मेलम्चीलाई काठमाडौँको साथ

मेलम्चीलाई काठमाडौँको साथ

बाढी,पहिरोको चपेटामा परेको सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र पाँचपोखरी थाङ्पाल गाउँपालिकालाई काठमाडौँ महानगरपालिकाले आर्थिक सहयोग गरेको छ ।

महानगरपालिकाले बाढीग्रस्त मेलम्ची नगरपालिकालाई दुई करोड र पाँचपोखरी थाङ्पाल गाउँपालिकालाई ५० लाख रुपैयाँ सहयोग गरेको हो । महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले हिजो सिन्धुपाल्चोक पुगेर सो सहयोग हस्तान्तरण गर्नुभएको हो । सहयोग हस्तान्तरण गर्दै उहाँले विपतको बेलामा थोरै भएपनि सहयोग गरेको बताउनुभयो ।

क्षति धेरै भएको भए पनि माया र आत्मीयताको कुनै मूल्य नहुने भन्दै मेयर शाक्यले सिन्धुपाल्चोकको विपतिमा काठमाडौँ महानगरपालिकाको साथ रहेको र आगामी दिनमा पनि साथमै रहने विश्वास दिलाउनुभयो ।

सहयोग रकम हस्तान्तरण कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङको पनि उपस्थिति थियो । कार्यक्रममा बोल्दै तामाङले विपतग्रस्त पालिकाहरुलाई विपत व्यवस्थापनका लागि छुट्टै कोष खडा गर्न अनुरोध गर्नुभयो ।

विगतमा विपत्तिहरुमा उठ्ने गरेको पैसा कानुनी जटिलताका कारण सम्बन्धित पीडितको हातमा नपरेको भन्दै उहाँले सबै पालिकाहरुले आ–आफ्नो कोष सञ्चालन गर्नुपर्नेमा जोड दिनुभएको हो ।

देश विदेशबाट सहयोग गर्न चाहनेलाई सोही कोषमा जम्मा गर्न आव्हान गर्दै उहाँले थप क्षति हुन नदिनका लागि पुर्ननिर्माणको काममा लाग्ने पनि बताउनुभयो ।

टिप्पणीहरू