनाएको थियो । त्यसलाई सर्वोच्च अदालतले रोकिदियो । यसले संविधान मिच्ने प्रवृतिलाई निरुत्साहित बनाएको छ’, जनआस्थासंगको कुराकानीमा उहाँले भन्नुभयो, ‘कामचलाउ सरकारले दैनिक प्रशासन चलाउने र निर्वाचनको तयारीमा लाग्नेबाहेक अरु काम गर्न मिल्दैनथ्यो,हामीले त्यो भन्दै आएका पनि हौँ । तर, प्रधानमन्त्रीले मनलाग्दी गरिरहनुभएको छ’, खाँडले भन्नुभयो ।

उहाँले कामचलाउ सरकारले अध्यादेश ल्याउने,मन्त्रिपरिषद हेरफेर गर्ने नेपालको इतिहासमै पहिलोपटक देखेको पनि बताउनुभयो । ‘कामचलाउ भैसकेपछि अध्यादेश ल्याउने प्रचलन नै थिएन, उहाँले नै त्यसको सुरुआत गर्नुभयो । यसअघि मन्त्रीपरिषद विस्तार गर्न शेरबहादुर देउवालाई राष्ट्रपतिले रोकेको हो । बाबुरामको पालामा पनि रोकिएको थियो’, खाँडले भन्नुभयो ।

सर्वोच्चले आज प्रधानमन्त्री ओलीले गरेको मन्त्रिपरिषद विस्तार रद्ध गर्ने उजुरीउपर सुनुवाइ गरेको थियो । सर्वोच्चको आदेशले प्रतिनिधिसभा विघटनपछि जेठ २१ र २७ गते प्रधानमन्त्री ओलीले थपेका २० मन्त्री पदमुक्त भएका छन् ।

सत्तारुढ एमालेले भने अदालतको आदेशलाई अप्रत्याशित भनेको छ। साथै अदालतले राजनीतिक मुद्धामा अस्वभाविक हात हालेको उसको आरोप छ । एमालेको प्रतिक्रियाबारे प्रश्न गर्दा कांग्रेस नेता खाँडले दम्भ नदेखाउन सुझाव दिनुभयो । प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्चमा अहिलेसम्मकै सबैभन्दा धेरै मुद्धा परेको र अधिकांश मुद्धा हारेकाले त्यसको नैतिक जिम्मेवारी लिनुपर्नेमा बचाउमा लाग्नु गलत भएको उहाँको भनाइ छ ।

टिप्पणीहरू