छात्राले हैन भनेपछि शिक्षक जोगिए

छात्राले हैन भनेपछि शिक्षक जोगिए

लमजुङ जिल्लाको भैरव माध्यमिक विद्यालयमा अचम्मको घटना घटेको छ । विद्यालयका शिक्षक, व्यवस्थापन समितिका पदाधिकारीहरुले प्राय: राजनीतिक दलको आड लिएर हिँड्नु सामान्य हुन थालेको छ । तर राजनीतिक विषयलाई लिएर विद्यालयमा विवाद सिर्जना भएको छ भने छात्रालाई समेत परिबन्दमा पारेर प्रधानाध्यापक रामप्रसाद गुरुङमाथि यौन शोषणको आरोप लागेको छ ।

घटना राइनास नगरपालिका ९ स्थित भैरव माध्यमिक विद्यालयको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार पाण्डे र प्रधानाध्यापक रामप्रसाद गुरुङबीचको राजनीतिक विवादमा कक्षा ८ की छात्रा मुछिएकी छन् । विवादले चरम रुप लिन थालेपछि आवेगलाई थेग्न नसकेका गुरुङले भनेका छन् ‘तेरीमा डाँका,यो तेरो चेस नेपाल हो ? म तेरो चेस नेपालको कारिन्दा हुँ कि घरको गोठालो ? तैँले आइजभन्दा आउने, राजीनामा दे भन्दा खुरुक्क राजीनामा दिएर हिँड्ने ? आएको दुई महिना भएको छैन स्कुलमा भाँडभैलो मच्चाउन खोज्ने ? राजीनामा मैले हैन अब तैंले दिनुपर्छ ।’

प्रधानाध्यापक त्यसरी कड्केपछि विद्यालयबाट निस्केका अध्यक्ष पाण्डे सोझै जिल्ला प्रहरी कार्यालयमा बलात्कारी शिक्षकलाई कारबाही गरियोस् भन्दै निवेदन लिएर पुगेका थिए ।

उक्त घटना जेठ १९ गतेको हो । त्यसपछि इलाका प्रहरी कार्यालयका प्रहरी भैरव माविमा पुगेर शिक्षक प्रकाश थापालाई उठाई जिल्ला प्रहरी कार्यालय पुर्याएपछि गुरुङ र नगर प्रमुख सिंहबहादुर थापा पनि प्रहरी कार्यालय पुगेका हुन् । शिक्षक थापालाई आफ्नै विद्यालयकी ८ कक्षामा अध्ययनरत एक छात्रामाथि यौनशोषण गरेको आरोप छ । तर, गुरूङलाई देख्नसाथ पीडित भनिएकी छात्रा रुन लागिन् र भनिन् ‘सर,मलाई प्रकाश सरले केही गर्नुभएको छैन । यो सब फत्तुर हो ।’

महिला सेलका प्रहरीले पीडित भनिएकी छात्रासँग गोप्यरूपले सोधपुछ गरेका थिए । प्रहरी नायव उपरीक्षक आफैँले ‘तिम्रो लागि हामी छौं,यदि तिमीमाथि अन्याय भएको हो भने निर्धक्क भन,हामी न्याय दिलाउँछौ’ भनेर सोधपुछ गरेका थिए । छात्रालाई प्रहरी कार्यालय पुर्याए पनि उनले झुटो नबोलेको बताइन्छ । प्रहरीले आरोपित शिक्षक थापालाई पनि सोधपुछ गरेपछि छाडेको थियो ।

त्यसअघि कुनै प्रसंगमा साथीहरुबीच गफ हुँदा कुन शिक्षक मन् पर्छ भन्ने क्रममा पीडित भनिएकी बालिकाले अङ्ग्रेजी शिक्षक प्रकाशको नाम लिएको बताइएपनि प्रकाश सबै विद्यार्थीहरूको प्रिय रहेको यथार्थ खुलेको छ । उक्त कुरो गाउँकी इन्दिरा थापाले थाहा पाएपछि पीडित भनिएकी छात्रालाई प्रकाशसँग जोडेर अनेक यौनिक कुराहरू गरेपनि छात्राले हुँदै नभएको कुरामा प्रकाशलाई नझोसेको बताइन्छ ।

नगरपालिकाकी उपाध्यक्ष धनकुमारी गुरुङले पनि एक्लै राखेर धेरैबेर छात्रालाई केरकार गरेकी थिइन् । तर छात्राले आफूमाथि गम्भीर आरोप लगाएर शिक्षकलाई फसाउन खोजिएको बताएकी छन् । चौतर्फीरुपमा राजनीतिसँग जोडिएको उक्त घटना राजपाका नेता राजु थापा हुँदै विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राजकुमार पाण्डेको कानमा पुगेको थियो । शिक्षक प्रकाश मेयर सिंहबहादुरका भाइ रहेकाले आगामी निर्वाचनमा पनि उनैको चर्चा र जित्ने सम्भावना पक्का भएर भाइलाई गम्भीर आरोप लगाइएको हुनसक्ने स्थानीयहरुले बताएका छन् ।

सोही घटनालाई लिएर जेठ २० गते विद्यालयमा डाकिएको बैठकमा शिक्षक गुरुङले निराधार आरोप लगाएर शिक्षक, विद्यार्थी र विद्यालयकै बदनाम गराउन खोज्नेलाई माफी माग्न लगाउने र आइन्दा यस्ता अवाञ्छित कुरा उठाउन नपाइने भनेपछि बैठक सकिएको थियो । तर, २२ गते १० बज्दा नबज्दै केही महिलाहरु विद्यालयलाई यौनालय बनाउन पाइँदैन भन्दै नाराबाजी गर्दै पुगेका थिए ।

उनीहरुले नालायक प्राचार्य राजीनामा दे, बलात्कारी मास्टरलाई कारबाही गर भन्दै नारा लगाएका थिए । योजनाबद्ध ढंगले केही युट्युवबमा उक्त गलत समाचारबारे सनसनी मच्चाइएको छ । उनीहरुले बलात्कारी शिक्षकलाई प्रहरीले उन्मुक्ति दिएको, उजुरी लिनै नमानेको अफवाह फैलाइएको छ । तर, प्रहरीमा कसैले किटानी जाहेरी भने गरेका छैनन् ।

जेठ २३ गते बसेको व्यवस्थापन समितिको बैठकमा अध्यक्ष पाण्डेले नामै किटेर पाँचजना शिक्षक हटाउन माग गरे । पाण्डेले उक्त प्रस्ताव गरेपछि गुरुङले जो विद्यालय बनाउन मरिमेटेका छन्, सक्षम छन् यस्ता शिक्षकलाई किन हटाउने ? भनी प्रतिप्रश्न भएको र उल्टो प्रधानाध्यापकलाई कि राजीनामा दे, नत्र कारबाही गर्छु भनेर ध्वाँस दिएको बताइन्छ ।

टिप्पणीहरू