पूर्वमन्त्री प्रभु साह र मेयर श्रीमतीविरुद्ध उनकै नगरमा नाराबाजी

पूर्वमन्त्री प्रभु साह र मेयर श्रीमतीविरुद्ध उनकै नगरमा नाराबाजी

पूर्वमन्त्री प्रभु साह र मौलापुर नगरपालिकामा मेयर रहेकी उनकी श्रीमतीविरुद्ध आज स्थानीयले बिरोध प्रदर्शन गरेका छन् । नगरपालिकामा व्यापक अनियमिता भएको आरोप लगाउँदै आज विभिन्न राजनीतिक दलका स्थानीय नेता तथा कार्यकर्ताले प्रदर्शन गरेका हुन् ।

आजको प्रदर्शनमा नेपाली काँग्रेस, माओवादी केन्द्र, एमालेको माधवकुमार नेपाल समूह र जसपाको उपेन्द्र यादव समूहको सहभागिता रहेको छ । मेयर रिनाकुमारी साह र उनका श्रीमान प्रभु साहको बिरोधमा नाराबाजी गर्दे उनीहरूले नगरपरिक्रमा समेत गरेका थिए ।

प्रदर्शनकारीले मन्त्री र मेयर बन्न पाईंदैन,अनियमितता बन्द गर, विकासका नाममा लुट्न पाईंदैनलगायतका नारा लगाएका थिए । पूर्वमन्त्री र मेयरको विरुद्ध प्रदर्शनको तयारी भएपछि मौलापुर नगरपालिका कार्यालयमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।

मेयर परिवारको बिरोधमा मेयरकै नगरपालिकामा नाराबाजी भएको सम्भवत: यो नै पहिलो घटना हो । साहले नगरपालिकामा परिवारवाद र जातिवाद लादेको भन्दै नगरपालिकाको कार्यालयभित्र छिर्न खोजेपछि प्रहरीले प्रदर्शनकारीहरूलाई रोकेको थियो ।

टिप्पणीहरू