कोशेली चाहियो कमाण्डर ?

सेनामा राम्रो काम गर्नेलाई तारिफ र नराम्रो गर्ने, आफ्नालाई च्याप्ने, नचिनेकालाई थिच्नेको कर्तुतबारे सबैलाई जानकारी गराउन जरुरी छ । पूर्व सेनापतिका विश्वासपात्र हाल डिजिएमटीको महानिर्देशक भएर आएका छन् । उनी आएलगत्तै इञ्जिनियर्स अधिकृतहरुको मात्रै क्लास लिने भनी प्रभाव देखाउँदै हिँडेका छन् । घरमा बिहानैदेखि स्टाफ कलेज दिने अधिकृतहरुको भीड लाग्ने गरेको छ । एक बोतल ब्ल्याक लेबल अनि फलफूल लिएर जाँचको तयारी गरेको अरुले थाहा नपाउन् भनी दशैंको शुभकामना दिने नाममा कोशेली बोक्नेको लर्को लागेको देखिन्छ । पवन पाण्डे र शरद गिरी मिलेर स्टाफ कलेजको नियम बनाउँदा यो खालको घमण्ड जाग्ने जर्साबहरुको फूर्तिफार्ती बढ्ने गरेको छ । जातिवादी भएर इञ्जिनियर्सलाई मात्र नभई समग्र सेनालाई एक समान हेर्ने मानसिकता बनाउनुपर्छ । तपाईंलाई भेट्न आउँदा ल्याउने ब्ल्याक लेबलले त हाम्रा बाबु–नानीको एक महिनाको फि तिर्न पुग्छ ।
खरिपाटी, नगरकोट र पृतनापति हुँदा जहिले पनि पुअर ब्लडी इन्फेन्ट्री भन्नुहुन्थ्यो । तालिम बेलायत, अमेरिकादेखि धेरै ठूला देशमा गर्नुभएको छ तर मुखमा पिबिआइ झुण्डिएको छ । सम्पूर्ण सेनाको तालिमको योजना र तर्जुमा गर्ने ठाउँमा बसेर आफ्नो पक्षको मान्छे भन्न थाल्नुभो भने सेनाको हविगत के होला ? इन्फेन्ट्रीलाई तल्लो दर्जामा राखेर घृणा गर्नुको कारण जान्न चाहन्छौं । अब जागिर खाने धेरै दिन छैन भनेर आफूलाई भेट्न आउँदा रक्सी र कोशेली लिई आउनेलाई निरुत्साहित पार्नुप¥यो ।
कोही असारबाट नै परीक्षा तयारीका लागि भनेर काठमाडौं गइसके भने हामी दुर्गमको गणमै बसिरहेका छौं । हामीलाई कहिले पठाउनुहुन्छ ! गणपतिलाई भन्यो भने सामुहिक तालिम र बाहिनीपतिको भिजिट सकिएपछि मात्र पठाउँछु भन्छन् । त्यसो त बाहिनीपतिको महिनामा एक–दुईपटक भिजिट भइरहन्छ । चाँडै नै जान पाए हामी पनि केही कोशेली लिएर आउन हुन्थ्यो ।
– बेसहारा अधिकृतहरू

टिप्पणीहरू