अब नेपालले सिधै तेस्रो चरण खेल्न पाउने

अब नेपालले सिधै तेस्रो चरण खेल्न पाउने

एसियाली फुटबल महासंघ (एएफसी) ले बुधबार जारी गरेको नयाँ ढाँचा अनुसारको खेलमा नेपालले चीनमा आयोजना हुने एसियन कप–२०२३ छनोटका लागि सिधै तेस्रो चरणको खेल खेल्ने मौका पाएको छ ।

एएफसीले जारी गरेको नयाँ ढाँचासँगै अब नेपालले प्ले अफ खेल्न नपर्ने भएको छ । विश्वकप छनोट र एसियन कप छनोट अन्तर्गत दोस्रो चरणको छनोटमा नेपाल ८ खेलबाट ६ अंक जोडेर चौथो स्थानमा रहेको छ । चौथो स्थानमा रहँदै लिगका खेल खेलि सकेपछि नेपालको कतार विश्वकप यात्रा समाप्त भएको हो ।

यसअघि छनोटको चौथो स्थानमा रहेको टिमले प्ले अफ खेल्नुपर्ने प्रावधान थियो । तर, एएफसीले बुधबार जारी गरेको नयाँ ढाँचाबाट नेपालले सिधै तेस्रो चरणमा स्थान बनाएको छ । तेस्रो चरणको छनोटमा २४ टिमको सहभागिता रहनेछ ।

अब छनोटको पाँचौं स्थानमा रहेको टिमले प्ले अफ खेल्नेछ । प्ले अफमा ताइवान, इन्डोनेशिया, कम्बोडिया र गुआमबीचको खेल तालिक सार्वजनिक भएको छ । प्ले अफका दुई टोलीले भने तेस्रो चरणमा स्थान बनाउने छन् ।

टिप्पणीहरू