नक्कली पत्रकार बनेर ठग्नेका नालिबेली

नक्कली पत्रकार बनेर ठग्नेका नालिबेली

– आशिका लम्साल

‘हामी पत्रकार र वन कार्यालयका कर्मचारी हौं, हामीलाई सहयोग गर्नुहोस् नत्र अप्ठेरो पारिदिन्छौँ’ भन्दै धम्काएर ठग्ने नक्कली पत्रकार र कर्मचारी मोरङबाट पक्राउ परेका छन् ।

सुनसरीको इटहरी उपमहानगरपालिका-६ का ५० वर्षीय दधिराम चौहान र मोरङ सुन्दरहरैँचा नगरपालिका-७ का ५६ वर्षीय पुष्पप्रसाद सिग्देल मोरङको रतुवाई नगरपालिकास्थित एउटा स-मील (काठ चिर्ने उद्योग) मा धम्की दिएर पैसा उठाउन खोज्दै गर्दा पक्राउ परेका हुन् ।

उनीहरुले नक्कली पत्रकार र वनका कर्मचारी बनेर काठ मिल र फर्निचर उद्योगलाई धमक्याई रकम ठगी गर्दै आएको रहस्य खुलेको छ ।
प्रहरीले उनीहरुको साथबाट विभिन्न साप्ताहिक र दैनिक पत्रिकाका परिचयपत्र,नगदी रसिद,चन्दा उठाउन प्रयोग गरेको डायरी र नगद ३३ हजार बरामद गरेको छ ।उनीहरुले सृष्टि साप्ताहिक,सन्देश दैनिक समाचारपत्र,कान्तिपुर पोष्ट, जनमत र बराह साप्ताहिकलगायत पत्रपत्रिकाको नक्कली परिचयपत्र देखाएर आफूलाई संवाददाता भन्ने गरेका थिए ।

पक्राउ परेका नक्कली पत्रकार तथा कर्मचारी चौहान र सिग्देलले धम्क्याएर एक लाखभन्दा बढि रुपैयाँ अवैध संकलन गरेको बरामद डायरीबाट खुलेको छ ।

प्रहरीका अनुसार उनीहरुले मोरङको उर्लाबारी,रंगेली,सुनवर्षी,अमरदह, बेलबारी बाहुनी,रन्जनी,होक्लाबारी, रमाइलो डाँगीहाट,रतुवामाई, बबियाविर्ता,डायनियाँ लक्ष्मीमार्गलगायत स्थानमा रहेका फर्निचर उद्योग र काठमिलबाट न्यूनतम दुई हजारदेखि १५ हजार रुपैयाँसम्म असुलेको पाइएको छ ।

टिप्पणीहरू