नारायणी नदी उच्च विन्दुमा, मेलम्चीमा आज साँझ पनि ठूलो वर्षा हुने (भिडियो सहित)

नारायणी नदी उच्च विन्दुमा, मेलम्चीमा आज साँझ पनि ठूलो वर्षा हुने  (भिडियो सहित)

नारायणी नदीको सतह हालसम्मकै उच्च विन्दुमा पुगेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका बाढीविज्ञ विक्रम श्रेष्ठका अनुसार नदीको सतह गए राति १० बजेर ५० मिनेटमा १० दशमलव ४६ मिटर पुगेको थियो । उक्त समयमा पानीको बहाव एक करोड ६४ लाख ५५ हजार लिटर प्रतिसेकेन्ड रहेको बताइन्छ ।

जनआस्थासँग कुरा गर्दै श्रेष्ठले बुधबार बिहानदेखि नारायणीमा पानीको वहाव घट्दो क्रममा रहे पनि पानीको सतह अझै पनि उच्च रहेको बताउनुभयो । उहाँका अनुसार कालिगण्डकी र देवघाटमा समेत पानीको वहाव उच्च देखिएको छ ।

उता कोशीमा पनि हिजो देखिएको उच्च बहावमा आज सामान्य कमी आएको छ । सिन्धुपाल्चोकको मेलम्चीमा भने पहिरो र बाढी मिसिँदा ठूलो क्षति भएको श्रेष्ठले बताउनुभयो । आज बिहान मेलम्ची नदीको सतह एकैपटक २ दशमलव ५६ मिटरको विन्दुबाट बढेर २ दशमलव ८५ मा पुगेपछि बाढिले ठूलो विनाश गरेको हो ।

त्यसैगरी अर्का मौसम विज्ञ मिनकुमार अर्यालले सिन्धुपाल्चोकमा आज बेलुकीपख पनि उच्च वर्षाको सम्भावना रहेको बताउनुभएको छ । उहाँका अनुसार अहिले कैलाली, टिकापुरलगायतका पश्चिमी भेगमा पनि ठूलो वर्षा भइरहेको छ ।

आज लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशका केही स्थानमा ठूलो वर्षा हुनसक्ने अर्यालले बताउनुभयो । आज दिउँसो सामान्य देखिए पनि भोलिबाट मनसुन थप सक्रिय हुने महाशाखाले जनाएको छ ।

https://youtu.be/RzQE5fuRoPc

टिप्पणीहरू